‘नसर्ने रोगको न्युनिकरण गर्ने एउटा मुख्य आधार योग हुन सक्छ’
काठमाडौँ, ६ असार । संसारभर नसर्ने रोगको जोखिम बढी रहेका बेला योग जोखिम न्युनिकरणको आधार हुनसक्ने विज्ञहरुले बताएका छन् । अन्तराष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा बिहिबार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन् ।
विभागका महानिर्देशक डा प्रदीप केसीले योग, आयुर्वेद तथा बैकल्पिक चिकित्साको अन्युन्यास्रित सम्वन्ध रहेको भन्दै वर्तमान सन्दर्भमा यसको महत्व अझ बढेको बताए ।
‘नसर्ने रोगको जोखिम बढेको बढ्यै छ । योगले ती जोखिम न्युनिकरणका लागि ठूलो मद्धत गर्न सक्छ । योगको आठ नियमहरु जसलाई अष्टाङ्ग नियमको रुपमा पनि चिनिन्छ त्यसले आफू र समाजलाई समेत स्वस्थ र अनुशासित गराउन मद्धत पुग्छ । त्यसैले यसवर्षको नारा समेत आफू र समाजका लागि योग भन्ने तय गरिएको छ,’ उनले भने ।
डा केसीले विभागबाट भएका काम र योगका सन्दर्भमा गरिएका नयाँ नयाँ प्रयासका बारेमा समेत चर्चा गरेका थिए । उनले योगको विषयलाई बढी व्यवसायिक गराईएको भन्दै चिन्ता समेत व्यक्त गरे ।
विभागका अर्का चिकित्सक डा श्यामबाबु यादवले योगलाई व्यायम मात्रैको रुपमा हेर्न नमिल्ने भन्दै यसलाई जीवन जिउने पद्धतीको रुपमा हेर्नु पर्ने बताए । उनले योगलाई अब घर घर र व्यक्ति व्यक्तिमा पुरयाउन पर्ने आवश्यकता बताए ।
अर्का चिकित्सक डा सुवोध मिश्रले योगलाई शरीर र मनको मिलन हो भन्दै यसले शरीर र मन स्वस्थ राख्नका लागि मद्धत गर्ने बताए । उनले योगका नियमहरु यमले समाज र नियमले आफूमा योगको महत्व दर्शाउने बताए । सो अवसरमा उनले योग अन्तर्गतको सूर्य नमस्कार विधिको प्रदर्शन समेत गरेका थिए ।
कार्यक्रम सञ्चालन गरेका डा बंशदीप खरेलले योगको महत्वको चर्चा गर्दै विभागले अघि बढाएका काम र विगतका अनुभवबारे समेत बताएका थिए ।
सम्पर्क इमेल : [email protected]