भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

बुटवल, ६ असार । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासले आज लुम्बिनीमा बृहत योगाभ्यास शिविर सञ्चालन गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले उद्घाटन गरेको योगाभ्यास शिविरमा पूर्वमन्त्रीहरु हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित पाँच सय बढी योग साधकको सहभागिता रहेको थियो ।

सो क्रममा मुख्यमन्त्री महराले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराएको भन्दै मानव जीवनमा योग र ध्यानको महत्व भएको बताए । उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको समेत औँल्याए ।

“यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो”, मुख्यमन्त्री महराले भने, “योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्‍याउँछ । ”

मुख्यमन्त्री महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाए । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उनले बताए ।

 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताए । उनले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उनले बताए ।

“यसपटक यो दिवस यस अर्थमा पनि विशेष यसकारण छ किनकि हामीले यसका दशौँ वर्ष पूरा गरेका छौँ”, राजदूत श्रीवास्तवले भने, “यो योग दिवस मनाउने कारणले योगलाई एक अन्तर्राष्ट्रियस्तरको मञ्च पाइएको छ ।” नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिँदै आएको जनाउँदै उनले दुवै देशको साझा संस्कृतिको अङ्ग रहेको जिकिर गरे ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्त्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका विभिन्न बौद्धसँग सम्बन्धित स्थलसँग जोडेर यसलाई तीर्थस्थल सर्किटका रूपमा विकसित गर्न आवश्यक रहेको औँल्यए । यसैको प्रयासस्वरुप लुम्बिनी विकास कोषसँगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उनको भनाइ थियो । भारतको प्रयासस्वरुप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षहरूभन्दा बढ्दै गएको उनको भनाइ थियो ।

लुम्बिनीको लिटल बुद्धको प्रतिमा अगाडि योगाभ्यास कार्यक्रम गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *