यस्ता कार्य गरे चिकित्सक माथि पनि हुन सक्छ कारवाही
काठमाडौँ, ५ असार । उपचाररत बिरामीको मृत्यु हुनासाथ चिकित्सक तथा अस्पतालको लापरवाही भन्दै आक्रमणमा उत्रिने क्रम पछिल्लो समय सुस्ताएको छ । खासगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन जारी भएपछि र यसको विषयमा व्यापक सचेतना फैलाउँदै गएपछि कम भएको अनुमान गर्न सकिन्छ । यद्धपी फाट्टफुट्ट घटनाका समाचार भने हिजो आज पनि आइनै रहेका छन् ।
घटनापछि अधिकांशको आरोप चिकित्सक माथि तेर्सिन्छ । चिकित्सकमाथि कार्वाही गर्नु पर्ने माग राखिन्छ । तर अहिलेसम्म लापर्वाहि भएको र चिकित्सक माथि कार्वाही भएको अहिलेसम्म खासै सुनिएको छैन ।
कतिपयले चिकित्सक माथि कार्वाही हुने कानून नै नभएको समेत बताउने गरेका छन् । तर, त्यसो होइन नेपाल मेडिकल काउन्सिलले गल्ति गर्ने चिकित्सक माथि पनि कार्वाही हुने नियम बनाएको छ । काउन्सिलको १५ मंसिर २०७९ मा बसेको नवौँ पूर्ण बैठकले चिकित्सकको आचारसंहित र कार्वाही सम्वन्धी व्यवस्था पारित गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार डा कृष्ण अधिकारी चिकित्सकले पनि गल्ती गर्दा कार्वाहीको भागिदार हुने भन्दै काउन्सिलले त्यस सम्वन्धी व्यवस्था गरेको बताउँछन् । उनले बिरामी पक्ष वा आम सर्वसाधारणले चिकित्सकले गलत गरेको शंका लागेमा मेडिकल काउन्सिलमा उजुरी गर्न सक्ने बताउँछन् ।
काउन्सिलले तयार पारेको आचार संहित कस्तो छ ? कस्ता कस्ता कार्वाहीका प्रावधान छन् ?
काउन्सिलले ९ साउन २०७९ को निर्णय अनुसार चिकित्सकको आचारसंहिता (सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग समेत) सामग्री सहित सामाजिक सञ्जालत तथा विद्युतीय सञ्चार माध्यम उपयोग आचार संहिता र नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ र २३ मा भएको व्यवस्थाको अधिनमा रही कार्वाही चलाउँदा निम्नानुसारको प्रावधानलाई आधार मान्ने निर्णय भएको बताएको छ ।
काउन्सिलको १५ मंसिर २०७९ को नवौँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तो छ कार्वाही सम्वन्धी प्रावधान :
खराब आचरण गरेमा कारबाही हुनेः
९क) कुनै पनि दर्तावाल चिकित्सकले नेपाल मेडिकल काउन्सिलको नियममा तोकिएको आचार संहिता विपरित कार्यगरेमा तोकिएबमोजिमको कारबाही हुनेछ ।
९ख) काउन्सिलमा दर्ता भएको दर्तावाल चिकित्सकले देहायको खराब आचरण गरेमा काउन्सिलले देहायबमोजिम सचेत गराउने, चेतावनी दिने, निलम्बन गर्ने, वा काउन्सिल दर्ता खारेज गर्न सक्नेछ ।
(क) देहायको कुनै खराब आचरण गरेमा सचेत गराउने:
१)काउन्सिलबाट प्रदान नगरिएको उपाधी प्रयोग गरेमा
२) भ्रामक प्रचार(प्रसार तथा प्रशारण गरेमा
३) बिरामीलाई दिने पुर्जा (प्रेष्कृप्सन) नाम, उपाधि र काउन्सिल दर्ता नम्बर बुझिने गरि नलेखेमा
(ख) देहायको कुनै खराब आचरण गरेमा चेतावनी दिने:
१)बिरामीलाई उपचार गर्दा तोकिएको वैज्ञानिक पद्धति अनुसार सल्लाह सुझाव नदिएमा
२)आफ्नो शैक्षिक योग्यता र दक्षता बाहेकको उपचार गरेमा
३)नैतिक आचरण विपरित कार्य गरेमा
४)उपचारका लागि आएको बिरामीसंग आफु मातहत उपचारमा रहेको बखत चिकित्सकीय प्रभावमा पारी अनुचित आर्थिक सम्बन्ध स्थापित गरेमा
(ग) देहायको कुनै खराब आचरण गरेमा दुई महिना सम्म निलम्बन गर्ने:
१) प्रकरण (ख) मा उल्लेखित कुनैपनि कसुर दोहोर्याएमा
२) प्रकरण (ख) १ र (ख) २ मा उल्लेखित कार्यबाट बिरामीलाई पुर्ण रूपमा निको हुन सक्ने किसिमको भौतिक वा मानसिक क्षति भएमा
३) सम्बन्धित विषयको औपचारिक शीप र ज्ञान बिना गैर आकस्मिक समस्याका लागि चिरफार गरी वा नगरी शल्यकृया तथा यस्तै प्रकृतिको उपचार गरेमा
४) कानुनद्वारा वर्जित कुनैपनि उपचार वा विधी प्रयोग गरेमा
(घ) देहायको कुनै खराब आचरण गरेमा दुइ महिना देखि दुई बर्षसम्म निलम्बन गर्ने:
१) प्रकरण (ग) बमोजिमका कसुरहरू दोहोर्याएमा
२) प्रकरण (ग) २ मा उल्लेखित कसुरबाट बिरामीलाई दीर्घकालीन असर पर्ने क्षति भएमा
३ ) प्रकरण (ग) ३ मा उल्लेखित कसुरबाट बिरामीलाई कुनै प्रकारको क्षति भएमा
४) कुनैपनि नैतिक पतन हुने किसिमको कसुरमा अदालबाट अन्तिम फैसला भएर कारबाही भएमा
५) आफ्नो मातहतमा रहेको कुनैपनि बिरामीको उपचार वा रोग निदानको क्रममा निजसंग अनुचित शारीरिक सम्वन्ध स्थापित गरेमा
(ङ) देहायको कुनै खराब आचरण गरेमा काउन्सिलबाट दर्ता खारेज गर्ने:
१) प्रकरण (घ) बमोजिमको कसुरमा सजाय भुक्तान पश्चात सोहि कसुर दोहोर्याएमा
२) प्रकरण (घ)२ र (घ)३ बमोजिमको कसुरबाट बिरामीको मृत्यु भएमा
३) नैतिक पतन देखिने फौजदारी अपराधमा अन्तिम अदालतबाट फैसला भई सजाय भएमा
९ग) मुलुकी संहिताले बर्जित गरेका कामकारबाही गरेको फौजदारी आरोपमा मुद्दा दर्ता भएमा फैसला नहुँदासम्मका लागि आचरण तथा चारित्रिक लगायतका कुनैपनि प्रमाणपत्र जारी नगर्ने ।
सम्पर्क इमेल : [email protected]