गण्डकीको बजेटमा स्वास्थ्यका ९ बुँदा : गर्भवतीको हवाई उद्धार देखि अस्पतालहरुको स्तरोन्नतीसम्म
पोखरा, १ असार । गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१ /०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।
आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार बजेट सार्वजनिक गर्दै चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत विनियोजन गरेको जानकारी दिए ।
बजेटमा गण्डकी प्रदेश सरकार ल्याएको बजेटमा स्वास्थ्यलाई ९ बुँदामा समेटेको छ । जोखिममा परेका गर्भवती र सुत्केरीलाई हवाई उद्धार, केही अस्पतालहरुको स्तरोन्नती तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी लगायतका कार्यक्रम बजेटमा परेका छन् । सरसर्ती हेर्दा गण्डकीमा स्वास्थ्यमा नयाँ कुरा भने देखिएको छैन् ।
हेर्नुहोस गण्डकीको बजेटमा स्वास्थ्यका ९ बुँदा:
१. स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२. विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्ला अस्पताललाइ २५ शैय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाइ ५० शैय्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३. संक्रामक तथा सरुवा रोग अस्पताललाई प्रदेशको विशिष्टीकृत अस्पतालको रुपमा विकास गरिनेछ। प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृशिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
४. प्रदेशको मातृ तथा नवशिशु मृत्यु दरलाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लाहरूमा कम्प्रीहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक एण्ड नियोनेटल केयर सेवा सुनिश्चित गरी मातृशिशु मृत्युको नियमित निगरानी, संस्थागत सुत्केरी प्रवर्द्धन, सिमुलेसन बेस्ड मेन्टरसिप कार्यक्रम, रणनैतिक स्थानमा प्रसूति प्रतीक्षा गृहको स्थापना र ग्रामीण भेगमा अल्ट्रासाउन्ड सेवाको विस्तार गरी गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित “पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश” बनाउने अभियानलाई निरन्तरता दिई सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको
५. प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवालाई थप प्रभावकारी र नतिजामुखी बनाउन एकीकृत जनस्वास्थ्य अभियान मार्फत सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रण, मानसिक रोग एवम् आत्महत्या रोकथाम, प्रजनन स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र वातावरणीय स्वास्थ्य प्रवर्द्धन, बालबालिका, किशोरकिशोरी, महिला, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
६. प्रदेश मातहतका आयुर्वेद संस्थाहरुको सुदृढिकरण गरिनेछ । धौलागिरी र गण्डकी आयुर्वेद औषधालयको स्तरोन्नति गरी अन्तरंग सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
७. मेरो स्वास्थ्यः मेरो जिम्मेवारीको अवधारणा अनुरुप नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गर्न नागरिक आरोग्य अभियान मार्फत भान्छा सुधारः आरोग्यताको आधार कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
८. ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालन कार्यक्रमलाई निरन्तरता दिएको छु । हाल सञ्चालनमा रहेका ज्येष्ठ नागरिक आश्रमको संस्थागत सुदृढिकरण जोड दिएको छु ।
९. प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिमप्राप्त मिडवाइफ मार्फत सेवा प्रवाहको सुनिश्चितताका लागि आगामी आर्थिक वर्षदेखि प्रविणता प्रमाणपत्र तहको मिडवाइफरी शैक्षिक कार्यक्रम धौलागिरी अस्पताल बाग्लुङ्गमा अध्यापन सुरुवात गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
सम्पर्क इमेल : [email protected]