क्षयरोग मुक्त अभियानका लागि रामग्राम नगरपालिकाले चालेका कदम

क्षयरोग  एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको एउटा सरुवा रोग हो । उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एउटा रहेको छ ।

सन् २०१८ को ‘प्रिभ्यालेन्स सर्भे’ले नेपालमा वर्षेनी करीब ६९ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने अनुमान गरेको छ । तर राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता हुने बिरामीको संख्या ३७ हजार ८६१ मात्रै रहेको छ । अरु बाँकी करीब ३१ हजार बिरामी अझै पनि लुकेर रहेको अवस्था छ ।

यहि लुकेर बसेको क्षयरोगीका बिरामीहरुलाई निदान गरि उपचारको दायरामा ल्याउने उदेश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आर्थिक बर्ष २०७८/०७९ देखि क्षयरोग मुक्त नेपाल घोषणा अभियानको सुरुवात गरेको छ ।

यो अभियान अन्तर्गत आर्थिक बर्षमा २०७८ /०७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि कार्यक्रम आएको थियो । यो आर्थिक बर्ष २०८०/०८१ मा थप १०० वटा स्थानीय तहमा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको लागि कार्यक्रमहरु राखिएको छ ।

अभियान सञ्चालन भएका स्थानीय तहमध्ये रामग्राम नगरपालिका पनि एक हो ।

यो अभियानको कार्यनीति अनुरुप राष्ट्रिय क्षयरोग कार्यक्रमका चुनौतीलाई सामना गर्दै र स्थानीय तहलाई जवाफदेही बनाई सन् २०५० भित्र नेपालमा क्षयरोग अन्त्य गर्ने लक्ष्य लिईएको छ।

अभियान अन्तर्गत रामग्राम नगरपालिकामा के के काम भइरहेको छ ?

रामग्राम नगरपालिकाको कुरा गर्दा, चालु आर्थिक २०८०/८१ देखि क्षयरोग मुक्त नेपाल घोषणा अभियानको कार्यकम सुरुवात भएको छ । यस नगरपालिकामा क्षयरोग मुक्त घोषणा अभियान अन्तर्गत चरणवद्ध रुपमा विभिन्न क्रियाकलापहरु गरिराखेका छौँ ।

अभियान अन्तर्गत पहिलो चरणमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका र गाउँघर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्य कर्मीहरुलाई क्षयरोग स्क्रिनिङ सम्बन्धि अभिमुकिकरण कार्यक्रम सञ्चालन गरियो । त्यसपछि हरेक वडामा क्षयरोग मुक्त अभियानको लागि वडा समिति गठन गरेर आफ्नो वडामा भएका क्षयरोग सम्बन्धि समस्याहरुलाई समाधान गरेर आउने दिनमा क्षयरोग मुक्त वडा बनाउनको लागि सुक्ष्म योजना पनि बनाइएको छ ।

रामग्राम नगरपालिकामा १८ ओटा वडा छन् । अहिलेसम्म १२ वटा वडामा सुक्ष्म योजना बनाएर सकिएको छ ।

क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा खटाउनको लागि भनेर हरेक वडाबाट एक एक जना क्षयरोग मुक्त सामुदायिक स्वेमसेवक ( टीबीएफसीभी) छनोट गरेर उनीहरुलाई क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम समेटिएको बिभिन्न विषयवस्तुमा आधारित रहेर अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन भईसकेको छ ।

हाम्रो लक्ष्य रामग्राम नगरपालिका भित्रका सबै ११ हजार ४०७ घरधुरीमा टीबी एफसीभी परिचालन गरि समुदायमा रहेका क्षयरोगको लक्षण भएका व्यक्तिहरुको पहिचान गरि समयमै उपचारको दायरामा ल्याउने हो । त्यसका लागि आवश्यक योजनाका साथ तयारी अघि बढेको छ ।

#भट्टराई रामग्राम नगरपालिकाकी क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *