प्रसूति गृहले मागेको नर्सिङ प्रशिक्षक पदको विज्ञापन प्रति नर्सहरुको आपत्ति

विरोध पछि के भन्छन् प्रसूतिगृहका निर्देशक डा. अधिकारी ?

काठमाडौँ, ३१ जेठ । परोपकार नर्सिङ क्याम्पस कुपण्डोलमा अध्यापन गराउन भन्दै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले बुधबार तीन जना नर्सिङ प्रशिक्षक आवश्यक भएको भन्दै करार सेवामा पदपूर्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना सार्वजनिक गरेको थियो ।

तर, सो सूचनाको नर्सिङ क्षेत्रबाट तिब्र आलोचना भएको छ । खासगरी योग्यता र तहको विषयलाई लिएर आलोचना भएको हो । तीन विषय अध्ययनका लागि नर्सिङ प्रशिक्षक पदमा नियुक्त गर्न भन्दै जारी गरिएको सूचनामा आवेदकको योग्यता स्नातकोत्तर तह तोकिएको छ तर पदको तह छैटौँ उल्लेख छ ।

नर्सिङ समुदायले यहि विषयमा आपत्ती जनाएका हुन् । चिकित्सकहरुलाई स्नातक तह उत्तीर्ण गरे पनि आठौँ तहबाट सुरु हुने, तर नर्सिङको स्नातकोत्तर तह योग्यता भए पनि छैटौं तह तोकिने भन्दै विरोध गरेका हुन् ।

नेपाल नर्सिङ संघका पूर्व उपाध्यक्ष समेत रहेकी सहप्राध्यापक अप्सरा पाण्डे प्रसूतिगृहले विज्ञापनले नर्सिङ क्षेत्रलाई हेर्ने दृष्टिकोण उदाङ्गो भएको भन्दै यसमा कसैले आवेदन नगर्न नर्सिङ समुदायलाई आव्हान गरेकी छन् ।

यस्तै अर्की नर्स अमृता बरालले नर्सहरु विदेशीने कारण यस्तै रबैयाका कारण हो भन्दै हेपाहा प्रबृत्तिको विज्ञापन तत्काल सच्याउन माग गरेकी छन् ।

प्रसूतिगृह अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने आफ्नो तहबाट सक्ने काम गरेको बताउँछन् ।

‘पहिले यहि पद पाँचौँ तहमा राखिने रहेछ । हामीले यसपटक अधिकृत स्तर बनाऔँ भनेर छैटौँ तहमा राखेका हौँ । तर अब नवौँ वा दशौँ तहसम्म पुग्नका लागि हामीसंग स्रोत छैन्, अनि यो कुरा लोकसेवा आयोग तथा स्वास्थ्य मन्त्रालयले मिलायो भने हामीलाई सजिलो हुने थियो,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *