मधुमेह कस्तो रोग हो ? कसरी जोगिने ?
मधुमेह रोग प्राय सबैलाई थाह छ, कसैले यसलाई सुगर भन्छन्, कसैले डायविटिज भन्छन् कसैले चिनीको रोग भन्छन् । तर रोग एउटै हो ।
साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात डायविटिज भनिन्छ ।
रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हार्मोन हुन्छ, कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घटदै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
मधुमेह धेरै प्रकारका हुन्छन् तर हामीले यहाँ टाईप १ अर्थात प्रकार एक र टाइप २ अर्थात प्रकार दुईलाई फोकस गरेका छौँ ।
प्रकार एक मधुमेहमा इन्सुलिनकै कमी देखिन्छ तर त्यो जन्मजात रुपमा अर्थात इन्सुलिन नै बन्दैन । त्यस्तो व्यक्तिलाई जिन्दगीभर इन्सुलिन लगाउनुपर्छ । अर्थात त्यस्तो व्यक्ति पाँच सात बर्ष देखि नै समस्यामा पर्न सक्छ । र इन्सुलिन लगाउन पर्न सक्छ ।
प्रकार दुई पहिले इन्सुलिनको मात्रा ठिक भएको तर खानपान जीवनशैलीका कारण विग्रदै गएको मधुमेह । अहिले बढी मात्रामा देखिने मधुमेह प्रकार दुई वाला हो ।
इन्सुलिन भनेको के हो ?
हाम्रो शरीरमा पेटको तलपट्टी पेङक्रियाज भन्ने ग्लाण्ड हुन्छ । यसले इन्सुलिन भन्ने हर्मोन निकाल्छ । यो हर्मोनको काम हामीले खाएको कुनै पनि खानेकुराबाट ग्लुकोजको मात्रा शरीरका विभिन्न कोष(सेल) सम्म पुरयाउने हो ।
इन्सुलिनको कमी भयो वा इन्सुलिनले सो काम गर्न सकेन भने ग्लुकोजको मात्रा रगतको रगतमै घुमिरहन्छ । जहाँ गएर खर्च हुनुपर्ने ग्लुकोज त्यहाँ नपुगेपछि त्यसको मात्रा बढी हुन्छ ।
रगतमा ग्लुकोजको मात्रा धेरै भएपछि यसले शरीरका साना तथा ठूला रक्तनलिहरुलाई असर पार्छ । यसैबाट जोगाउन हामीले मधुमेहको उपचार गर्नुपरेको हो ।
मधुमेहको जोखिम कति वर्ष पछि ?
पहिले पहिले भनिन्थ्यो कि मधुमेह रोग बुढयौलीमा देखिने रोग हो । अथवा ४० कटेपछि लाग्ने रोग हो तर अहिले अवस्था त्यस्तो छैन् । अर्थात बच्चा देखि नै यो रोग लाग्ने गरेको पाइएको छ ।
म संगै उपचार गराउन आउने कतिपय विरामीको उमेर १२ / १३ बर्षको छ तर प्रकार दुई वाला मधुमेह देखिएको छ । अहिले प्रकार दुईवाला मधुमेहको समस्या ३० देखि ४५ बर्ष उमेरका व्यक्तिलाई बढी मात्रामा देखिएको छ ।
मधुमेह लाग्दैछ भनेर कसरी थाह पाउने ? लक्षण के के हुन्छन् ?
विभिन्न अनुसन्धानले भनेको छ कि ५० प्रतिशत बढीलाई मधुमेह लक्षण विना नै देखिएको छ । अर्थात कुनै लक्षण विना नै मधुमेह रोग देखा परेको छ । त्यसैले स्वस्थ ठानिएका व्यक्तिले ३० बर्ष उमेर कटेपछि नियमित रुपमा सुगर टेष्ट गराउनु बुद्धिमता हुन्छ ।
अझ यो रोग बंशाणुगत समेत भएकोले बुबा आमा मामा पट्टीका हजुरबा हजुरआमाहरु कसैलाई थियो भने आफूलाई पनि हुन सक्छ भनेर सचेत रहनुपर्छ र त्यसमा पनि टेष्ट गर्नुपर्छ । तर बाँकी पचास प्रतिशतमा लक्षणहरु पनि देखिन्छ ।
ती लक्षणहरु यसप्रकार छन् :
- धेरै मुख सुक्ने
- आलश्य हुने
- थकावट हुने
- मानिस दुव्लाउदै जाने
- चिडचिडाहटपन हुने
- यौन दुर्वलता हुने
- खुट्टामा घाउ हुने
- दृष्टिमा समस्या पैदा हुने
- कतिपय पेटको समस्या लिएर आउनुहुन्छ तर परीक्षणका क्रममा सुगर देखिएको हुन्छ ।
- कसैको आँखाको ज्योति गुमेको हुन्छ र परीक्षण गर्दा सुगर देखिएको हुन्छ ।
- कतिपयलाई हृदयघात र प्यारालाईसिस भएपछि बल्ल सुगर भएको थाह हुन्छ ।
- मधुमेह भएका व्यक्तिलाई इम्युनो कम्प्रमाईज अर्थात रोगसंग लड्ने क्षमता हुँदैन् । कमजोर हुँदै जान्छ ।
रगत जाँच गर्दा मधुमेह भएको कसरी थाह हुन्छ ?
भोकोपेटमा अर्थात ‘फास्टिङ’मा रगत जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि भयो भने मधुमेह भएछ भनेर बुझ्नु पर्छ । त्यस्तै खाना खाएको दुई घण्टा पछि अर्थात ‘पीपी’ जाँच गर्दा यदि २०० बढी भयो भने पनि मधुमेह भएको हो भनेर जान्नु पर्छ । र तत्काल उपचार सुरु गर्नुपर्छ ।
मधुमेह लाग्दैछ भनेर पनि थाह पाउन सकिन्छ ?
हो थाह पाउन सकिन्छ । रगत जाँच गर्दा त्यसको सुगर लेभल हेरेर मधुमेहको जोखिम पत्ता लगाउन सकिन्छ । त्यसलाई हामी ‘प्रि डायविटिज’को अवस्था पनि भन्छौँ ।
भोकोपेटमा रगत जाँच गर्दा सुगर लेभल १२६ भन्दा कम र १०० भन्दा माथि देखियो भने प्रि डायविटिज अर्थात मधुमेह रोग लाग्ने संकेत हो भनेर बुझ्नुपर्छ । त्यस्तै ‘पीपी’ अर्थात खाना खाएको दुई घण्टा पछि रगत जाँच गर्दा १४० देखि माथि २०० भन्दा तल अर्थात बीचको भागमा देखियो भने पनि त्यो डायविटिजको पूर्व अवस्था अर्थात ‘प्रि -डायविटिज’को अवस्था भनेर थाह पाउन सकिन्छ ।
मधुमेहबाट बच्न के खाने कसरी खाने ?
मधुमेह भईसकेपछि मात्रै होइन कि हुनु भन्दा अघि पनि खानपानमा ध्यान दिनु राम्रो हुन्छ । किनभने प्रि – डायविटिजको अवस्थामा पुगेको छ भने पनि खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ ।
मधुमेहका विरामीले खाना के खाने ?
धेरे जनाले भन्नुहुन्छ मधुमेह भएपछि खाना खाएको छैन । तर उहाँहरुको संगै जवाफ आउछ रोटी खाए, ढेँडो खाएँ, च्याख्ला खाएँ । यसले खासै अर्थ राख्दैन् ।
भात खाँदा जे तत्व पाइन्छ रोटी खाँदा पनि त्यहि हो । ढेडो खाँदा पनि त्यहि नै हो । दुबै ले सुगरको मात्रा बढाउछ । फरक यत्ति हो कि भातले छिटो बढाउँछ । रोटीले केही ढिलो । त्यसैले कार्बोहाइट्रेड बढाउने चीज कम गर्नुपर्छ ।
कसरी खाने त ?
खाना खाने एउटा तरिका अपनाउ । हामीले भात जति खाइन्छ अव देखि त्यति मात्रामा तरकारी तथा सलाद राखौँ । अहिलेसम्म जति तरकारी खाइन्थ्यो त्यो मात्रामा भात राखौँ । अर्थात भात तरकारीको परिमाण उल्टा गरौँ । फाइवर ( रेसायुक्त) खानेकुरामा जोड दिऔँ ।
त्यो भनेको एक कचौरा भात लिँदा दुई तीन कचौरा तरकारी लिऔँ भनेको हो ।यस्तो खानाले मधुमेह मात्रै होइन अन्य रोगका विरामीलाई समेत फाइदा पुग्छ ।
त्यस्तै मधुमेहको विरामीले मासु धेरै नखाँउ । दुई टुक्रा मासु भए पुग्छ । यतिले भोक मेटिदैन भने पहिले नै गाजर, कांक्रो, मुला जस्ता सलादहरु खाने गरौँ र पेट भरौँ । बरु एक गिलास पानी खाऔँ ।
के नखाने ?
चिनी मिठाई कोक फेन्टा जुस यी सबै गुलियो पदार्थ हुन् । त्यसैले यी पदार्थहरु नलिएको राम्रो । किनकी मधुमेह भएको व्यक्तिलाई त्यसै पनि रगतमा सुगरको मात्रा बढी हुन्छ अर्थात गुलियो पना बढी हुन्छ ।
फलफुल के खाने के नखाने ?
स्याउ सुन्तला, अम्बा, मेवा, खर्बुजा, नास्पाती, किवी, बयर जस्ता फलफुल खान सकिन्छ तर अंगुर, आँप, लिची, अनार जस्ता फलफुल नखाँदा राम्रो हुन्छ ।
माछा मासु के खाने के नखाने ?
- मधुमेहको विरामीले हरियो सागपातमा जोड दिएको राम्रो ।
- मासु नै खानपरे दुई टुक्रा भन्दा बढी नलिने ।
- रातो मासु सकेसम्म नलिने ।
- माछा कुखुराको सेतो मासु प्रयोग गर्नु राम्रो ।
- अण्डाको पहेलो भाग सक्दो नखाने ।
आलु पिडालु पनि खान हुन्छ । तर एकैपटक ती सबै खानु भएन । किनभने ती सबैमा कार्बोहाईट्रेड पाइन्छ । त्यसैले आलु खाँदा पिडालु नखाने, भात कम खाने वा नखाने गर्नु राम्रो हुन्छ । अर्थात भात, आलु पिडालु जस्ता कुराहरु एकैपटक धेरै खानु हुँदैन ।
दैनिक कति व्यायम गर्ने ?
अमेरिकन डायविटिज एसोसियसनले हरेक दिन कम्तीमा ३० मिनेट हिडनुपर्छ भनेको छ । हामी हिड्यौँ भने रगतमा रहेको चिनीको मात्रा खर्च हुन्छ । क्यालोरी पनि घटदै जान्छ । त्यसैले कम्तीमा ३० मिनेट हिडनु राम्रो हुन्छ ।
कुन अवस्था पछि औषधि चलाउन थाल्ने ?
कतिपयले मधुमेहको औषधि सकेसम्म नखाए हुन्थ्यो भन्ने गरेको थाह पाइन्छ । तर त्यस्तो होइन । औषधि सेवन गरि हाल्ने अर्थात औषधि चाहिएको खण्डमा नाई नभन्ने । किनभने दीर्घकालिन समस्या पर्छ । पहिले देखि नै सुगर नियन्त्रण गर्न सकिन्छ ।
लामो समय देखि सुगर भएको छ भने इन्सुलिनको उत्पादन कम भईसकेको हुनसक्छ । यस्तो बेलामा सुई लगाउनुपर्छ । इन्सुलिन सुई नलगाउँदा मिर्गौलामा समस्या हुनसक्छ ।
अरु के नगर्ने ?
तनाव नलिने :
मधुमेहका विरामीले तनाव नलिने भन्ने छ तर भने अनुसार नलिन पनि सकिदैन तर समस्या आफैले व्यवस्थापन गर्नुपर्छ । तर धेरैनै तनाव छ भने साईक्याटिकस औषधि प्रयोग गर्न सक्छाँ।
मधुमेहले के कस्तो असर गर्छ ?
मधुमेहको असरले माईक्रो भास्कुलर र म्याक्रो भास्कुलर डिजिज भन्छौँ दुई खालको समस्या ल्याई दिन्छ । त्यो भनेको नसालाई आँखालाई , मिर्गौलालाई, मुटु, ब्रेनलाई लगायतका सबै अंगलाई असर गर्छ । अर्थात डायविटिज आफैमा एउटा ‘रिस्क फ्याक्टर’ हो ।
त्यसमाथि चुरोट रक्सी जाड परयो भने त झनै बढाई दिन्छ । न्युरोप्याथी अर्थात नसाको रोग भनिन्छ । यो अवस्थामा कतिपय मानिसलाई पोलेको छोएको थाह हुँदेन । पोल्ने कमिला हिडने जस्तो लक्षण देखापर्छ । अर्थात मधुमेहको उपचार र नियन्त्रण गर्न सकेनौ भने यसले मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने, हृदयघात हुने, मस्तिस्कघात हुने सम्भावना बढ्छ ।
सम्पर्क इमेल : [email protected]