चिकित्सा शिक्षा आयोग निर्देशक नाम छनौट समिति सदस्यबाट प्राडा रमेशकान्त अधिकारीले दिए राजिनामा

उच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै काम अघि बढाउने समिति बैठकको निस्कर्ष

काठमाडौँ, २० जेठ ।  चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिका सदस्य प्राडा रमेशकान्त अधिकारीले राजिनामा दिएका छन् । उच्च अदालतको पाटनको आदेश आएसंगै समितिले रोकिएको काम अघि बढाउने तयारी गरेका बेला  सदस्य प्राडा अधिकारीले पदबाट राजिनामा दिएका हुन् ।

राजिनामा दिएकै कारण गत शुक्रबार समिति संयोजक डा रामकुमार फुयालले बोलाएको बैठकमा समेत सहभागि भएनन् ।

‘मैले इमेलबाट राजिनामा पठाएको छु । त्यसबारेमा साथीहरुलाई टेलिफोनबाट जानकारी पनि गराएको छु,’ प्राडा अधिकारीले भने ।

उनले राजिनामा दिनुको कारण यो विषय मुद्धामामिलामा पर्नु र विवादित बन्नु रहेको बुझिएको छ ।

‘एक त म रिटायर्ड भएकै १२ बर्ष नाघि सक्यो । अब यस्ता काममा धेरै सहभागी हुन पनि हुन्न । अर्को कुरा सहि नियतले काम गर्दा गर्दै पनि विवादमा पर्‍यो । त्यसैले यसमा बसेर काम गर्न मन लागेन । त्यसैले राजिनामा दिएको हुँ,’ उनले भने ।

आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा. फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिमा प्राडा बुद्धिबहादुर थापा संगै प्राडा रमेशकान्त अधिकारी पनि सदस्य थिए ।

सो समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्दा २० जनाले आवेदन दिएका थिए । तर गत १७ मंसिरमा समितिले १२ जनालाई मात्रै अल्पसूचीमा राख्दै सूची प्रकाशित गरेको थियो ।

त्यसमा असहमति जनाएका एक जना आवेदकले समितिबाट थप काम अघि नबढोस भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सो रिटमा गत २१ मंसिरमा प्रारिम्भक सुनुवाई गर्दै काम अघि नबढाउन आयोग तथा समितिका नाममा अन्तरिम आदेश दिएको थियो । तर, गत १३ जेठमा सुनुवाई टुङ्ग्याएर उच्च अदालतले रिट खारेज गरिदिएको हो ।

रिट खारेजपछि समिति संयोजक डा फुयालले गत शुक्रबार समितिको प्रारम्भिक बैठक राखेका थिए । सो बैठकले फैसलाको पूर्ण पाठ आएपछि त्यो हेरेर काम अघि बढाउने निष्कर्ष निकालेको छ ।

गत शुक्रबारको बैठकमा म सहभागि भएको थिएँ । तर पूर्ण पाठ अझै आइसकेको रहेनछ । त्यो आएपछि काम अघि बढाउने प्रारम्भिक निष्कर्ष निस्कियो । समिति सदस्य प्राडा बुद्धिबहादुर थापाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *