सुर्तीजन्य पदार्थको लत छुटाउन केडीसीले थप्यो ‘टोवाको सेसेसन’ सेवा
'सुर्तीजन्य पदार्थको असर शीर देखि पाउसम्म'
काठमाडौँ, १८ जेठ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी हटाउने टोबाको सेसेसन सेवा सञ्चालनमा ल्याएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको सन्दर्भ पारेर केडीसीले शुक्रबारबाट सेवा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रमुख डा प्रतिक्षा श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोग गरि रहेका र गर्ने जोखिममा रहेका व्यक्तिहरुलाई केन्द्रीत रहेर टोवाको सेसेसन सेवा सुरु गरेको जानकारी दिईन ।
‘सुर्तीजन्य पदार्थको सेवन गर्ने लत लागेकाहरुलाई त्यसबाट छुटकारा दिन मद्धत गर्नेछ । यस्तै अप्रत्यक्ष सेवन कर्ता (प्यासिभ स्मोकर्स) लाई पनि स्वास्थ्य सम्वन्धी परामर्श दिने, मुख सम्वन्धी क्यान्सरहरुको बिरामीलाई निरन्तर परामर्श दिनेछ,’ डा श्रेष्ठले भनिन् । उनले सुर्ती सेवनले जनस्वास्थ्यमा पार्ने असरका बारेमा नियमित रुपमा सोध पत्र प्रकाशित गर्ने समेत बताईन् ।
‘सुर्तीजन्य पदार्थको असर शीर देखि पाउसम्म’
यसैबीच सुर्तीजन्य पदार्थ दिवसको अवसर पारेर शुक्रबार केडीसीले एक विचार गोष्ठीको आयोजना गरेको छ । केडीसीको ओरल मेडिसिन विभागको संयोजकत्व तथा कम्युनिटी एण्ड पब्लिक हेल्थ डेन्टिष्ट्री र ओरल प्याथोलोजी विभागको सम्लग्नतामा भएको नो टोवाको विचार गोष्ठीमा सहभागी विज्ञहरुले सुर्तीजन्य पदार्थको असरका बारेमा बोलेका थिए ।
कार्यक्रम स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका दन्त विशेषज्ञ डा. प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको असर मानव शरीरको सबैभन्दा माथि हुने रौँ र सबैभन्दा तल हुने बुढी औलाको नङ सम्म देखिने बताए । ‘यो यस्तो पदार्थ हो यसले गर्ने हानी बाहेक केही छैन तर प्रयोगदर नियन्त्रण गर्न सकिएको छैन । यसैले सचेतना महत्वपूर्ण छ,’ उनले भने । डा बुढाथोकीले सुर्तीजन्य पदार्थमा करको दर बढाउनु पर्ने, विद्युतीय चुरोटलाई प्रतिवन्ध लगाउनु पर्ने कानूनलाई निरन्तरता दिई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताए ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले धुवासहित र धुवारहीत सुर्तीजन्य पदार्थको प्रयोग मुखबाटै गरिने र मुखमा देखिने असर पनि सबैभन्दा बढी त्यसकै कारण हुने भएकोले यसको प्रयोग पूर्ण रुपमा निषेध हुनु पर्ने बताए । उनले आम नागरिक मात्रै नभई स्वयं स्वास्थ्यकर्मी तथा चिकित्सक समेत यसको कुलतमा परेको देखिएको भन्दै यसबाट मुक्त हुन जरुरी रहेको बताए । उनले कुलतबाट मुक्त हुन चाहनेका लागि टोवाको सेसेसन सेन्टर सञ्चालनमा ल्याइएको समेत बताए ।
कार्यक्रममा प्राडा प्रदीप वैद्यले धूमपानको लत लागि सकेपछि छोडन गाह्रो हुने भन्दै कसैलाई नभनी चुपचाप रुपमा आजैबाट छोड्न आफै प्रतिज्ञा गर्नु पर्ने बताए ।
केडीसीका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले सुर्तीजन्य पदार्थको कारणले बार्षिक ३७ हजार व्यक्तिको मृत्यु हुने गरेको भए पनि त्यसलाई नियन्त्रण गर्न राज्यले चासो नदिएको बताए । ‘सुर्तीमा कर बढाउन सकिन्थ्यो, बढेन । विद्युतीय चुरोटलाई प्रतिवन्ध गर्ने कानून नै थियो, त्यसको कार्यान्वयन गरिएन बरु त्यसलाई बैद्यता दिईयो । यो गलत भयो,’ उनले भने ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले रोग लागेपछि उपचारमा खर्च गर्नु भन्दा रोग लाग्ने नदिनका लागि खर्च गर्नु राम्रो भन्दै रोकथामका उपायमा राज्यको ध्यान केन्द्रीत हुनु पर्ने बताए ।
‘स्वास्थ्य विषयबस्तुलाई प्रिभेन्टिभ र प्रोमोटिम गरिनु पर्दछ । रोकथाम र जनचेतना अभिबृद्धिमा काम गर्नु पर्छ । टोवाको सिसेसनले पनि यसलाई सहयोग गर्दछ,’ उनले भने ।
त्रिवि आईओएम अनुसन्धान विभाग प्रमुख डा प्रदीप ज्ञवालीले धूमपान तथा सुर्तीजन्य पदार्थका बारेमा केडीसीले चालेको कदमको सह्राना गर्दै अनुसन्धानमा सहकार्य गर्न चाहेको बताए । उनले अनुसन्धान विना समस्या पत्ता नलाग्ने भन्दै यसतर्फ मिलेर अघि बढ्न जोड दिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा विष्णुप्रसाद मरासिनी, केडीसीका डा सुजिता श्रेष्ठले सुर्तीजन्य पदार्थले गर्ने हानीका बारेमा प्रस्तुति दिएका थिए ।
सोही अवसरमा केडीका विद्यार्थीहरुले सुर्तीजन्य पदार्थले गर्ने असरका बारेमा चेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]