चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिको बैठक शुक्रबार बस्दै
निर्देशक पदका लागि अल्पसूचीमा पर्ने १२ जना को - को हुन् ?
काठमाडौँ, १७ जेठ । चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिको बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । उच्च अदालत पाटनको फैसला पछि समितिको बैठक पहिलो पटक भोलि बस्न लागेको हो ।
समिति संयोजक रहेका राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयालले उच्च अदालतको फैसला पछि प्रारम्भिक चरणको पहिलो बैठक भोलिका लागि तय भएको जानकारी दिए । भोलि हामी बैठक बस्दैछौँ त्यसपछि यो विषयलाई छिटो टुंगोमा पुर्याउने गरी काम गर्नेछौँ । उनले भने ।
आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा. फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।
सो समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्दा २० जनाले आवेदन दिएका थिए । तर गत १७ मंसिरमा समितिले १२ जनालाई मात्रै अल्पसूचीमा राख्दै सूची प्रकाशित गरेको थियो ।
त्यसमा असहमति जनाएका एक जना आवेदकले समितिबाट थप काम अघि नबढोस भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
सो रिटमा गत २१ मंसिरमा प्रारिम्भक सुनुवाई गर्दै काम अघि नबढाउन आयोग तथा समितिका नाममा अन्तरिम आदेश दिएको थियो । तर, गत १३ जेठमा सुनुवाई टुङ्ग्याएर उच्च अदालतले रिट खारेज गरिदिएको हो ।
‘हामीले २१ मा आदेश जारी हुनु अघिकै अवस्थाबाट काम अघि बढाउने छौँ । अदालतको आदेशको भाव समेत त्यहि छ । त्यसले सबैलाई न्याय हुन्छ,’ डा फुयालले भने ।
उनका अनुसार अब यसअघि सर्ट लिष्टमा छानिएका १२ जनामध्येबाट नै चार जना निर्देशक छनौट हुनेछन् ।
सर्ट लिष्टमा परेका १२ जना को को थिए ?
सम्पर्क इमेल : [email protected]