विपन्न मुटुरोगीको उपचारमा सहयोग गर्न नेपाल हृदयरोग निवारण प्रतिष्ठान र वीर अस्पतालबीच सम्झौँता
काठमाडौँ, १७ जेठ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले अब वीर अस्पतालमा उपचार गर्ने मुटुरोगका विपन्न बिरामीलाई पनि उपचारमा सहयोग गर्ने भएको छ ।
यसअघि प्रतिष्ठानले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार गराएका विपन्न नागरिकको उपचारमा सहयोग गर्दै आएको थियो ।
बुधबार प्रतिष्ठानका अध्यक्ष डा. सत्यनारायण सुवाल र वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलबीच उपचार सहयोग सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।
यस अन्तर्गत प्रतिष्ठानको मुटुरोगी उपचार सहयोग कोषबाट विपन्न बिरामीको उपचारमा सहयोग गरिन्छ ।
‘खासगरी मुटुको सर्जरी र मुटमा पेश मेकर राखिएका विपन्न बिरामीलाई प्रतिष्ठानको कोषबाट आर्थिक सहयोग हुन्छ । त्यसका लागि अस्पतालले सिफारिस गर्नुपर्छ । त्यसपछि बिरामीको अवस्थाबारे बुझेर कम्तिमा १० हजार देखि बढीमा ५० हजार रुपैयाँसम्म सहयोग हुन्छ,’ प्रतिष्ठानका अध्यक्ष डा. प्रकाशराज रेग्मीले भने ।
उनले सानो सहयोगले पनि बिपन्नका लागि ठूलो राहत हुने भन्दै यस तर्फ प्रतिष्ठानले काम गर्दै आएको बताए ।
त्यसो त प्रतिष्ठानले बुधबार नै सम्झौता पछि वीर अस्पतालमा मुटुको पेशमेकर राखेका बाजुराका एक जना बिरामीलाई ५० हजार सहयोग समेत गरेको छ ।
विभिन्न व्यक्तिहरुको सहयोगबाट स्थापित प्रतिष्ठानको उपचारमा कोषमा रहेको रकमको व्याजबाट बिपन्नको उपचार गर्ने गरिएको हो । यसरी बार्षिक ५० बढी बिरामीलाई सहयोग हुँदै आएको छ ।
‘बढी जसो गंगालाल अस्पतालमा उपचार गराएका बिरामीहरुले सहयोग पाएका छन् । त्यसपछि मनमोहन र अब वीर अस्पतालमा उपचार गर्नेले पनि पाउन सक्ने भए,’ डा. रेग्मीले भने ।
प्रतिष्ठानको उपचार सहयोग कोषमा दुई करोड रुपैयाँ बढी जम्मा भएको छ । यसैको व्याजबाट सहयोग गर्दै आएको हो ।
सम्पर्क इमेल : [email protected]