औषधि व्यवसायीको नजरमा बजेट कस्तो ?

काठमाडौँ, १६ जेठ । मंगलबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि बार्षिक बजेट सार्वजनिक गरे । सो बजेटबारे विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आइरहेको छ ।

हामीले स्वास्थ्य र त्यसमा पनि औषधि व्यवसायका क्षेत्रमा क्रियाशिल संस्थाका प्रतिनिधिसंग बजेटबारे प्रतिक्रिया मागेका थियौँ ।  हेर्नुहोस उनीहरुको जवाफ :

बजेट आशा लाग्दो छैन – प्रकाश खण्डेलवाल – अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ

– प्रकाश खण्डेलवाल

आगामी आर्थिक बर्षको बजेट जुन अपेक्षा गरिएको थियो त्यस्तो देखिएन । समग्रतामा बजेट आशा लाग्दो छैन । औषधि व्यवसायका लागि त गतवर्ष जे जस्तो थियो त्यो भन्दा फरक देखिदैन । बजेटको एउटा बुँदामा उधारो कारोवार सम्वन्धी कानून तर्जुमा गर्ने भनेको छ । तर त्यो कानून कहिले बन्छ, कहिले पास हुन्छ ?

अर्को कुरा औषधिको व्यवापारमा ओभर सप्लाईले मर्का परेको छ । ओभर सप्लाई कसरी नियन्त्रण गर्ने भन्नेमा बजेट मौन छ । आउने जतिलाई लाइसेन्स बनाईदिने र बजारमा पठाइदिने चलन छ । बजारको माग र आपूर्तिको अवस्था कस्तो छ ? त्यसको कुनै लेखाजोखा गरिएको छैन । त्यसैले यो हाम्रा लागि कुनै उत्साह दिने खालको बजेट छ जस्तो मलाई लाग्दैन ।

राम्रो आउँछ भन्ने मेरो अपेक्षा नै थिएन – पवन आचार्य – महासचिव, नेपाल औषधि आयातकर्ता संघ

– पवन आचार्य

स्रोत नै नभएको राज्यसंग ठूलो र राम्रो बजेट आउला भनेर अनुमान गर्नु नै कमजोरी हो । त्यसैले मैले यसलाई सामान्य रुपमा लिएको छु । बर्षमा गर्ने एउटा कर्मकाण्डी प्रक्रियाको रुपमा । हामीले धेरै अघि देखि म्याद गुज्रिएको औषधिको डिस्पोज गर्ने प्रणाली विकास गरिदिनु परयो भन्दै आएका हौँ तर त्यति काम पनि गर्न सकेको छैन । यो सिस्टम बनाउन नसक्दा पनि औषधि व्यवसायी र स्वयं उपभोक्ताहरुलाई समेत समस्या परिरहेको छ ।

अर्को कुरा सरकारको नीति तथा कार्यक्रम एउटा आउँछ, त्यसलाई सपोर्ट गर्ने गरी बजेट आउनु पर्ने हो आउँदेन । नीति तथा कार्यक्रममा ‘औषधि र औषधि जन्य सामग्री स्वास्थ्य उपकरण सौन्दर्य प्रसाधन सामग्री तथा औषधि पुरक पोषक पदार्थहरुको गुणस्तर परीक्षण र नियमन व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।औषधिको गुणस्तर जाँचको व्यवस्था सहित राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता बृद्धि गरिनेछ,’ भनिएको छ ।

तर बजेटमा त्यसलाई सपोर्ट हुने गरी कार्यक्रम परेको जस्तो मलाई लाग्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *