फार्मेसी काउन्सिल काउन्सिलद्धारा विवरण र शुल्क बुझाउन अटेरी गर्ने कलेजका विद्यार्थीको लाईसेन्स परीक्षा रोकिदिने चेतावनी
काठमाडौँ, ६ जेठ । नेपाल फार्मेसी काउन्सिलले आफ्नो निर्देशन अनुसारको दायित्व पालना नगर्ने फार्मेसी कलेजका विद्यार्थीहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा रोकिदिने चेतावनी दिएको छ ।
कलेज प्रशासनले पठाउनु पर्ने उत्तीर्ण विद्यार्थीहरुको विवरण लामो समय देखि नपठाएको तथा डी फार्मेसी र बी फार्मेसीका विद्यार्थीको बुझाउनु पर्ने पञ्जीकरण शुल्क लामो समय देखि नतिरेको भन्दै यस्तो चेतावनी दिएको हो ।
काउन्सिलले विवरण नबुझाएका कलेजहरुलाई तत्काल विवरण बुझाउनु भनेर ३० जेठ २०७९ मा सूचना जारी गरेको थियो । यस्तै पञ्जीकरण शुल्क तिर्नु भनेर २० असार २०८० मा अर्को सूचना जारी गरेको थियो । तर कतिपय कलेजहरुले त्यसबेला देखिको सूचनाको वेवास्ता गर्दै आएका छन् ।
काउन्सिलका रजिष्ट्रार सञ्जीव कुमार पाण्डेले यसरी काउन्सिलको निर्देशनको व्यवस्था गर्ने कलेजहरुका विद्यार्थीको परीक्षा लिन काउन्सिल बाध्य नहुने बताए ।
उनले भने, ‘धेरैले त निर्देशनको पालना गरेकै छन् । केही कलेजहरुलाई जति भने पनि अटेरी गरिरहे । हामीले पनि अब उनीहरुका विद्यार्थीहरुको परीक्षा सकिन्छ नि, अब तत्काल निर्देशनको पालना नगरे हामीले सोही कदम चाल्नेछौँ । त्यसैको जानकारी गराएका हौँ।’
काउन्सिलले डि. फार्मेसीको प्रति विद्यार्थी १ हजार र बी फार्मेसीको प्रतिविद्यार्थी ३ हजार रुपैयाँ पञ्जीकरण शुल्क लिने गरेको छ ।
‘अटेरी गर्ने कलेजहरुलाई यो अवसर दिइएको हो । अब तत्काल निर्देशनको पालना नगरे काउन्सिल कडा रुपमा अघि बढ्छ । अहिले नै स्पष्ट रुपमा जानकारी गराईएको हो,’ रजिष्ट्रार पाण्डेले भने ।
सम्पर्क इमेल : [email protected]