बाथ मुटुरोगको खोजी गर्दै मधेशका विद्यालय पुगे विशेषज्ञ चिकित्सक
४ हजार बालबालिकाको जाँच गर्दा ४० जनामा बाथ मुटुरोग, ४ जनाको शल्यक्रिया गर्नु पर्ने
काठमाडौँ, ३१ बैशाख । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले बाथ मुटुरोग विरुद्धको अभियान सञ्चालन गरेको ३० बर्ष नाघ्यो । यो अवधीमा प्रतिष्ठान देशका ५० जिल्लामा पुगेर तीन लाख बढी बालबालिकामा बाथ मुटुरोग जाँच गरिसकेको छ ।
पछिल्लो पटक प्रतिष्ठानको टोली बाथ मुटुरोगीको खोजी गर्न मधेश प्रदेश झरेको छ । अनि, सोही टोली संगसंगै रहेको छ रोटरी क्लव अफ पाटन ।
बालबालिकामा देखिने बाथ मुटुरोगीको खोजी परीक्षण तथा उपचार गर्ने प्रतिष्ठानको अभियानमा पछिल्लो समय रोटरीले हातेमालो गर्दै आएको छ ।
यहि सिलसिलामा बाथ मुटुरोगीको खोजी गर्न हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटन मधेश प्रदेशको सिराहा र धनुषा जिल्ला पुगेको छ ।
‘गत बिहिबार मधेश प्रदेश पुगेर शनिबारसम्म ८ वटा सामुदायिक विद्यालयका ४ हजार बढी विद्यार्थी (बालबालिका)को परीक्षण गरियो । सो क्रममा ४० जना बालबालिकामा बाथ मुटुरोग देखा परयो । त्यसमध्ये ४ जनाको तत्कालै शल्यक्रिया गर्नु पर्ने देखियो । यस्तै २० जनामा जन्मजात मुटुरोग देखियो,’ अभियानको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने ।
उनले रोग पत्ता लागेका तथा शल्यक्रिया गर्नु पर्ने बालबालिकाहरुको काठमाडौँमा निशुल्क उपचारका लागि सरकारसंग मिलेर प्रतिष्ठानले आवश्यक सहयोग तथा समन्वय गरिरहेको जानकारी दिए ।
चिकित्सकहरुको टोलीले गत शुक्रबार सिराहाका ६ वटा सामुदायिक विद्यालयका २ हजार ५०० विद्यार्थीको मुटु जाँच गरेका थिए । लक्ष्मललिता कुशवाहा उमावि लहान, महावीर माध्यमिक विद्यालय चैनपुर, जनता मावि भवानीपुर, जनता मावि अयोध्यानगरसहित ६ वटा विद्यालयका बालबालिकाहरुको परीक्षण भएको थियो । शनिबार भने टोलीले धनुषाको महेन्द्र मावि ढल्केवर र खजुरी सन्हा मावि खजुरीमा गरी १ हजार ५०० बढी बालबालिकाहरुको मुटु परीक्षण गरेको थियो ।
शिविरका लागि राजधानीबाट डा रेग्मीको नेतृत्वमा मुटुरोग विशेषज्ञरु डा. प्रेमराज वैद्य, डा सत्यनारायण सुवाल, डा रामकिशोर साह, डा उर्मिला शाक्य र डा राजेश साह मधेश प्रदेश पुगेका थिए । यस्तै इको टेक्निसियनहरु मोहनमान श्रेष्ठ, निजीता पौडेल र शारदा महर्जन, टेक्निसियन निरु श्रेष्ठ, मञ्जु ताम्राकार, केशव प्रसाद ढकाल, अनमोल महर्जन समेत मधेश पुगेका थिए ।
नेपालले हरेक १०० जना बालबालिकामध्ये १ जनामा बाथ मुटुरोग लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । हरेक वर्ष ३ हजार नेपालीको बाथ मुटुरोगबाट निधन हुने र त्यसमध्ये १ हजार बालबालिका रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले सन् २०३० सम्म बाथ मुटुरोगको समस्या ५० प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ । प्रतिष्ठानले सोही लक्ष्यलाई सहयोग गर्न हरेक वर्ष कम्तिमा २० हजार बालबालिकाहरुको मुटुरोग जाँच गर्दै आएको छ ।
डा. रेग्मीले मुटुरोगको उपचारमा सरकारले हरेक वर्ष ३०-४० करोड बढी रकम खर्च गरे पनि यस्ता रोग लाग्नै नदिने कार्यमा जनचेतना जगाउने कार्यमा प्राथमिकता नदिएको बताए ।
सम्पर्क इमेल : [email protected]