केयुले सञ्चालन गरेको एमबीबीएस तहको परीक्षामा दुई विषयको प्रश्न पत्र ‘आउट’
पहिलेको परीक्षा रद्ध गर्दै पुन: परीक्षाका लागि नयाँ तालिका निकाल्यो केयुले
काठमाडौँ, ३१ बैशाख । परीक्षा अगावै प्रश्नपत्र बाहिरिए पछि काठमाडौँ विश्वविद्यालय (केयु) को परीक्षा नियन्त्रण कार्यालयले दुईवटा विषयको पुर्नपरीक्षा लिने भएको छ । केयुले आइतबार सूचना जारी गर्दै गत ५ र १० मे मा सञ्चालित दुई विषयको परीक्षा पुन: लिनु पर्ने भन्दै नयाँ तालिका पठाएको छ ।
नयाँ तालिकामा फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड (डर्माटोलोजी) १ को आगामी १६ मे कादिन विहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको पनि १६ मे दिउसो २ देखि २ ३० बजेसम्म लिने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
केयु स्कुल अफ मेडिसिनका डीन प्राडा. मनोज हुमागाईँले यी दुई विषयका परीक्षाको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुर्न परीक्षा लिने निर्णय गरेको बताए ।
‘यी सुरुकै परीक्षा थिए, परीक्षामा प्रश्न पत्र आउट भएको भन्ने हल्ला चल्यो । हामीले तत्कालै यत्तिकै रद्ध गर्न पनि मिलेन । परीक्षा समिति बस्यो र ट्याली गर्दा हल्लामा केही सत्यता पनि देखियो र पहिलेको परीक्षा रद्ध गरी पुन लिने निर्णय भयो,’ उनले भने ।
डीन प्राडा हुमागाईँले त्यसपछिका विषयमा दोस्रो सेटबाट सञ्चालन गरिएको समेत सुनाए । ‘परीक्षामा पहिलो सेटमा समस्या भएको हल्ला चलेपछि हामीले बाँकी परीक्षा अर्को सेटबाट लियौँ तर सुरुकै केही विषय भने पुन परीक्षा लिने निर्णयमा पुग्यौँ,’ उनले भने ।
प्रश्नपत्र आउट हुँदै गर्दा ठूलो रकम चलखेल भएको हल्ला समेत चलेको थियो ।
प्राडा . हुमागाईँले प्रश्नपत्र आउट भएको विषय काभ्रे प्रहरीले छानवीन गरिरहेको भन्दै सबै सत्यतथ्य प्रहरीले सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]