निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन
काठमाडौँ, ३० बैशाख । निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन भएको छ । ८६ बर्षीय जिमको गत शुक्रबार अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा निधन भएको हो। मृत्युको कारण भने बताइएको छैन ।
उनले स्थापना गरेको निक साइमन्स इन्स्टिच्युटले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।
अमेरिकाकै धनी मध्येका एक उनले गणितका क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी लगायत पत्ता लगाएका थिए।
गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।
नेपालमा उनी छोरा निक साइमन्सका कारण आइपुगेका थिए। सन् २००३ मा इन्डोनेसियामा पौडी खेल्ने क्रममा पानीमा डुवेर मृत्यु भएका छोरा निक साइमन्सको चाहना अनुसार उनले नेपालको स्वास्य क्षेत्रमा सहयोग गरेका हुन् ।
उनका छोरा निक सन् २००२ मा नेपाल घुम्न आएका थिए । त्यसबेला नेपालको र त्यसमा पनि ग्रामिण क्षेत्रको अवस्था देखेर फर्केका निकले निकले आफ्नी आमासँग नेपालमा सेवा गर्ने चाहना रहेको सुनाएका थिए ।
तर, दुर्भाग्यवस उनको एक वर्ष पछि नै मृत्यु भयो ।
छोराको मृत्युपछि साइमन्स दम्पत्तीले इन्स्टिच्युट स्थापना गरी नेपालको स्वास्थ्य सेवामा योगदान दिन थालेका हुन् ।
सम्पर्क इमेल : [email protected]