स्वास्थ्य बीमा कार्यक्रम : आगामी १ जेठ देखि काठमाडौँ महानगरका एक लाख बीमित थपिदै
काठमाडौं, २१ बैशाख । गत चैत महिना भित्र स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका काठमाडौँ महानगरपालिकाका बासिन्दाले आगामी १ जेठ देखि उपचार सेवा लिन पाउने छन् ।
महानगरले चैत मसान्तसम्म स्वास्थ्य बीमा कार्यक्रममा दर्ता हुन आएका १ लाख बढी स्थानीयलाई १ जेठ देखि वीमा कार्ड उपलव्ध गराउने जनाएको छ । बीमा कार्ड पाएपछि बीमितहरुले तोकिएको प्रथम सेवा विन्दुबाट उपचार सेवा सुरु गर्न सक्नेछन् ।
महानगरका स्वास्थ्य बीमा कार्यक्रम फोकल पर्सन कमलप्रसाद भट्टराईले आगामी १ जेठ देखि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका १ लाख बढी बीमाको नेटवर्कमा आवद्ध हुने र तोकिएको सुविधा लिन सक्ने बताए ।
महानगरले स्वास्थ्य बीमा कार्यक्रमका लागि अहिले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २६ लैनचौर, वडा नं. १४ कलंकी, वडा नं. १९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दुको रुपमा बीमा बोर्डमा सूचीकृत गरेको छ ।
बीमितहरुले आकस्मिक बाहेकका सेवा लिनु पर्दा आफूले छनौट गरेको प्रथम सेवा विन्दुबाट नै उपचार सेवा लिनु पर्दछ । त्यहाँ उपचार हुन नसकेमा प्रथम सेवा विन्दुले बनाईदिने रिफरल कार्डको आधारमा रिफरल हस्पिटलमा गएर सेवा लिन सकिनेछ ।
भट्टराईले पहिलो चरणको कार्ड वितरण कार्यक्रम १ जेठ देखि सुरु भए पनि स्वास्थ्य बीमामा दर्ता हुने व्यवस्था सधैभरी जारी रहने बताए । स्वास्थ्य बीमा बोर्डले नाम दर्ता गर्न तीन तीन महिनाको चारवटा साइकल तयार गरेको छ ।
माघ, फागुन चैतमा आवद्ध भएकाहरुको बैशाखमा इन्ट्रि गर्ने र जेठबाट उपचार प्रारम्भ गर्ने गरेको छ । यस्तै बैशाख देखि असारसम्म आवद्ध भएकाहरुको साउनमा इन्ट्रि गर्ने र भदौ देखि सेवा उपलव्ध गराउने । यसैगरी साउन भदौ असोज तथा कात्तिक मंसिर पुस गरी तीन तीन महिनाको साइकल बनाइएको छ ।
यसैबीच महानगरले बीमाको सफ्वेर सञ्चालनका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई चार दिने सफ्टवेर सञ्चालन सम्वन्धी तालीम सुरु गरेको छ ।
बिहीबारबाट सुरु भएको तालिममा विवरण प्रविष्टि, उपचार सेवा, प्रयोगशाला तथा औषधिको विवरण अभिलेखन, प्रतिवेदनलगायत सिप सिकाइने बताइएको छ ।
फोकल पर्सन कमलप्रसाद भट्टराई भन्छन्, ‘कागजबिहिन उपचार सेवाका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई प्रविधि र प्रणाली सिकाउन तालिम गराएका हौँ । यसमा बिमित व्यक्तिले कार्ड देखाएपछि त्यसका आधारमा सफ्टवेयरमा नाम रजिष्ट्रेसन गरिन्छ । यसपछिका सबै प्रक्रिया सफ्टवेयरमार्फत नै हुन्छन् ।’ उनका अनुसार आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन् ।
यसबाट विरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्नेछन् । बीमा बोर्डले आफूले रकम भुक्तानी गर्नु पर्ने विरामीको स्वास्थ्य उपचार र अवस्थाका बारेमा त्यही प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ ।
सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधि लगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिका काम गरिरहेको छ ।
यसको व्यवस्थापनपछि बीमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना रहेको काठमाडौं महानगरका स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनको भनाइ छ । अहिले वडा नं १-३२ गरी सबै वडाका लागि बिमा दर्ता सहयोगीले स्वास्थ्य बीमा गराइरहेका छन् ।
यस कार्यक्रममा आवद्ध हुनका लागि प्रति परिवार (परिवारको पाँच जना सदस्यलाई एउटा परिवारको एकाई मानिएको छ ) बार्षिक ३ हजार ५०० रुपैयाँ तिनुपर्छ । त्यसबापत परिवारका सदस्यहरुले बार्षिक १ लाख बराबरको उपचार सेवा लिन सक्नेछन् । २५ बेड माथिका अस्पतालमा सरकारी भए १० प्रतिशत र निजीमा उपचार गराए २० प्रतिशत रकम सह भुक्तानीको रुपमा विमितले तिर्नु पर्छ ।
सम्पर्क इमेल : [email protected]
वडा न १६ का बासिन्दाहरु ले कहाँ गएर बिमा गराउने?