नेपाललाई सन् २०२५ सम्ममा ‘औलोमुक्त राष्ट्र’ बनाउने योजना सफल होला ?
काठमाडौँमा भेटिए १७ जना औलो रोगी, संक्रमित सबै अफ्रिकी मुलुकबाट फर्किएका
काठमाडौँ, १३ बैशाख । नेपाल औलो रणनीति योजना २०१४- २०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ ।
रणनीतिलाई सफल बनाउन सन् २०२३, २०२४ र २०२५ मा औलो बिरामीको संख्या सून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ । तर, पछिल्लो एक वर्षमा देशभर ५७४ जना बिरामीको औलो पहिचान भई उपचार भएको छ ।
काठमाडौंको पछिल्लो दुई वर्षमा समान १७ जनामा औलो देखिएको छ ।
ती सबै अफ्रिकी मुलुकबाट फर्किएका नेपालीमा देखिएको हो । यता स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालु आर्थिक बर्षको ६ बैशाखसम्म देशमा ५७४ जना औलो रोगी भेटिएको र त्यसमा ५५६ जना आयातित केश रहेको उल्लेख गरेको छ । त्यसमा करीव ८० प्रतिशत भारतबाट आएको समेत महाशाखाले बताएको छ ।
खुल्ला सिमा भएका कारण नेपाल भारत सहज रुपमा आवत जावत हुने गर्दछ । त्यसले गर्दा भारतमा नियन्त्रण नहुँदासम्म नेपालले सफलता पाउन नसक्ने विज्ञहरु बताउँछन् ।
विश्व औलो दिवसको अवसरमा बिहिबार जन स्वास्थ्य कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख डा अर्जुनप्रसाद सापकोटाले आयातित केशहरु बढी रहेकोले नियन्त्रणका लागि चुनौती थपिएको बताए । ‘खुशीको कुरा काठमाडौँमा स्थानीय केशहरु देखिएको छैन । तर, दुखको कुरा सबै आयातित केश हुन् । आवत जावत रोक्न पनि नमिल्ने, त्यसैले जहिले पनि यसको खतरा रही रहने भयो,’ उनले भने ।
उनले आयातित केशहरु अफ्रिकी मुलुकबाट भित्रिएको बताए । स्रोतका अनुसार शान्ति सेनामा गएका अफ्रिकी मुलुक गएका नेपाली सैनिकहरुमा औलो देखिने गरेको छ ।
औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसंगै औलोको परजिवी चुस्दछ र लामखुट्टे संक्रमित हुन्छ । त्यस्ता लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि औलो सर्दछ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रबिना कर्माचार्यका अनुसार, ज्वरो आउनु, टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, जिउ दुख्नु, बान्ता हुन्, अत्यधिक जाडो हुनु औलोको लक्षण हुन् । उनले नेपालको खुल्ला सिमाना, जलवायु परिवर्तनको असर, बसाई सराई लगायतका कारणले पनि औलो नियन्त्रण हुन चुनौती रहेको बताइन । उनले काठमाडौँमा १ हजार २५० वटा स्वास्थ्य संस्थाबाट औलोको निशुल्क जाँच हुने गरेको समेत जानकारी दिईन् ।
उनले लामखुट्टेको टोकाइबाट जोगिने, झुल टाँगेर सुत्ने, लामखुट्टे नस्ट गर्ने लगायतका अभियान समुदायस्तरमा चलाउदै आइएको र त्यसलाई निरन्तरता दिइएको समेत बताईन ।
यता इडिसिडीका निर्देशक डा. रुद्र मरासिनीले नेपालमा प्लाज्मोडियम फाल्सीफारम र प्लाज्मोडियम भाइभेक्स नामका दुई किसिमको परजिवी नेपालमा भेटिएको बताए । प्लाज्मोडियम फाल्सीफारमले गराउने औलो बढी कडा र जोखिम हुने बताए ।
उनले लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगको जोखिमबाट जोगिने सर्बोत्तम उपाय भएको बताए ।
नेपालमा सन् १९५४ अर्थात ७० बर्ष अघि देखि कीटजन्य रोग नियन्त्रण कार्यक्रममार्फत औलो नियन्त्रण कार्यक्रमको सुरुवात भएको हो ।
सम्पर्क इमेल : [email protected]