उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह
काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह गरेकी छन् ।
काठमाडौँको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिनहरू बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत गराइन् ।
बिक्रेताहरूले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् ।
उनले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसाय अघि बढाउन पनि औषधि विक्रेताहरूलाई अनुरोध गरिन् । त्यसका लागि महानगरपालिकाकाले औषधि व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपमेयर डंगोलले बताइन् ।
उपमेयर डंगोलले औषधि व्यवसायलाई विश्वास गर्ने वातावरण निर्माणमा पनि सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने आवश्यक रहेकोमा उनको जोड छ ।
सम्पर्क इमेल : [email protected]