दुर्गममा मेडिकल शिक्षा र सेवाबारे कर्णाली प्रतिष्ठानका उपकुलपति डा. रावलले हार्वार्ड दिए प्रस्तुति
काठमाडौँ, १८ फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले विश्व प्रसिद्ध हार्वार्ड युनिभर्सिटीमा पुगेर दुर्गम मा सञ्चालन भइरहेको मेडिकल शिक्षाबारेमा विशेष प्रस्तुति दिएका छन् ।
अमेरिकाको बोस्टनस्थित हार्वाडमा पुगेर उनले नेपालकै दुर्गमस्थान मानिने कर्णालीमा कसरी मेडिकल शिक्षा तथा सेवा सञ्चालन गरिएको छ भन्ने बारेमा प्रस्तुति दिएका हुन् ।
हार्वाडको ग्लोबल हेल्थ डिपार्टमेन्टले उनलाई ‘कि नोट स्पिकर’को रुपमा निम्त्याएको थियो ।
‘खासगरी दुर्गम कर्णालीको एक स्थान जुम्लामा कसरी मेडिकल कलेज सञ्चालन भइरहेको छ भन्ने बारेमा मेरो प्रस्तुति थियो । प्रतिष्ठान कसरी चलेको छ, के कस्ता चुनौति छन्, अब गर्नु पर्ने आवश्यक के कस्ता छन् लगायतका विषयमा प्रस्तुति तथा अनुभवको सेयरिङ्ग गरेको थिएँ । हाम्रो अनुभवले सायद उहाँहरुलाई छोयो पनि होला, कर्णालीसंग सहकार्य गर्ने विषयमा पनि उहाँहरु पोजेटिभ देखिनु भएको छ । नेपाल आउन समेत ईच्छा देखाउनु भएको छ,’ डा रावलले भने ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुरयाएको योगदानको कार्यक्रममा सहभागी अतिथि तथा आयोजक मुक्त कण्ठले प्रशंसा समेत गरेको बताए ।
कार्यक्रममा हार्वार्डका ग्लोबल हेल्थ डिपार्टका प्रमुख प्राडा जया मुखर्जी, सोसियल मेडिसिन विभाग प्रमुख प्राडा बिक्रम पटेल सहित अन्य फ्याकल्टी र चिकित्साशास्त्रका विद्यार्थीहरुको सहभागिता थियो ।
डा रावलले हार्वाडको दुईवटा कार्यक्रममा आफ्नो प्रस्तुति दिएको बताए ।
‘एउटा ग्लोबल हेल्थ एण्ड सोसियल मेडिसिन डिपार्टले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिएँ । अर्को प्रस्तुति हार्वार्डमा पढ्ने चिकित्साशास्त्रका विद्यार्थीबीच भयो । उनीहरु पनि कर्णालीमा सर्टटम भिजिटका लागि आउन चाहिरहेका छन्,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]