बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

आजबाट शैक्षिक, प्रशासनिक तथा अस्पतालको सेवा नियमित सेवा सुचारु

काठमाडौँ, २८ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ।  सहमति पछि चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनबीच शनिबार प्रतिष्ठानका कामु उपकुलपति प्रह्लाद कार्कीको कार्यालयमा सहमति भएको हो।

प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो।

सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक आज देखि नियमित काममा फर्कने छन्।

दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ।

आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ।

भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवस्थापन पक्षबाट पूर्वाग्रह राखी कुनै पनि प्रकारको कारबाही नगर्ने र नगराउने भनिएको छ। भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति गरिएको छ।

उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाअघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो।

उक्त बैठकले फागुन ६ गतेदेखि बढुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेपनि आन्दोलनरत शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमति जनाउनुपर्ने माग गरेपछि शनिबार वार्ता भएको हो।

सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराल अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गरेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *