भक्तपुर अस्पतालको निर्देशक पदमा पुन: डा. सुमित्रा गौतम
काठमाडौँ, २० माघ । भक्तपुर अस्पतालको निर्देशकको जिम्मेवारी पुन: डा. सुमित्रा गौतमले पाएकी छन् । परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालकी प्रमुख कन्सलटेन्ट अब्सट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट (एघारौँ तह) की डा. गौतमलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्यमन्त्री कार्यालय बागमती प्रदेशमा काजमा पठाएपछि त्यहाँबाट पुन: उनलाई काजमा भक्तपुर अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको हो ।
‘डा. गौतमलाई गत १५ माघमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै काजमा बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरे, मुख्य मन्त्री कार्यालयले १७ माघमा मुख्यमन्त्रीस्तरीय निर्णय गर्दै भक्तपुर अस्पतालको निर्देशकको जिम्मेवारी तोकेको हो,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।
डा. गौतम १७ माघमा अस्पताल पुगेर हाजिर भएकी छन् ।
त्यसो त डा. गौतम संघमा दरबन्दी भए पनि गत असार मसान्तसम्म भक्तपुर अस्पतालमा नै काजमा रहेर प्रमुख मेडिकल सुपरीटेन्डेन्टको भूमिकामा थिईन । तर, सरकारले गत १ साउन देखि काम काज हटाउने निर्णय गरेपछि उनी आफ्नो दरबन्दी भएको परोपकार प्रसूतिगृह अस्पताल फिर्ता भएकी थिईन् । बागमती प्रदेशले ३० भदौमा दशौँ तहका डाक्टर त्रिभुवन चन्द्र झालाई निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्टको रुपमा पठाएको थियो । अहिले डा. गौतमलाई निर्देशक बनाई पठाउँदा डा. झा भने मुख्यमन्त्री कार्यालय तानिएका छन् ।
१०० बेडको भक्तपुर अस्पताललाई ३०० बेडमा स्तरोन्नती गर्ने बागमती प्रदेश सरकारले निर्णय गरिसकेको छ । त्यसको लागि नयाँ दरबन्दी संरचना समेत तयार भएको छ । सोही अनुसार यसअघि अस्पताल प्रमुखको रुपमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट हुनेमा अहिले निर्देशक बनाइएको हो । नयाँ दरबन्दी संरचनामा नै निर्देशक पद भएपछि डा. गौतमलाई अहिले निर्देशक पदको जिम्मेवारी दिएर पठाइएको हो ।
किन काजमा फेरी ?
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको काम गराई बुझिनसक्नुको छ । उनी आफैले काज फिर्ता गर्ने सरकारी निर्णयको सबैभन्दा बढी ‘क्रेडिट’ लिए । हरेक भाषण र उपलव्धीको सूचीमा काज फिर्ता गरेको रटान लगाइरहन्थे । तर, बीचमा उनैले स्वास्थ्य बीमा बोर्डमा केही कर्मचारीहरुलाई काज फिर्ता गर्ने निर्णय स्थगित गरी काजमै राखे । त्यसबेला पनि उनको कामको आलोचना भएको थियो । पार्टी निकटका आफ्ना मान्छे छानेर त्यसबेला निर्णय गरिएको बताइएको थियो । अहिले डा. गौतमको केशमा पनि अहिले त्यहि देखिएको छ ।
‘काज फिर्ता भएर संघमा आइसकेको व्यक्तिलाई फेरी प्रदेशको अस्पतालको नेतृत्व गर्न काजमा पठाइएको छ । इथिक्स हराएपछि कसको के लाग्छ र,’ मन्त्री बस्नेतको निर्णयप्रति मन्त्रालयकै एक उच्च अधिकारीले टिप्पणी गरे ।
त्यसो त डा. गौतमलाई भक्तपुर पठाउनुमा सिटिस्क्यान खरीदको प्रक्रिया आफू अनुकुल अघि बढाउनु हो भन्छन् जानकारहरु ।
‘यो मेसिन खरीदको मुद्धा निकै बलियो हुँदो रहेछ । भक्तपुर अस्पतालमा पनि यसपटक सिटिस्क्यान मेसिन खरीद हुँदैछ । डा. झालाई खरीद प्रक्रियालाई फास्टट्रयाकबाट अघि बढाउन प्रदेश तथा संघीय निकायबाट निकै दवाव आएको थियो । तर उनी प्रक्रिया मिचेर खरीद प्रक्रिया अघि बढाउन मानेनन् । डा. गौतमलाई यो प्रक्रियामा अनुकुल पात्र मानेरै पठाइएको हो,’ स्रोतले भन्यो ।
कतिपयले भने डा गौतम कामका लागि ‘बोल्ड’ निर्णय गर्न सक्ने भएकोले उनलाई पुन: भक्तपुर पठाइएको बताएका छन् । ‘पहिले अस्पताल प्रमुख रहँदा उनले अस्पताललाई नयाँ उचाईमा पुर्याएकी हुन् । त्यसबेला उनको इज्यत थियो । तर अब फेरी त्यही दोहो र्याई तेहेर्याई आउँदा शंका गर्ने बाटो रहन्छ । उहाँ अरु अस्पतालमा गएर भक्तपुर जस्तै बनाएको भए राम्रो हुन्थ्यो । त्यहि जान रहर गर्नु भयो,’ मुख्य मन्त्री कार्यालयका एक कर्मचारीले भने ।
सम्पर्क इमेल : [email protected]