विदेशी चिकित्सकको सहयोग विना त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गरे पहिलो कलेजो प्रत्यारोपण

काठमाडौँ, १८ माघ । नेपालमा यसअघिसम्म भएका कलेजो प्रत्यारोपणमा विदेशी विज्ञ चिकित्सकको सहयोग हुने गर्दथ्यो । तर, यसपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सकको सहयोग विना नेपाली चिकित्सकहरुकै टिमले कलेजोको सफल प्रत्यारोपण गरेको छ ।

शिक्षण अस्पतालका बरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत २७ पुसमा गरिएको पछिल्लो केश (कलेजो प्रत्यारोपण)मा कुनै विदेशी चिकित्सकको उपस्थिति थिएन ।

‘यो हाम्रो लागि ऐतिहासिक दिन हो । कलेजो प्रत्यारोपणमा नेपाल आत्मनिर्भरताको बाटोमा अघि बढेको छ भन्ने प्रमाण हो । अब हामीले कलेजो प्रत्यारोपणका लागि विदेशबाट चिकित्सक झिकाउन नपर्ने भएको छ,’ खुशी हुँदै उनले भने ।

नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । ‘कलेजो दाता रहेकी श्रीमती १० दिन अघि नै डिस्चार्ज भइसकेकी हुन् । कलेजो ग्रहणकर्ता उनका श्रीमान् पूर्ण स्वास्थ्यलाभ गरी आज डिस्चार्ज हुँदैछन्,’ डा. भण्डारीले भने ।

यसअघि त्रिवि शिक्षण अस्पतालले पनि विदेशी चिकित्सकको सहयोग लिएर नै कलेजो प्रत्यारोपण गर्ने गरेको थियो ।

‘यो हाम्रो ११ औँ केश हो । १० औँ सम्म हामीले पनि भारतबाट विज्ञहरुलाई बोलाएर केश गर्ने गरेका थियौँ । पछिल्ला केशहरुमा उहाँहरुलाई आवश्यक परेमा भनेर राख्ने गरेका थियौँ । अरु केश हामीले नै गर्दै आएका थियौँ । तर यसपटक सबै हामीले नै गर्‍यौँ । अब नर्मल प्रत्यारोपणका लागि विदेशबाट चिकित्सक झिकाउन नपर्ने भयो,’ उनले भने ।

उनले आफूहरुलाई विश्वास गर्ने बिरामी परिवार, त्रिवि शिक्षण अस्पताल र प्रत्यारोपणमा सघाउन खटिएका टिमका सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *