डब्लुएचओ कार्यकारी बोर्डद्धारा तीन जना नयाँ क्षेत्रीय निर्देशक नियुक्त, १ फेब्रअरी देखि कार्यभार सम्हाल्ने
कस्ता छन् तीन नयाँ क्षेत्रीय निर्देशक ?
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यकारी बोर्डले मंगलबार दक्षिण पूर्वी एशिया क्षेत्र सहित सहित तीनवटा क्षेत्रका नयाँ क्षेत्रीय नियुक्त गरेको छ ।
त्यसरी नियुक्त हुनेहरु नयाँ निर्देशकहरुमा दक्षिण पूर्वी एशिया क्षेत्रका लागि साइमा बाजेद, पश्चिमी प्रशान्त क्षेत्रका लागि साया माउ पिउकलाले र पूर्वी भूमध्य सागर क्षेत्रका डा हानान हसन बाल्खी रहेका छन् । क्षेत्रीय समितिबाट मनोनित हुने उनीहरुलाई कार्यकारी बोर्डले नियुक्त गर्ने व्यवस्था छ ।
नव नियुक्त निर्देशकहरुले आगामी १ फेव्रअरी देखि कार्यभार सम्हाल्ने छन् । उनीहरुको कार्यकाल ५ वर्षको रहनेछ ।
‘म हाम्रा तीन नयाँ क्षेत्रीय निर्देशकहरुलाई उनीहरुको नियुक्तीमा बधाई दिन चाहन्छु । सफलताको कामना गर्न चाहन्छु । सबैको लागि स्वास्थ्य प्राप्त गर्ने हाम्रो लक्ष्यलाई अगाडी बढाउन म उहाँहरुसंग काम गर्न तत्पर छु,’ डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले भने ।
कस्ता छन् तीन नयाँ क्षेत्रीय निर्देशक ?
साइमा बाजेद (दक्षिण पूर्वी एशिया क्षेत्रका नयाँ निर्देशक):
भारतको नयाँ दिल्लीस्थित दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट बाजेदले २ अर्व भन्दा बढी जनसंख्या भएका ११ देशमा अन्तराष्ट्रिय स्वास्थ्य कार्यलाई निर्देशन गर्नेछिन् । उनले संयुक्त राज्य अमेरिकाको फ्लोरिडा स्थित ब्यारि विश्वविद्यालयबाट क्लिनिकल मनोविज्ञानमा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेकी छन् ।
यस्तै उनले मानसिक स्वास्थ्य र अटिजममा डब्लुएचओको महानिर्देशकको सल्लाहकारको रुपमा काम गरेकी थिईन् ।
यसअघि उनी बंगलादेशको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीतिक योजनाको प्रमुख सल्लाहकार र अटिजम र न्युरोडेभलपमेन्टल डिसअर्डर सम्वन्धी राष्ट्रिय सल्लाहकार समितिकी अध्यक्ष थिईन् । उनी चाथम हाउसको ग्लोबल हेल्थ प्रोग्राममा एसोसिएट फेलो र बंगलादेशको शुचोना फाउण्डेशनकी अध्यक्ष समेत थिईन् ।
डा. हानान बाल्खी (पूर्वी भूमध्य क्षेत्रीय निर्देशक):
इजिप्टको कायरोमा रहेको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयबाट डा हानान बाल्खीले ७४ करोड ५० लाख जनसंख्या भएको देश र क्षेत्रहरुमा अन्तराष्ट्रिय स्वास्थ्य कार्यलाई निर्देशन दिनेछिन् । जेद्धाह किंग अब्लुलअजीज विश्वविद्यालयबाट स्नातक डा बल्खीले संंयुक्त राज्य अमेरिकाको बोस्टनस्थित म्यासाचुसेट्स जनरल अस्पतालमा बाल चिकित्सा रेसिडेन्सी प्रशिक्षण पुरा गरेकी हुन् ।
यस्तै उनले संयुक्त राज्य अमेरिकाको क्लिभल्याण्ड क्लिनिक फाउण्डेशन र केस वेस्टर्न रिजर्भ विश्वविद्यालयसंग बाल संक्रामक रोगमा फेलोसिप पुरा गरेका हुन् । सन् २०१९ देखि डब्लुएचओको मुख्यालयमा एन्टीमाइक्रोवियल प्रतिरोधका लागि सहायक महानिर्देशकको रुपमा सेवा गरिरहेकी छिन् ।
आफ्नो जीवनको २० बर्ष भन्दा बढी समय उनले आफ्नो देश साउदी अरेबियामा सार्वजनिक स्वास्थ्यमा धेरै संघसंस्थासंग जोडिएर नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिईन् । यसअघि उनी साउदी अरेबियाको नेशनल गार्ड मन्त्रालयमा संक्रामक रोकथाम र नियन्त्रणका लागि कार्यकारी निर्देशक थिईन् । उनले संक्रामक रोग नियन्त्रणका लागि खाडी सहयोग परिषद् केन्द्र र संक्रामक रोग रोकथाम र नियन्त्रण र एन्टिमाइक्रोवियल प्रतिरोधमा डब्लुएचओ सहयोग केन्द्रको नेतृत्व समेत गरिन् ।
डा. साया माउ पिउकला (पश्चिमी प्रशान्त क्षेत्रीय निर्देशक)
फिलिपिन्सको मनिलामा रहेको पश्चिमी प्रशान्त क्षेत्रीय कार्यालयबाट डा साया माउ पिउकलाले लगभग १.९ विलियन जनसंख्या भएका ३७ देश र क्षेत्रहरुमा अन्तराष्ट्रिय स्वास्थ्य कार्यलाई निर्देशन दिनेछन् ।
राजनीतिज्ञ, जनस्वास्थ्य नेता र करीव ३० बर्षको अनुभव भएका शल्यचिकित्सक डा पिउकलाले टोंगाको स्वास्थ्य मन्त्रीको रुपमा काम गरेका थिए । उनले फिजी स्कुल अफ मेडिसिनमा चिकित्सा र शल्यक्रियामा तालीम लिए र टोंगाको मुख्य रेफरल अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट समेत भए ।
उनले टोंगाको विधान सभामा पनि सेवा गरे र नसर्ने रोगहरु सुरक्षित शल्यक्रिया, जलवायु परिवर्तन र स्वास्थ्य तथा प्रकोप तयारी तथा प्रतिक्रिया कार्यमा क्रियाशिल रहे । उनले डब्लुएचओ कार्यकारी बोर्डमा टोंगाको मनोनित सदस्यको रुपमा समेत सेवा गरेका थिए ।
सम्पर्क इमेल : [email protected]