‘मेडिकल जेनोमिक्स’ र ‘क्लिनिकल इन्फरमेसन’बारे सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण

काठमाडौँ, ५ माघ । बंशाणुगत समस्या हरेक जसो रोगमा देखिने समस्या हो तर यसबारेमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अहिले पनि राम्ररी ध्यान पुर्‍याउन सकेका छैनन् । यस तर्फ राम्ररी ध्यान दिन नसक्दा कहिलेकाँही समयमै सहि रोग पहिचान हुन नसक्ने र उपचारमा कठिनाई हुने गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको मेडिकल जेनेटिक्स युनिट सहयोगमा यहि विषयलाई केन्द्रीत गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आज देखि अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

‘ओरिन्टेशन ट्रेनिङ अन मेडिकल जेनोमिक्स एण्ड क्लिनिकल इन्फरमेसन,’ नाम दिइएको दुई दिने कार्यक्रम भोलिसम्म चल्नेछ ।

अभिमुखिकरण प्रशिक्षण कार्यक्रममा काठमाडाँै उपत्यकाका १५ बढी सरकारी अस्पतालका चिकित्सक, प्रयोगशालाकर्मी, नर्स र प्यारामेडिक्स गरी ३२ जना बढीले भाग लिएका छन् ।

‘मेडिकल जेनोमिक्सले हरेक रोगमा प्रभाव पार्छ । तर यसबारेमा तालीम प्रशिक्षणको अभावमा हाम्रा कतिपय चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले उपचारका लागि आउने बिरामीलाई त्यस्तो प्रभाव परेको छ कि भनेर परीक्षण गराउने गर्नु हुन्न । यसले रोग पहिचान तथा उपचारमा नै समस्या बढाउँछ,’ प्रशिक्षणको संयोजक समेत रहेकी वीर अस्पताल मेडिकल जेनेटिक्स युनिटका प्रमुख डा. निलम ठाकुरले भनिन् । उनले आज वीर, पाटन, नेपाली सेना, नेपाल प्रहरी, प्रसूती, सिभिल, त्रिवि शिक्षण लगायत १५ वटा अस्पताल तथा स्वास्थ्य संस्थाबाट डाक्टर, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मीहरु प्रशिक्षणमा भाग लिएको बताईन् ।

डा. ठाकुरले बंशाणुगत रोगबारे त्यति ध्यान नपुगेको भन्दै यो कार्यक्रमले यस तर्फ थप ध्यान पुग्ने आशा जागेको बताईन् । यस्तो खालको कार्यक्रम हामीले पहिलो पटक आयोजना गरेका हौँ भन्दै यस कार्यक्रममा रोगहरुमा देखिने जेनेटिक्सको असर, जेनेटिक डिसअर्डर कसरी हुन्छ । यसको न्युनीकरणका लागि के के गर्नुपर्छ ? यसको नीति कस्तो बन्नु पर्छ भन्ने सम्मका छलफल हुने बताईन् ।

उनले कार्यक्रम सम्पन्न भएपछि यो कार्यक्रमको निस्कर्ष परिषद् न्याम्सलाई बुझाउने र संयुक्त रुपमा मन्त्रालयमा हस्तान्तरण गर्ने बताईन् ।

यसैबीच कार्यक्रमको उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले मेडिकल जेनेटिक्सको बारेमा गरिएको छलफल अति नै महत्वपूर्ण रहेको भन्दै यसबाट आउने निस्कर्ष पछि मन्त्रालयले यस विषयमा थप नीतिगत निर्णय गर्न सक्ने बताए ।

न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले वीरले पछिल्लो समय युनिट स्थापना गरी रोग पहिचान तथा उपचारमा सहज गरेको भन्दै यस्तो सेवा अन्यत्रका अस्पतालमा पनि हुनु पर्ने बताए । उनले अहिले भइरहेको संरचनालाई थप परिस्कृत गरेर यसलाई विस्तार गर्ने बताए ।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले मेडिकल जेनेटिक्सका बारेमा अनुसन्धान आवश्यक रहेको भन्दै यसमा आफूहरुको सहयोग निरन्तर हुने बताए । ‘बंशाणुगत रोगहरु किन बढी रहेको छ ? यसको न्युनिकरणका लागि के गर्न सकिन्छ ? आदि विषयमा केन्द्रीत रहेर अनुसन्धान गर्न सकिन्छ,’ उनले भने ।

कार्यक्रममा नेपाल मेडिकल एसोशिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सरकारले जेनेटिक्स समस्याको बारेमा थप ध्यान दिनु पर्ने भन्दै यसका लागि आफूहरुले दवाव बढाउने बताए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले उपचार सेवालाई थप प्रभावकारी बनाउनका लागि मेडिकल जेनेटिक्स र क्लिनिकल इन्फरमेसन महत्वपूर्ण साधन हो भन्दै यसलाई थप परिस्कृत गर्दै लैजानु पर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *