‘अब हरेकको व्यक्तिगत स्वास्थ्य कुण्डली बनाउनु जरुरी छ’
डा. नरेश त्रेहान भारतको दिल्लीस्थित मेदान्ता अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक संगै चर्चित मुटु शल्यचिकित्सक पनि हुन् । हिजो देखि सुरु भएको तीन दिने ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट -२०२४’ मा भाग लिन उनी काठमाडौँ आएका थिए । सोही अवसरमा उनीसंग गरिएको छोटो कुराकानीको अंश:
मेदान्ता अस्पतालमा उपचारका लागि नेपालीहरु कत्तिको जाने गर्दछन ?
स्वास्थ्य उपचारका लागि भारतमा धेरै नेपालीहरु जाने गर्नुहुन्छ । उपचारका लागि धेरै जाने मध्येको एउटा अस्पताल गुरुग्राममा रहेको मेदान्ता पनि हो । त्यहाँ महिनामा औषत रुपमा ३ सय जति नेपाली बिरामी उपचारका लागि जानु हुन्छ । जसमा ७०-७५ जना मुटुरोगसंग सम्वन्धित बिरामी पर्नु हुन्छ ।
खास गरी कस्ता कस्ता बिरामीहरु पुग्नुहुन्छ ?
भारतमा उपचार गर्न जाने भनेपछि शल्यक्रियाकै लागि हो भन्ने पनि कतिपयको बुझाई रहेको पाइन्छ, त्यस्तो होईन । कोही जनरल चेकअप, फलोअपका लागि पनि जानुहुन्छ । कोहीले शल्यक्रिया पनि गराउनु हुन्छ । मुटुको कुरा गर्दा एन्जीयोप्लास्टी तथा सर्जरीका लागि जानुहुन्छ ।
मुटु उपचारका लागि मेदान्तामा कस्तो प्रविधि रहेको छ ?
उपचार गर्ने पद्धती जहाँको पनि उस्तै हो । यदि तपाईँले मेदान्तामा मुटु उपचारको कुरा गर्नुहुन्छ भने नयाँ नयाँ प्रविधिको सहायतामा हामीले उपचार गर्ने गर्दछौँ । जस्तै मुटुमा धेरै क्षति भएको छैन भने लेजर तथा सक एन्जीयोप्लास्टी गर्न सकिन्छ । यदि एन्जीओप्लास्टीबाट उपचार गर्न सकिएन भने बाइपास सर्जरी गरिन्छ । त्यसमा मिनिमल इन्भेजिव तथा रोबाटिक सर्जरी गरिन्छ । अर्थात मेदान्तामा मुटुका सबै प्रकारको समस्याहरुको सबै प्रकारले उपचार गर्न सकिन्छ । भास्कुलर सर्जरीमा पनि नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जस्तै
शल्यक्रिया विना नै मुटुको भल्भ फेरिने ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट गरिने उपचारमा पनि मेदान्ता अहिले चर्चित छ ।
रोबर्टिक सर्जरी कहिले देखि सुरु गर्नु भएको हो ?
हामीले सन् २००० देखि नै रोबटिक्स सर्जरी थालेका हौँ । अहिले मिर्गौला, कलेजो, मुटु लगायतका सबै रोगको रोबटिक सर्जरी गर्ने गरेका छौँ ।
अहिले नसर्ने रोगको विगविगी छ, मुटुरोग पनि नसर्ने रोग मध्येको एक हो ? नसर्ने रोगबाट जोगिनका लागि के सल्लाह दिनुहुन्छ ?
अब सबै व्यक्तिलाई समग्रतामा यो खान नखाउ, त्यो नखाउ भनेर भन्ने पक्षमा म छैन । मैले हरेक व्यक्तिले आफ्नो भविस्यबारे थाहा पाउने भनेर बनाउने जन्मकुण्डली जस्तै हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र भविस्यको स्वास्थ्यबारे थाहा हुने स्वास्थ्यकुण्डली बनाउनु पर्छ भन्ने मान्यता राख्छु । त्यसमा जीन अर्थात बंशाणु र उसको जीवनशैली, खानपान, उसको अवस्था हेरेर कुण्डली बनाउने हो । त्यसले व्यक्तिको स्वास्थ्यको स्वरुप कस्तो छ भन्ने थाहा हुन्छ । त्यसपछि मात्रै व्यक्तिका लागि के आवश्यक छ र के अनावश्यक छ । के खान हुने के खान नहुने भन्न सजिलो हुन्छ ।किनभने एउटा व्यक्तिलाई आवश्यक हुने चिज अर्को व्यक्तिलाई अनावश्यक हुनसक्छ । त्यसैले हामीले व्यक्तिको स्वास्थ्य कुण्डली हेरेर उसको उपचार प्रक्रिया अघि बढाउँछौँ । सामुहिक रुपमा दिईने कतिपय सल्लाह होलान तर अब हरेक इन्डिभिजुअलको स्वास्थ्य कुण्डली हुनु पर्छ । व्यक्तिले आफ्नो स्वास्थ्यबारे जानकार हुनुपर्छ । डाक्टरलाई समस्या भन्नुपर्छ र पाएको सल्लाह अनुसार चल्नुपर्छ । स्वास्थ्य कुण्डली डाक्टरले हेर्न पायो भने उपचार नै गर्नु पनि सजिलो हुन्छ ।
सम्पर्क इमेल : [email protected]