बीपीका पदाधिकारीसंग स्वास्थ्य मन्त्री बस्नेतले गरे छलफल, निस्केन निस्कर्ष

थप छलफलका लागि मुख्य सचिव कहाँ जानुहोस् भन्दै पदाधिकारीलाई गरे 'रेफर'

काठमाडौँ, ३ माघ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशन पछि आज स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

तर, छलफल विना निस्कर्ष टुंगियो ।

मन्त्री बस्नेतले अन्तिममा पदाधिकारीहरुलाई मुख्यको सचिव डा बैकुण्ठ अर्याललाई भेटेर आफ्नो कुरा राख्नु भनेर पठाए ।

स्वास्थ्य मन्त्रीसंग छलफल गर्न कामु उपकुलपति प्राडा प्रल्हाद कार्की, रेक्टर प्राडा सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्य संग्रौला र अस्पताल डाइरेक्टर डा जगतनारायण प्रसाद मन्त्रालय पुगेका थिए ।

‘हामीले आफ्ना कुरा राख्यौँ, मन्त्री जीले केही उपाय बारे सुझाउनु भएको थियो तर त्यतिले मात्रै समस्या समाधान हुने थिएन । अन्तिमा मुख्य सचिवको समय मिलाएर भेट्नु भन्नु भयो । हामीले हस् भनेर बाहिर निस्केउँ । मुख्य सचिवसंग अब सायद भोली भेटघाट होला कि ?,’ छलफलमा सहभागी रेक्टर प्राडा शर्माले भने ।

लामो समय देखि कर्मचारीको बढुवाको विषय गिजोलिँदा अहिले प्रतिष्ठान आन्दोलमय भएको छ । सेवा फ्याकल्टी, कर्मचारी र विद्यार्थीहरु आन्दोलनमा छन् । सेवा प्रभावित भएको छ ।

आन्दोलनमा उठेका विषयका बारेमा पदाधिकारीहरुले एक अर्कालाई दोष दिएर पन्छि रहेका छन् । यसबीचमा धरानका मेयर हर्कराज राईले आन्दोलनबाट सिर्जित समस्यालाई समाधान नगरेको भन्दै कामु उपकुलपति डा कार्कीको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *