धनगढीमा सुर्तीजन्य पदार्थको बिक्री बितरणका लागि आज देखि छुट्टै नियम

कैलाली, १ माघ । धनगढी उप महानगरपालिकाले नगर क्षेत्र भित्र आज देखि सुर्तीजन्य पदार्थको बिक्री बितरण गर्न आज देखि छुट्टै नियम कार्यान्वयनमा ल्याएको छ ।

उपमहानगरले गत १७ पुसमा सार्वजनिक सूचना जारी गर्दै आज देखि नयाँ नियम लागू हुने बताएको थियो । नयाँ नियममा सुर्तीजन्य पदार्थको विक्री बितरण गर्न छुट्टै अनुमति लिनु पर्ने र खाद्य पदार्थ बिक्री गर्ने पसलमा यसलाई संगै राखेर बिक्री गर्न नपाउने व्यवस्था छ । अहिलेसम्म पसलेहरुले खाद्य पदार्थ रहने किराना पसलहरुबाटै सुर्तीजन्य पदार्थ विक्री गर्दै आइरहेका थिए ।

उपमहानगरले आजबाट पनि सोही क्रम जारी रहे कार्वाही हुने जनाएको छ ।

नसर्ने रोगको प्रमुख कारक मानिने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न उपमहानगरले आफ्नो स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र दफा ३० (२)लाई टेकेर यस्तो निर्णय लिएको बताएको छ ।

सो ऐनको दफा ३० (१)मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री बितरणको लागि उप महानगरपालिकामा छुट्टै अनुमति लिनु पर्ने र सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ भनि उल्लेख छ ।

उपमहानगरले आगामी १ माघ देखि चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, ककड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सुर्तीजन्य पदार्थको विक्री बितरणलाई रोक लगाएको स्पष्ट पारेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण बार्षिक २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ । यसलाई न्युनिकरण गर्न सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी ऐन २०६८ जारी गरेको छ । तर त्यसको राम्ररी कार्यान्वयन गर्न सकेको छैन । पछिल्लो समय प्रदेश तथा स्थानीय पालिकाहरुले आफ्नै नियम बनाएर यसलाई नियन्त्रण गर्ने कोशिष गरेका छन् । धनगढी उपमहानगरपालिका त्यसैको पछिल्लो उदाहरण हो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *