काठमाडौँको नागार्जुन नगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
स्वास्थ्य बीमा कार्यक्रम लागू हुन अब दुईवटा पालिका मात्रै बाँकी
काठमाडौँ, २९ पुस । आजबाट काठमाडौँको नागार्जुन नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । यो संगै देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू भएको पालिकाको संख्या ७५० पुगेको छ ।
अब स्वास्थ्य बीमा कार्यक्रम लागू हुन बाँकी पालिकाहरुमा काठमाडौँ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका रहेका छन् ।
नागार्जुनमा आयोजित स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र उपप्रमुख सुशीला अधिकारीलाई बीमा कार्ड प्रदान गरी पालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका थिए । अबको तीन महिना पछि वीमामा आवद्ध हुने त्यहाँका स्थानीयले उपचार सुविधा लिन सक्छन् ।
अध्यक्ष डा लोहनीले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगेपनि अझ दुई पालिकामा बाँकी रहेको भन्दै यसै आर्थिक बर्ष भित्र ती पालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने बताए ।
विसं २०७२ साल देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपनि यसमा आवद्धता हुने प्रतिशत २५ प्रतिशतको हाराहारिमा छ । बोर्डको नयाँ नेतृत्वले आगामी तीन महिना भित्र थप २५ प्रतिशत आवद्धता बढाउने महत्वकाक्षी निर्णय अघि सारेको छ ।
त्यसो त १ माघ (भोलि) देखि स्वास्थ्य बीमा कार्यक्रममा को पेमेन्ट प्रणाली समेत लागू हुँदैछ । सो अनुसार अब ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका व्यक्तिहरुले १ लाख रुपैयाँ सम्मको उपचार सुविधा लिदाँ १० प्रतिशत रकम आफैले तिर्नुपर्ने हुन्छ ।
सम्पर्क इमेल : [email protected]