वीरमा स्तन क्यान्सर स्क्रिनिङ गर्ने डीबीटी मेसिनको उद्घाटन
डब्लुएचओद्धारा न्याम्सलाई १० हजार डलरको पाठ्य सामग्री हस्तान्तरण
काठमाडौँ, २७ पुस । त्यसो त वीर अस्पतालमा स्तन क्यान्सर स्क्रिनिङका लागि केही साता अघि जडान गरिएको मेसिन डिजिटल ब्रेस्ट टोमोसेन्थेसिस (डीबीटी) सञ्चालनमा आएको १० दिन नाघी सकेको छ तर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आज औपचारिक रुपमा सो मेसिनको उद्घाटन गरेका छन् ।
उनकै उपस्थितिमा आजै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पुस्तकालयका लागि १० हजार डलरको पाठ्यपुस्तक समेत हस्तान्तरण गरेको छ ।
एकेडेमिक कार्यक्रमलाई सहयोग पुगोस भनेर सो पुस्तक हस्तान्तरण गरेको डब्लुएचओले जनाएको छ ।
मन्त्री बस्नेतकै उपस्थितिमा डब्लुएचओ नेपालका प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले न्याम्सका डीन प्राडा अशेष ढुंगानालाई सो पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तक न्याम्सको पुस्तकालयमा रहने छ ।
त्यसअघि बोल्दै डब्लुएचओ नेपालका प्रमुख डा पाण्डबले न्याम्सको एकेडेमिक पक्षमा थप सहयोग होस् भनेर न्याम्सको माग अनुसार नै पुस्तक सहयोग गरेको बताए । उनले न्याम्सको एकेडेमिक कार्यक्रम तथा प्रशिक्षणका लागि यसअघि पनि सहयोग गर्दै आएको उल्लेख गरे ।
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले पनि डब्लुएचओको पछिल्लो सहयोगले न्याम्सको एकेडेमिक क्षेत्रलाई महत्वपूर्ण सहयोग हुने बताए । उनले त्यसअघि सिम्बुलेसन ल्याव, डिजिटल पुस्तकालय स्थापना तथा सञ्चालनका लागि सहयोग गर्दै आएको भन्दै यसले न्याम्सको शैक्षिक कार्यक्रमलाई थप सहयोग हुने बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले आज वीरमा उद्घाटन गरेको मेसिन कस्तो हो ?
स्वास्थ्य मन्त्री बस्नेतले आज उद्घाटन गरेको मेसिन स्तन क्यान्सर स्क्रिनिङका लागि अत्याधुनिक मानिन्छ । यो मेसिन डिजिटल ब्रेस्ट टोमोसेन्थेसिस (डीबीटी) भनिन्छ । म्यामोग्राफी गर्नका लागि ल्याइएको यो थ्रिडि मेसिनले सामान्य त ४० बर्ष माथिका महिलाहरुको स्तन जाँच गरिन्छ ।
‘विशेषज्ञ चिकित्सकहरुले जाँच पछि केही लक्षण देखेमा म्यामोग्राफी गर्नु पर्ने हुन्छ वा आफू ढुक्क हुनका लागि ४० बर्ष पछि यो बर्षमा एक पटक गरे पनि हुन्छ । त्यसका लागि हामीले डीबीटी सञ्चालनमा ल्याएका छौँ । यसले स्तनको अवस्था त थाहा दिन्छ नै लक्षण भएकाहरुको सजिलोसंग बायोप्सी समेत गर्न मिल्छ,’ वीरका निर्देशक डा. सन्तोष पौडेलले भने ।
न्याम्सका उपकुलपति प्राडा बस्नेतले स्तन क्यान्सर स्क्रिनिङका लागि वीरमा आएको यो अत्याधुनिक र नविनतम मेसिन भएको भन्दै यसबाट आम सर्वसाधारण महिलाहरुको लागि परीक्षणका लागि ठूलो राहत पुग्ने बताए । उनले यसअघि पाठेघरको मुखको क्यान्सर जाँचका लागि कोल्पोस्कोपी मेसिन सञ्चालनमा ल्याएको, केही समय अघि टोमोथेरापी मेसिन समेत ल्याएको उल्लेख गर्दै अत्याधुनिक उपकरण सहित दक्ष विशेषज्ञले गुणस्तरीय सेवा लक्ष्यका साथ आफूहरु अघि बढेको बताए ।
वीरले यो मेसिनबाट म्यामोग्राफी गर्नका लागि दुई हजार रुपैयाँ शुल्क तोकेको छ । बायोप्सी गर्नु परेमा थप शुल्क लाग्ने बताइएको छ ।
सो अवसरमा बोल्दै मन्त्री बस्नेतले म्यामोग्राफी गर्ने मेसिन उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीरमा थपिएको यो अत्याधुनिक मेसिनले अस्पतालकै ईज्यत बढ्ने बताए ।
उनले वीरमा क्यान्सरको मात्रै नभई सम्भव भएमा सबै रोगको निदान गर्ने तथा उपचार गर्ने मेसिनहरु भित्र्याउनु पर्ने पक्षमा आफू रहेको बताए । उनले चाँडै नै मुटुरोग सम्वन्धी उपकरणहरु पनि थपिने बताए ।
सम्पर्क इमेल : [email protected]