अदालत पुगेको चिकित्सा शिक्षा आयोगको निर्देशक नाम छनौट सम्बन्धि विवाद लम्बिदै, अर्को साधारण तारेख ६ फागुनमा

काठमाडौँ, २५ पुस । चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट प्रक्रिया थप लम्बिने देखिएको छ । निर्देशक छनौट प्रक्रिया विरुद्ध एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि लम्बिएको यो प्रक्रियाले झट्टै निकास पाउने देखिएको छैन ।

निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिलाई उच्च  अदालतले २१ मंसिरमै काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो । त्यस पछि यो मुद्धाको विषयमा वादी प्रतिवादीका लागि पहिलो पटक २३ पुसमा साधारण तारेख तोकिएको थियो भने अब ६ फागुनमा दोस्रो साधारण तारेख तोकिएको छ ।

त्यसपछि पेशी तारेख तोकिन्छ कि साधारण तारेख भन्ने अहिल्यै भन्ने अवस्था छैन ।

कसरी सुरु भयो विवाद ? अदालमा कसरी प्रवेश गर्‍यो यो विषय ?

खासमा यो विषय चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक गरेको अल्पसूचीविरुद्ध एक जना आवेदक अदालत गएपछि सुरु भएको हो ।

आयोग अन्तरगर्तका तीनवटा निर्देशनालय र एउटा केन्द्रमा रिक्त रहेको चार जना निर्देशक पद गत ४ मंसिर देखि नै खाली छ ।

निर्देशक पदमा नाम सिफारिस गर्न गठित समितिले १९ मंसिर भित्र निर्देशकका लागि नाम सिफारिस गरि सक्ने भन्दै ५ मंसिर देखि काम थालेको थियो ।

समितिले काम थालेको पहिलो एक साता निर्देशक बन्नका लागि न्युनतम योग्यता तोकेर ईच्छुकहरुलाई आवेदनका लागि आव्हान गरेको थियो । तोकिएको एक साताको समय भित्र २० जनाको आवेदन परेको थियो ।

अनि विवाद सुरु भयो …..

समितिले आवेदन दिएका २० मध्येबाट अल्पसूची तयार गरिएको भन्दै १७ मंसिरमा समितिले १२ जनाको नाम प्रकाशित गरी १८ मंसिरमा अन्तर्वार्ताका लागि बोलाएको थियो । समितिको सो काम त्यहि दिनबाट विवादमा परेको हो ।

अल्पसूचीको १२ जनामा नपरेका मध्येका एक जनाले समितिको काम निपक्ष नभएको भन्दै उच्च अदालत पाटनमा १७ मंसिरमा रिट दायर गरेपछि यो विषय अदालतमा प्रवेश गरेको हो ।

उच्च अदालतले १८ मंसिरमा प्रारम्भिक सुनुवाई गर्दै समितिसंग कारण देखाउ जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दियो । तर २१ मंसिरमा समितिले चिठी नपाएको भन्दै अदालतमा सहभागी भएन । त्यसपछि अदालतले काम अघि नबढाउन समिति, आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

साधारण तारिख ६ फागुनका लागि तोकियो, पेशी कहिले हुन्छ टुंगो छैन

समितिलाई छनौट सम्वन्धी काम अघि नबढाउन २१ मंसिरमा अन्तरिम आदेश दिएको उच्च अदालतले यो विषयमा छलफल गर्न २३ पुसका लागि पेशी तोकिएको भनिएको थियो । तर, त्यो दिन पेशी तारेख होईन, साधारण तारेख रहेछ । आवेदक पक्षले पनि त्यो कुरा आफूहरुले पछि मात्रै थाहा पाएको बताएका छन् ।

‘पेशी होला भनेका थियौँ । त्यो त साधारण तारिख रहेछ, हाजिर भएर आयौँ केही भएन,’ ती आवेदकले भने ।

उनका अनुसार अदालतले अब ६ फागुनका लागि साधारणा तारेख तोक्दै सो दिन अदालतमा हाजिर हुन आउन भनेको छ ।

‘सो दिन हाजिर भएपछि पनि फेरी अर्को तारेख तोकिने हो कि पेशीको लागि मिति तोकिने हो टुंगो छैन,’ ती आवेदकले अगाडी थपे, ‘कता कताबाट आउनु पर्ने जवाफहरु नआएकोले यो प्रक्रिया लम्बिएको भन्ने छ ।’

आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । समितिको सदस्यहरुमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *