स्वास्थ्यमा थप ४५ हजार थप जनशक्ति आवश्यक, परिचालनका लागि २५ अर्व बढी रकम चाहिने

सहमति देला त अर्थ मन्त्रालयले ?

काठमाडौँ, २४ पुस । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको पछिल्ला भाषणहरुमा नछुट्ने एउटा शब्द छ ‘स्वास्थ्यको जनशक्ति ।’

अघिल्लो महिना गरेको एउटा पत्रकार सम्मेलन पछि उनले आफ्ना हरेक भाषणमा स्वास्थ्यका लागि ठूलो संख्यामा प्राविधिक जनशक्ति आवश्यक भएको र त्यसका लागि आफ्नै पालामा पदपूर्तिको कार्य सम्पन्न गर्ने ठोकुवा गर्दै आएका छन् ।

उनले भने जस्तै स्वास्थ्यमा ठूलो संख्यामा प्राविधिकहरु थपिए भने स्वास्थ्य क्षेत्रका लागि माइलस्टोन नै हुनेछ र उनको कार्यकाल पनि ऐतिहासिक बन्नेछ ।

तर, अहिले सम्म उनले गरेका यस्ता भाषणहरु गफ मै सिमित देखिएकोले पत्याईहाल्ने अवस्था भने देखिएको छैन ।

किनभने जनशक्ति थपिने कुरा अर्थसंग प्रत्यक्ष जोडिएको विषय हो । आर्थिक संकटको कारण देखाउँदै वीर अस्पतालको अक्सिजन र बिरामीले खाने खाजा र कोभिडका बेलामा कार्यरत कर्मचारीको तलव भत्ता समेत रोक्ने अर्थ मन्त्रालयले स्थायी रुपमा थपिने व्ययभारलाई सजिलै मान्ला भनेर सोच्नु समेत मुखर्ता जस्तै हुनेछ ।

मन्त्रालयको नीति योजना महाशाखाका अनुसार अहिले वडमा रहने आधारभूत केन्द्र सहित मन्त्रालय, विभाग अस्पताल तथा प्रतिष्ठानसमेतमा गरी कुल ४५ हजार १८१ जना थप जनशक्ति चाहिन्छ । ती जनशक्तिका लागि मात्रै थप २५ अर्व ५ करोड २६ लाख २ हजार रुपैयाँ आवश्यक हुने मन्त्रालयको हिसाव छ ।

स्वास्थ्यले तयार गरेको विवरण यस्तो छ ?
मन्त्रालयको नीति योजना महाशाखाका अनुसार अहिले वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्र ( ५,१०, १५ बेडका अस्पताल) सहित संघीय मन्त्रालय, विभाग अस्पताल तथा प्रतिष्ठानहरुका लागि जनशक्ति खाँचो छ ।

मन्त्रालयले संघीय अस्पताल, विभाग केन्द्रीय अस्पताल तथा प्रतिष्ठानका लागि थप ९ हजार ३७९ जना थप जनशक्ति आवश्यक भएको र त्यसका लागि ५ अर्व ९९ करोड २५ लाख ८१ हजार रुपैयाँ बजेट आवश्यक पर्ने बताएको छ ।

यस्तै ५, १०, १५ बेडका आधारभूत अस्पतालका लागि थप १७ हजार ४७० जनशक्ति र त्यसका लागि ८ अर्व ७८ करोड ६९ लाख ७२ हजार रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

यस्तै ५, १० १५ बेडकै आधारभूत अस्पतालमा हाल कार्यरत १ हजार ९३२ बाहेक गर्ने हो भने अरु थप १५ हजार ५३८ जना जनशक्ति आवश्यक छ । यसका लागि थप ७ अर्व ७० करोड ६३ लाख ३८ हजार रुपैयाँ चाहिन्छ । यस्तै २ हजार ६२६ वटा आधारभूत स्वास्थ्य केन्द्रका लागि १८ हजार ३३२ जना जनशक्ति आवश्यक छ । यसका लागि १० अर्व २२ करोड ५७ लाख ९ हजार रुपैयाँ आवश्यक भएको उल्लेख छ ।

महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले लामो समय देखि दरबन्दी बढाउन नसकिएको, आधारभूत तहका अस्पतालहरुको निर्माण सम्पन्न हुन थालेको अवस्थामा स्वास्थ्यमा ठूलो संख्यामा जनशक्ति आवश्यक भएको बताए । उनले यसका लागि स्वास्थ्यले योजनावद्ध रुपमा काम अघि बढाएको भन्दै सकारात्मक नतिजा आउनेमा आशावादी रहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *