हिमालय इन्टरनेशनल भास्कुलर समिट-२०२४ माघको पहिलो साता हुँदै

सम्मेलनमा ४० बढी देशका १२० बढी चिकित्सकहरुको प्रत्यक्ष सहभागिता हुने

काठमाडौँ, ११ पुस । माघ महिनाको सुरुवातमै नेपालमा अन्तर्राष्ट्रिय स्तरको भास्कुलर सम्मेलन हुँदैछ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा आगामी ४ देखि ६ माघसम्म काठमाडौँमा हुने सम्मेलनको नाम ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ दिईएको छ ।

सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एवं बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले तयारी अन्तिम चरणमा पुगेको बताए ।  उनले सम्मेलनमा ४० भन्दा बढी देशबाट भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु प्रत्यक्ष  र भर्च्युअल समेत गरी  १०० बढी देशका सहभागी हुने बताए ।

‘सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३५० बढी प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता हुने हाम्रो अनुमान छ । त्यसमा ४० बढी देशबाट १२० भन्दा बढी विज्ञ चिकित्सकको प्रत्यक्ष सहभागिता हुनेछ,’ उनले भने ।

डा.  पाण्डेले सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरुको सहभागिता हुने बताए ।

डा.  पाण्डेले नेपाल अहिलेसम्म यति बृहत अन्तराष्ट्रिय स्तरको सहभागिता भएको भास्कुलर सम्वन्धी सम्मेलन नभएको भन्दै यो सम्मेलन नेपालको मात्रै नभई दक्षिण एशियाकै हालसम्मको ठूलो भास्कुलर सम्मेलन हुने दावी गरे ।

‘हामीले पहिलो पटक यो सम्मेलन गर्न लागेका हौँ । तर यो सम्मेलन दक्षिण एसियामै ठूलो हुने भयो । यो सम्मेलनमा सहभागि हुनका लागि अहिलेसम्म ४० बढी देशका १२० बढी विज्ञ चिकित्सकहरुले काठमाडौँ आउने निश्चित गरिसक्नु भएको छ, यसले पनि यो सम्मेलन ठूलो हो । उनले भने ।

डा. पाण्डेले सम्मेलनमा भास्कुलरका बारेमा भएका नयाँ-नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा प्रस्तुतिकरण तथा छलफल हुने बताए । उनले यसबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रलाई विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने बताए ।

डा. पाण्डेले विश्वबाट ख्यातिप्राप्त व्यक्तिहरु सहभागी हुने यस सम्मेलनमा नेपालका ख्यातिप्राप्त डाक्टरहरुको सहभागिता हुने बताए ।

‘यो कार्यक्रममा वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष मात्रै होइन, भारत बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु पनि यो कार्यक्रममा प्रत्यक्ष सहभागी हुन काठमाडौँ आउने पक्का भइसकेको छ । यस्तै नेपालबाट पनि ख्यातिप्राप्त विज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ,’ उनले भने ।

उनले तीन दिने सम्मेलनमा भास्कुलर सम्वन्धी नविनतम ज्ञान, अनुसन्धानका साथै अनुभव आदान प्रदान, अन्तरक्रिया तथा कार्यशाला हुने बताए ।

‘नेपालमा ४० भन्दा बढी देशबाट विश्व चर्चित चिकित्सकहरुको सहभागिता हुने, संसारले हेर्ने यो सम्मेलन साच्चिकै ऐतिहाँसिक छ । यो सम्मेलनले नेपालको चिकित्सा क्षेत्रका लागि ठूलो योगदान त दिन्छ नै विश्वमाझ नेपाललाई अझ् गहिरो गरी चिनाउन मद्धत मिल्छ,’ डा. पाण्डेले भने ।

नेपाल आउनेहरु आफ्नै खर्चमा आउने भएकोले पनि आर्थिक रुपमा पनि नेपाललाई फाइदा हुने बताइएको छ ।

‘यो नेपाली चिकित्सक र यस क्षेत्रमा लाग्दै गरेका विद्यार्थीहरुका लागि पनि सुवर्ण मौका हुनसक्छ । यसैले नेपाली चिकित्सक, चिकित्सा क्षेत्रका विद्यार्थीहरुले सहभागिता जनाउनु उपयुक्त हुन्छ,’ डा. पाण्डेले भने, ‘इच्छुकहरुका लागि अहिले पनि रजिष्ट्रेशन खुल्ला राखेका छौँ ।’

तीन दिने सम्मेलनको पहिलो र दोस्रो दिन होटल हिमालय कुपन्डोलमा हुने छ । तेस्रो दिनको कार्यक्रम क्लव हिमालय नगरकोटमा हुने बताइएको छ ।

सम्मेलन व्यवस्थापनको जिम्मा लिएको इभेन्टिक नेपालका पेशल भट्टराईले यो सम्मेलनले नेपालमा मेडिकल टुरिजमका लागि ईट्टा थप्ने बताए । यो कार्यक्रमको व्यवस्थापनको जिम्मा पाएका छौँ ।

‘४० भन्दा बढी देशबाट १२० भन्दा बढी विदेशी विज्ञ डाक्टरहरुको उपस्थिति हुँदैछ । यो सम्मेलनले बास्तवमा नेपाल चिनाउने छ, नेपालको स्वास्थ्य सेवा, स्वास्थ्य क्षेत्र चिनाउने छ । हामी सबै र देशका लागि समेत यो गौरवको विषय हो,’ भट्टराईले भने ।

उनले सम्मेलनले विश्वका विभिन्न देशका चिकित्सकहरुले आफ्नो उपचार सेवाको अनुभव आदानप्रदान गर्ने, उपचार सेवामा भित्रिएको नयाँ नयाँ प्रविधिको विषयमा जानकारी लिने बताउँदै यसले नेपालको स्वास्थ्य उपचार क्षेत्रमा थप अघि बढ्नलाई प्रेरणा मिल्ने बताए ।

आयोजकले सम्मेलनमा नेपालका विद्यार्थी, फ्याकल्टी तथा डाक्टरहरुका लागि सहभागिताका लागि रजिष्ट्रेशन खुल्ला राखेको जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *