कान्तिलाई १००० बेडमा स्तरोन्नती गर्ने परियोजनाले भोलिबाटै गति लिनेछ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ, २२ पुस ।  स्वास्थ्य मन्त्री मोहन बस्नेतले कान्ति बाल अस्पताललाई १००० बेडको बाल चिकित्सा अध्ययन संस्थान बनाउने योजनालाई भोलिबाटै गति दिने बताएका छन् ।

अहिले ३५२ बेडमा सञ्चालित कान्तिलाई एक हजार बेडमा स्तरोन्नती गर्ने र यसलाई बाल चिकित्सा अध्ययन् संस्थानको रुपमा अघि बढाउने योजना अघिल्ला सरकारहरुले केही वर्ष अघि नै ल्याएका थिए ।

अस्पतालको ६२ औँ बार्षिकोत्सव समारोहलाई आज सम्वोधन गर्न पुगेका मन्त्री बस्नेतले १००० बेडको डीपीआर बनिसकेको अवस्थामा अब काम ढिला गर्न नहुने भन्दै भोलि नै आफ्नो मन्त्रालयमा शहरी विकास मन्त्रालय, भवन विभागका अधिकारीहरुलाई छलफलका लागि बोलाएको बताए ।

उनले यो परियोजना अघि बढाउन सरकारसंगै अन्तराष्ट्रिय दातृ निकायहरुको समेत सहयोग हुने बताए ।

उनले केही देशहरुले नेपालमा बाल क्यान्सरको उपचारका लागि छुट्टै अस्पताल बनाउन सहयोग गर्ने भन्दै आएका छन् ।

‘रसियालाई पोखरा र धनगढीमा बनाई दिउ भनेको छु । कतारले पनि यस्तै कुरा गर्दैछ । तर अब यस्ता सहयोगीहरुलाई नेपालकै इतिहास बोकेको पुरानो अस्पताल कान्ति बाल अस्पतालको महत्वकाक्षी परियोजनालाई सघाउ भन्नेछु,’ उनले भने ।

उनले अन्यत्र बाल अस्पताल बनेपनि त्यसको नेतृत्व कान्ति बाल अस्पतालले गर्ने ठोकुवा गरे । करीव ९ अर्व लागतको यो परियोजनाको अहिलेसम्म डीपीआर तयार भएपनि अरु काम अघि बढ्न सकेको छैन ।

एमआरआई र सीटीस्क्यान मेसिनको उद्घाटन
बार्षिकोत्सवकै अवसरमा मन्त्री बस्नेतले १२८ स्लाइस सीसीको सिटिस्क्यान मेसिन र १.५ टेस्लाको एमआरआई मेसिनको समेत उद्घाटन गरे । जापानी सहयोग नियोग जाइकाको सहयोगमा उपलव्ध यी मेसिनमध्ये सीटीस्क्यान दूईले दुई साता अघि देखि नै सेवा दिदैै आएको छ ।

एमआरआई मेसिन भने सेवा सुरु हुनै छ ।

‘एमआरआईका लागि केही अत्यावश्यक पाटपूर्जाहरु आई नसकेकोले आज उद्घाटन भए पनि सेवा सूरु गर्न समय लाग्छ,’ एक जना चिकित्सकले भने ।

एक वर्षको अवधीमा करीव २ लाख बालबालिकाले लिए उपचार सेवा

यसैबीच कान्ति बाल अस्पतालबाट पछिल्लो एक वर्षमा एक लाख ९९ हजार २५६ जनाले सेवा लिएका छन् । बार्षिकोत्सव समारोहमा आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा निर्देशक डा. पंकज रायले सो जानकारी दिएका हुन् ।

उनका अनुसार यो अवधीमा एक लाख ४६ हजार २४९ जनाले बहिरंग सेवा र ५३ हजार ७ जनाले आकस्मिक सेवा लिएका थिए ।

त्यसैगरी, एक वर्षमा ९ हजार ५३३ जना भर्ना भएर उपचार सेवा लिएका हुन् । उनीहरुले जम्मा ७१ हजार २०७ दिन अस्पताल बसाइँ रहेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

यस्तै अस्पतालमा उपचारमा आएका मध्ये एक वर्षको अवधीमा १८५ जना बालबालिका उपचारकै क्रममा ज्यान गएको छ ।

अस्पतालले आर्थिक वर्ष २०७९ ८० मा दुई हजार ८४२ जनाको शल्यक्रिया भएको र त्यसमध्ये ७२४ जनाको गम्भीर किसिम, ८१९ जनाको मध्यम खालको र ९३९ जनाको सामान्य शल्यक्रिया भएको उल्लेख छ ।

कुल ३५२ शैय्या संचालनमा रहेकोमा एक वर्षमा ७२ प्रतिशत शैय्या बिरामीले प्रयोग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *