डा. विशद निलम्बन प्रकरण : केयु र केएमसीबीच दुरी बढ्दै
केयुले हस्तक्षेपकारी पत्र पठाएको हो भने डस्टविनमा फालिन्छ : प्राडा रतिन्द्रनाथ श्रेष्ठ, प्रिन्सिपल केएमसी
काठमाडौँ, १७ पुस । डा. विशद दाहाल निलम्बन प्रकरणले काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन (केयु) र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) बीच दुरी बढेको छ ।
केएमसीले डा. दाहाल माथि रेसिडेन्ट डाक्टरले पालना गर्नु पर्ने कर्तव्य र अनुशासनको उल्लंघन गरेको ठहर गर्दै १२ पुस देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी एक महिनासम्मका लागि निलम्बन गरेको थियो । केएमसीको सो निर्णयविरुद्ध डा. दाहाल केयु गुहार्न पुगेका थिए ।
केयुले पनि प्रारम्भिक रुपमा डा. दाहालको पक्षमा निर्णय तत्कालका लागि स्थगन गर्न र केही प्रश्नहरुको जवाफ तीन दिन भित्र पठाउन केएमसीलाई पत्र काटेको छ ।
मंगलबार सोही पत्र बोकेर केएमसी पुगेका विद्यार्थी डा. दाहाल भने गेटमै रोकिए ।
केएमसी प्रशासनले निलम्बन प्रक्रिया फिर्ता नभएको भन्दै छिर्न नदिएको बताएको छ ।
पत्र पठाउँदा पनि निलम्बन प्रक्रिया फिर्ता नगरेको र विद्यार्थी छिर्न नदिएको खबर पाएको केयुले यहि अवस्था रहेमा थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
केयु स्कुल अफ मेडिसिनका डीन प्राडा मनोज हुमागाईँले डा विशद दाहाल प्रकरणका विषयमा बुझ्ने काम भइरहेको भए पनि तत्कालका लागि निलम्बन प्रक्रिया फिर्ता लिन निर्देशन दिएको बताए । उनले केएमसीसंग डा दाहालको निलम्बनको विषयमा केही विषयमा जवाफ माग गरिएको बताए ।
यता केएमसीका प्रिन्सिपल प्राडा रतिन्द्रनाथ श्रेष्ठले रेजिडेन्टको क्रियाकलापको आधारमा कार्वाही गर्न कलेज स्वतन्त्र रहेको भन्दै यसमा केयुको पत्रको अर्थ नहुने बताए ।
केयुले हस्तक्षेपकारी पत्र पठाएको हो भने डस्टविनमा फालिन्छ : प्राडा रतिन्द्रनाथ श्रेष्ठ प्रिन्सिपल केएमसी
केयुले डा. विशदको निलम्बन स्थगन गर्नु भन्ने पत्रको किन कार्यान्वयन नगर्नु भएको ?
– मैले त्यस्तो पत्र पाएको छैन ।
केयुले पठाइसकेको भन्छ त, फेरी डा. दाहाललाई पनि आज कलेज छिर्न दिनु भएन ?
– त्यसो भए आउँदै होला । मैले पाएको छैन् । अर्को कुरा डा. दाहालमाथि हामीले कार्वाही गरेको हौँ । अहिले उनी कार्वाहीमा परेका व्यक्ति हुन् त्यसैले छिर्न पाएनन् होला ।
केयुले पत्र पठाउँदा पनि यसो भनेर यसरी अटेरी गर्न मिल्छ र ?
अटेरीको कुरा भएन । कुरा यहाँ के बुझ्नु परयो भने काठमाडौँ मेडिकल कलेज भनेको केयुको आंगिक क्याम्पस होईन । सम्वन्धन प्राप्त क्याम्पस हो । हामीले चलाउने पीजी प्रोग्राम भनेको कामाडौँ मेडिकल कलेजको पीजीको गाइडलाइन र केएमसीको नीति नियम भित्र रहेर चलाउने हो । त्यसैले केएमसी व्यवस्थापनको आन्तरिक निर्णयलाई केयुले हस्तक्षेप गर्न मिल्दैन ।
तर, एकेडेमिक कुरामा त केयुले हस्तक्षेप गर्न मिल्छ नि मिल्दैन र ?
मैले फेरी पनि प्रष्ट पार्न चाहें कि हामीले ती विद्यार्थी माथि डिसिप्लिनरी एक्सन लिएको हो । विद्यार्थीले अटेरी गरेपछि, नियम विपरित कार्य गरेपछिको कार्वाही हो । र यो केएमसीको यो आन्तरिक मामिला हो ।
यस्तो जल्लो बल्दो विषयमा तपाईँले पत्र हेरेको छैन विश्वास गर्लान त ?
केयुले यो विषयमा पत्र पठाएको भन्ने मैले सुनेको छु तर हेर्न पाएको छैन । र, मैले फेरी पनि के भन्छु भने यसमा केयुले अनावश्यक हस्तक्षेप गर्न मिल्दैन । यदि बाहिर सुनिए जस्तो गरी वा हस्तक्षेपकारी पत्र पठायो भने त्यो डस्टविनमा फालिन्छ । बाहिर सुनिए जस्तै गरी केयुले पत्र पठाएको हो भने त्यो डस्टविनमा फ्याकिन्छ । केएमसी यो मामिलामा पछि हटदैन । कुरा स्पष्ट छ ।
डा. विशदको निलम्बन स्थगन गर्न पत्र पठाएका हौँ : प्राडा हुमागाईँ – डीन, स्कुल अफ मेडिसिन केयु
डा विदश दाहाललाई गरिएको निलम्बन फिर्ता लिन केयुले केएमसीलाई चिठी पठाएको हो ?
– हो । निलम्बन सम्वन्धी निर्णय हाललाई स्थगन गर्न भनेका हौँ ।
तर केएमसीले तपाईँहरुको पत्र कार्यान्वयन नगरेको जस्तो देखियो नि ?
– हाम्रो पत्रको कार्यान्वयन नगर्ने भन्ने हामीलाई आधिकारिक पत्र आएको छैन । गर्ला, गर्नुपर्छ ।
तर केएमसीका प्रिन्सिपलले यो रेजिडेन्टको डिसिप्लिनरी एक्सन हो र यसमा केयुले हस्तक्षेप गर्न मिल्दैन भनेका छन् नि ?
– त्यसो भन्न मिलेन । उहाँको नियुक्ति पनि त केयु डीन अफिसबाटै भएको हो । एकेडेमिक मेट्रोमा पनि त ह्याम्पर भयो नि त्यसो भन्ने हो भनि त । उहाँ डीन अफिसबाट नियुक्त भएको एकेडेमिक हेड हो । उहाँले डीन अफिसबाट भएको निर्देशन मान्दिन भन्न मिल्दैन ।
केएमसीलाई कस्तो पत्र पठाउनु भएको छ ?
यसमा हामीले के भनेका छौँ भने, क्याम्प सम्बन्धी विषयमा हामीले एउटा पोलिसी बनाउँछौँ, त्यो अनुसार चल्नु पर्छ । रेजिडेन्टलाई क्याम्पमा पठाउने नपठाउने विषय । पठाउने भए, कति पठाउने ? भन्ने कुरा ।
अहिलेको करिकुलममा क्याम्प सम्वन्धी विषयमा केही नबोलेको हुनाले त्यसलाई मिलाउँछौँ । दोस्रो कुरा, रेजिडेन्टलाई निलम्बन गर्दा लिखित स्पष्टीकरण सोधेको /नसोधेको विषयमा पनि जानकारी मागेका छौँ ।
उसको ‘प्रिसप्टर’ भन्ने हुन्छ । पोष्टग्राजुएट्समा हामीले गाईड ताकेको हुन्छ । गाईड नै सर्बेसर्वा हुन्छ उसको लागि । गाइडबाट निजलाई निलम्बनको सिफारिस प्राप्त भएको नभएको, अनि केएमसीमा कस्तो खाले एकेडेमिक क्यालेन्डर फलो भइराखेको, पीजीलाई केके काममा इन्भल्व गराएको के के मा नगराएको ? त्यसको जानकारी तीन दिन भित्र कलेजले दिनु पर्ने ? हाललाई उक्त निलम्बनलाई स्थगन गर्ने, त्यसपछि निलम्बन गर्न पर्ने नपर्ने भन्ने बारेमा अध्ययन गरी निर्णय लिने भन्ने उल्लेख गरी पत्र पठाएका छौँ ।
सम्पर्क इमेल : [email protected]