नेपाल मेडिकल काउन्सिलमा ७ सदस्य पद खाली, कहिले होला नियुक्ति ?
काठमाडौँ, ८ पुस । गत शुक्रबार थप तीन जना सदस्यले चार वर्षे कार्यकाल पुरा गरेसंगै नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्यको संख्या ७ पुगेको छ । गत शुक्रबार कार्यकाल पुरा गरी काउन्सिलबाट डा सुप्रभात श्रेष्ठ, डा प्रेनितकुमार पोखरेल र डा सन्ध्या चापागाईँ विदा भएका छन् ।
उनीहरुलाई ७ पुस २०७६ मा बसेको मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसबेला डा श्रेष्ठ र डा पोखरेल दन्त चिकित्सकहरु मध्येबाट मनोनित गर्ने दुई जना मध्येमा परेका थिए । यता डा चापागाईँ भने मेडिकल तर्फको चिकित्सकबाट मनोनित हुने तीन जनामध्ये की एक हुन् ।
त्यसो त काउन्सिलमा यसअघि नै तीन जना सदस्य पद खाली थियो । मेडिकल चिकित्सक समूहको तर्फबाट मनोनित चिकित्सक डा हरिहर वस्तीले २ बैशाखमा राजिनामा दिएका थिए । त्यसकै आस पासमा उपभोक्ताहरु मध्येबाट मनोनित भएका किशोर बिक्रम मल्लले पनि राजिनामा दिएका थिए ।
यस्तै संसदीय निर्वाचनमा उम्मेद्धार बन्ने निश्चित भएपछि गतवर्ष डा. तोसिमा कार्कीले पनि राजिनामा दिएकी थिईन् । उनी निर्वाचनबाट काउन्सिल सदस्य बनेकी थिईन् ।
अनि चिकित्साशास्त्र सम्वन्धी विषयमा अध्ययन् हुने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन वा शिक्षाध्यक्ष मध्येबाट नेपाल सरकारबाट मनोनित एक जना हुनु पर्नेमा त्यो पदमा समेत लामो समय देखि खाली रहेको छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन हुँदा प्राडा जगदीश अग्रवाल यो समूहबाट सदस्यमा मनोनित थिए । तर त्यसपछि सो पद खाली नै रहेको बताइएको छ ।
काउन्सिलले तीन साता अघि नयाँ अध्यक्ष पाएको छ । सरकारले प्राडा चोपलाल भुसाललाई नयाँ अध्यक्षमा मनोनित गरेको छ ।
काउन्सिलमा सरकारले मनोनित गर्ने अध्यक्ष, सदस्य र रजिष्ट्रार बाहेक एक जना उपाध्यक्ष र आठ जना सदस्य निर्वाचनबाट छनौट भई आउने व्यवस्था छ । यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष, नेपाल दन्त चिकित्सक संघका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।
#शीर्षक सच्याइएको – सं
सम्पर्क इमेल : [email protected]