तीन पार्टीका तीन नेताले प्रधानमन्त्री दाहाललाई भने, ‘सरकार डा. केसीसंग डराउँदा नेपालको मेडिकल एजुकेशन बिग्रियो’
काठमाडौँ, ८ पुस । डा. गोविन्द केसीको अनसनबाट विगतका सरकार डराउँदा नेपालको चिकित्सा शिक्षा ‘डामाडोल’ भएको भन्दै प्रमुख तीन पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नडराई अघि बढ्न सुझाव दिएका छन् ।
उनीहरुले चिकित्सा शिक्षा ऐनलाई संसोधन गरी चिकित्सा शास्त्र तर्फ अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि स्वदेशमै पढ्न सक्ने बातावरण मिलाउन समेत आग्रह गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाजको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनको उद्घाटनका लागि त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्ड समक्ष सोही कार्यक्रममा शुभकामना दिन पुगेका सरकारका मन्त्री तथा पार्टीका नेताहरुले डा. केसीसंग नडराएर अघि बढ्न सुझाव दिएका हुन् ।
कार्यक्रमको अध्यक्षता गरेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले झण्डै २५ मिनेट लामो भाषणमा डा केसीको नाम नलिईकन उनको कार्यको विरोध गरे ।
उनले भने, ‘चिकित्सा शिक्षा ऐन संसोधन गरेर गुणस्तरीयता र शुल्क निर्धारण गर्ने कुरा सरकारले दह्रो कार्यविधि बनाई अनुगमन गर्ने हो तर यसरी शिक्षा क्षेत्रलाई खुच्याएर राखेर मुलुक अघि बढ्न सक्दैन,’ उनले अगाडीे थपे, ‘एउटा व्यक्तिले सुत्छु भन्ने वित्तिकै सरकारको खुट्टा काम्ने ? त्यस्तो हुन सक्छ ? त्यसैले अब यस्तो चल्दैन । नेपाललाई मेडिकल हव बनाउने हो । त्यसका लागि प्रधानमन्त्री ज्यू पनि सकारात्मक हुनुहुन्छ । देशका लागि मात्रै होईन विदेशीहरुलाई पढ्न बोलाउने र सरकारले स्वदेश सहित नेपाली दक्ष स्वास्थ्यकर्मी विदेश पठाउने सम्मको योजना बनाउनु पर्छ ।’
उनले आफूलाई दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विभिन्न देशबाट चिकित्सा शिक्षा पढ्ने बातावरण नेपालमा बनाइदिन आग्रह गरेको समेत सुनाए । ‘हामीले मेडिकल हब बनाउन सक्छौँ । विदेशी डलर भित्र्याउन पनि सक्छौँ । यसबारेमा प्रधानमन्त्री ज्यूलाई मैले भनिसकेको छु र उहाँले आवश्यक संसोधनका लागि अघि बढ्न निर्देशन समेत दिईसक्नु भएको छ । अब ऐन संसोधन हुन्छ,’ मन्त्री बस्नेतले भने ।
त्यस अघि उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद राजेन्द्र पाण्डेले पनि बोलेका थिए । उनले पनि डा. केसीसंग सरकार डराउँदा चिकित्सा शिक्षा अस्तव्यस्त बनेको आरोप लगाए ।
उनले भने, ‘सरकार एउटा व्यक्तिको अनसनसंग डराउँछ । फलानो अनसन बस्छ होला भनेर आफूले बनाएको नीति नियम कार्यान्वयन गर्न डराउँछ । यसरी चल्छ राज्य ?’
थप के भने सांसद पाण्डेले ?
स्वास्थ्य क्षेत्रको प्राविधिक जनशक्ति उत्पादन सबैभन्दा महत्वपूर्ण कुरा हो भन्दै अहिले प्राविधिक जनशक्ति उत्पादन गर्न केही केही बाधा परेको बताए । उनले भने, ‘यहाँहरुलाई थाहा नै होला यो वर्ष हाम्रो चिकित्सा शिक्षा ऐनलाई निहुँ बनाएर ७३ वटा नर्सिग कलेज बन्द भएका छन् । ३२०० बढी नर्सिङ पढ्ने विद्यार्थीहरु विदेशीन बाध्य छन् । केही दिन अघि मैले पाएको तथ्यांकमा एक खर्व ४३ अर्व रुपैयाँ स्वास्थ्य क्षेत्रबाट यसै वर्ष विदेशिने वाला छ । अनि हाम्रो एक मन्त्रीले १० हजार मन्त्रीलाई बेलायत पठाउने भनेर सम्झौँता गर्नु भएको छ । अब केही वर्ष पछि नेपालमा पनि नर्सिङ सेवा लेवरहरुले गर्नु पर्ने बाध्यता आउँदै छ । पढाउने कुरा बन्द कलेज खोल्न बन्द र एक जना मान्छे अनसन बस्दै कलेज खोल्यो भने मुर्दावाद भनेर माग राख्ने मान्छे छन् ।’
प्रधानमन्त्रीले केही समय अघि संसदमा भन्नुभयो ‘म सुदुरपश्चिममा विश्वविद्यालय खोल्छु ।’ उहाँले बोलेको कुरा यो सरकारले गरेको निर्णय थियो । तर त्यस निर्णय विरुद्ध पनि उनै डाक्टर अनसन बस्न सुदूरपश्चिम पुगे । तर मैले सुने यसपटक स्थानीयले तोकिएको ठाउँमा बस्न दिएनन् लखेटे रे । अब हामीकहाँ समाजको प्रगतिको बाधकलाई अभियन्ता भन्ने, अभियन्ता भनेर लेख्ने अनि प्रचारबाजी गर्ने चलन छ । डाक्टरहरुकै समूहबाट गुरुजी कस्सीनुस भनेर उचाल्ने चलन पनि छ । मलाई लाग्छ यसले राष्ट्को प्रगति हुदैन । स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कुरामा अब सबैको ध्यान जान आवश्यक छ ।
त्यसअघि एमाले नेता महेश बस्नेतले बोलेका थिए । उनले पनि डा केसीको कार्यप्रति बिरोध गरे ।
एमाले नेता बस्नेतले डा. केसीको विरोधमा यसरी धारणा राखेका थिए
यहि देश हो जहाँ प्रत्येक वर्ष ३ हजार मिर्गौला फेल हुन्छ । तीन सय बढीको प्रत्यारोपण हुन सक्दैन । आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिएको छैन ।
अनि यहि देश हो जहाँ मेडिकल एजुकेशन दिन हुँदैन, यहाँ एमबीबीएस पढाउन हुँदैन, नर्सिङ कलेजहरु बनाउन हुँदैन भनेर अनसन बस्ने पनि यहि देश हो । त्यो अनसन बसेको व्यक्तिलाई समर्थन गर्दै विज्ञ र सेलिब्रेटी बन्ने अनि मिडियाबाजी गर्ने देश पनि यहि हो ।
मेडिकल एजुकेशनका दशौँ विसौँ अर्व विदेश पठाएर मिर्गौला प्रत्यारोपण लगायतका उपचारका नाममा विदेशमा धन राशी पठाएर रमाउने देश पनि यहि हो । यो विषयमा तथ्य सत्य छानवीन नगरी सेलिब्रेटी बन्ने नेताहरु भएको देश पनि यहि हो । यसले देश अगाडी बढ्न सक्दैन । अवस्था भयावह हुँदैछ ।
तीन पार्टीका तीन जना नेताको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले भने डा. केसीको विषयमा कुनै कुरा गरेनन् । उनले छोटो लिखित मन्तव्य प्रस्तुत गर्दै प्रत्यारोपणको क्षेत्रमा नेपालले गरेको प्रगतिका विषयमा खुशी व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]