मस्तिष्क मृत्युपछिको अंगदान सबैभन्दा ठूलो दान : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारलाई अंगदान गर्न आव्हान गरेका छन् ।
काठमाडौँमा आज आयोजित प्रथम प्रत्यारोपण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले मस्तिष्क मृत्युपछिको दान सबै भन्दा ठूलो दान हो भन्दै त्यो अवस्थाबाट मृत्यु भएको व्यक्तिको अंगहरु दान गर्ने व्यवस्था मिलाउन परिवारका सदस्यहरुलाई आग्रह गरेका हुन् ।
‘एउटा व्यक्तिको मस्तिष्क मृत्यु भयो भने त्यो व्यक्ति जिवित हुने सम्भावना हुँदैन तर त्यसका अंगहरु समयमै झिकेर बिरामीमा प्रत्यारोपण गर्न सकियो भने त्यसले अरु बिरामीलाई बचाउन सक्छ । एक जनाको शरीरबाट आठ वटा मुख्य मुख्य अंगहरु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गर्न सकिदो रहेछ । मैले पनि मस्तिष्क मृत्यु भयो भने अंगदान गर्ने घोषणा गरिसकेको छु,’ प्रधानमन्त्री दाहालले भने ।
उनले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलव्ध गराउने प्रतिवद्धता अघिल्लो पटक प्रधानमन्त्री रहेका बेला नै भएको भन्दै अब चाही यो निर्णयका लागि ढिलाई नहुने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले प्रत्यारापणको क्षेत्रमा केन्द्रले ठूलो काम गरेको भन्दै अझै केही धेरै काम गर्न बाँकी हरेको बताए । उनले हालको प्रत्यारोपण केन्द्र अत्यन्त साँघुरो स्थानमा भएको र टहरमा विरामीको उपचार गरि रहेको भन्दै तत्काल जग्गाको व्यवस्था मिलाइन लागिएको बताए ।
उनले नेपाललाई मेडिकल हब बनाउन तथा दक्ष जनशक्ति बिश्व बजारमा पठाउनका लागि पनि मेडिकल कलेज, नर्सिङ कलेज आवश्यक रहेको भन्दै चिकित्सा शिक्षा आयोगको ऐन परिवर्तन गरेरै भए पनि राज्यले यो विषयलाई गम्भीरताका साथ अघि बढाउने बताए ।
यस्तै पूर्व मन्त्री एवं सांसद राजेन्द्र पाण्डेले दक्ष जनशक्ति तयार गर्न चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाउनु पर्ने भन्दै सरकार व्यक्तिको अनसनसंग डराउन नहुने बताए । उनले मिर्गौला प्रत्यारोपणको क्षेत्रमा प्रत्यारोपण केन्द्रले ठूलो काम गरेको बताए ।
यस्तै नेकपा एमालेका नेता महेश बस्नेतले नेपालमा प्रत्यारोपणको क्षेत्रमा नेपालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तिब्र प्रगति गरेको भन्दै जनशक्तिको अभाव भौतिक पूर्वाधार कमीले गर्दा बिरामीले समयमा पाउन उपचार सेवा पाउन नसकेको बताए । उनले विगतमा राजनीतिक खिचातानीले अस्पतालका लागि जग्गा छुट्याउन नसकेको भन्दै अब ढिलाई गर्न नहुने बताए ।
कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले सन् २००८ तिर नेपाल जस्तो अल्पविकसित देशहरुमा मिर्गौला फेल भएका ९० प्रतिशत भन्दा बढी व्यक्तिको केही महिनामै निधन हुने गरेको तर आज केन्द्रमा भएको सेवाले प्रत्यारोपण गरेकाहरु ९८ प्रतिशत र डायलासिसमा रहेका ९५ प्रतिशत बढी बाच्ने गरेको बताए ।
उनले देशमा बार्षिक ३ हजार बढीको मिर्गौला फेल हुने गरे पनि देशमा बार्षिक ३०० जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको र त्यसमा २०० बढी प्रत्यारोपण केन्द्रमा हुने गरेको बताए ।
उनले सरकारकै स्वामित्वमा रहेको सूर्य विनाएको इटा भट्टाको जग्गा सबैभन्दा उपयोगी भएको भन्दै प्रत्यारोपण केन्द्रलाई १०० रोपनी उपलव्ध गराउन समेत आग्रह गरे ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना तथा अंग प्रत्यारोपण समाजको सह आयोजनामा भएको सम्मेलनमा नेपाली विज्ञहरुबाट ११ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट ९ वटा कार्यपत्रहरु प्रस्तुत भएको छ । सम्मेलनको नारा मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ ।
एक दिने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक समितिका अध्यक्ष डा कल्पना कुमारी श्रेष्ठले बताईन् ।
सम्पर्क इमेल : [email protected]