परिषद्का कर्मचारीले मागे सदस्य सचिव डा. ज्ञवालीको राजिनामा, दिए स्पष्टीकरण

पटक पटक ठक्कर खाएका मन्त्री बस्नेतले लेलान् त एक्सन् ?

काठमाडौँ, ६ पुस । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीको चार वर्षे कार्यकाल पुरा हुन ५० दिन पनि छैन, तर विहीबार १७ जना कर्मचारीले उनको राजिनामाको माग गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, सचिव डा रोशन पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले डा ज्ञवालीको राजिनामा दिनु पर्ने कारण भन्दै मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा दातृ निकायबाट प्राप्त बजेटका परियोजनामा पारदर्शिता नदेखिएको, नेपाल सरकारका कार्यक्रम समयमा सुरु नगरेको, यो आर्थिक वर्षको समेत हालसम्म कुनै कार्यक्रम सुरू नभएको उल्लेख छ ।

यस्तै नेपाल सरकारबाट प्राप्त स्वीकृत कार्यक्रम भन्दा धेरै बाहिरका कार्यक्रमहरूमा प्राथमिकता दिँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रगति नदेखिएको, नेपाल सरकारको वार्षिक कार्यक्रमहरू महिनौ वितिसक्दा समेत सञ्चालन गर्न नसकेको र कार्यालयलाई शून्य अवस्थामा राखेको र अनुसन्धान शाखालाई निष्कृय बनाएको जस्ता आरोप समेत लगाइएको छ ।

त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान कर्मचारी प्रसाशन विनियमावली २०७९ को विनियम ३३ को उप विनियम २ (१) बमोजिम विज्ञापन आह्वान गरी कर्मचारी नियुक्ति गर्नुपर्नेमा टिप्पणीको आधारमा करिव ६० जना कर्मचारीहरूलाई तीन महिनाका लागि नियुक्ति गरिएको समेत आरोप लगाइएको छ ।

आफू विदामा बसेको बखत आफ्नै कर्मचारीले मन्त्री र सचिव समक्ष आफूमाथि गम्भीर आरोप लगाउँदै ध्यानाकर्षण पत्र बुझाएको थाहा पाएपछि सदस्यसचिव डा ज्ञवालीले बिहीबार (आज) परिषद्का तर्फबाट दुई पेज लामो विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा कर्मचारीले लगाएका कतिपय आरोपलाई खण्डन गरेका छन् भने कतिपयमा स्पष्टीकरण दिने प्रयास गरेका छन् ।

उनले परिषदमा इथिकल रिभ्यु बोर्ड, अनुसन्धान शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा, क्षमता अभिबृद्धि शाखाका जिम्मेवारमा पदमा बसेका कर्मचारीहरुले संस्था बन्द गराउछु भन्ने जस्ता अभिव्यक्ति दिएको भन्दै आफ्नो उत्तरदायित्व सम्झन् समेत आग्रह गरेका छन् ।

उनले कार्यलय भित्र उत्पन्न समस्या बैधानिक ढंगले व्यवस्थापन समक्ष माग राखेमा परिषद् जहिले पनि बार्ता र सम्वाद गर्न प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।

यस्तो छ राजिनामा माग पत्र:

 

यतिवेला राजिनामा किन मागियो ?

सदस्य सचिवको राजिनामाका लागि कर्मचारीले अघि सारेका मागहरु सुविधा कटौतीका कुरा, परिषद्का कार्यक्रमहरुको पारदर्षिता, समयमा सुरु नभएको, अनुसन्धान शाखाहरुलाई निस्कृय बनाइएको जस्ता आरोप लगाइएको छ । तर भित्री कुरा भने राजनीतिक हो ।

स्वास्थ्य मन्त्री बस्नेतले अहिले फरक आस्था राख्ने कर्मचारीहरुलाई केही न केही आरोप, उजुरीका आधारमा पत्र काट्ने, निलम्बन गर्ने वा पदमुक्त गर्ने क्रमलाई तिब्रता दिएका छन् ।

कर्मचारीहरुले मन्त्री बस्नेतलाई परिषद्का सदस्य सचिव डा ज्ञवालीलाई पनि त्यसैगरी नै हुत्याउन उक्साएका हुन् ।

किनभने सदस्यसचिव डा ज्ञवाली एमाले सरकारका पालामा नियुक्त भएका हुन् । अहिले राजिनामा माग्ने कर्मचारीहरु अधिकांश सत्ताधारी पार्टी निकटका हुन् ।

‘हाम्रो पार्टीको सरकार छ, यो विपक्षीलाई कति राख्ने ? त्यसमाथी सुविधा कटौती भएको छ । अनि रिस उठ्दैन त । त्यसबाहेक मन्त्री बस्नेतले स साना निहु निकालेर फरक आस्थाका पदाधिकारीहरुलाई एक पछि अर्को गर्दै निकालेका छन् । त्यहि भएर अहिले कर्मचारीहरु हौसिएका हुन् । कतिपय कर्मचारीहरुले सदस्य सचिवको शैलीबाट समेत रुष्ट भएका छन् । तर काम पनि ठिकै गरेका छन्,’ परिषद्का गतिविधिलाई नजिकबाट निहाली रहेका स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

तर, उनले यतिनै बेला राजिनामा माग्नु जायज काम भने नभएको बताए । ‘दुई महिना पनि बाँकी छैन । अब त पुरा काम गर्न दिए पनि भै हाल्छ त । अहिले राजिनामा मागेर रमिता देखाउनु चाही परिषद्लाई गिजोल्ने झन् अस्वस्थ राजनीति हो,’ ती अधिकारीले भने ।

कर्मचारीको पक्ष लिएर एक्सन लेलान त मन्त्री बस्नेतले

मन्त्री बस्नेतलाई यसैगरी उकास्दा उनले गरेका राजनीतिक पूर्वाग्रहर्ण प्रेरित निर्णयहरु सर्बोच्चबाट धमाधम उल्टिएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल, स्वास्थ्य बीमा बोर्ड पछिल्ला उदाहरण हुन् । उनले गरेका अरु केही अस्पतालहरुका निर्णयमा पनि उनलाई व्याकफायर हुने सम्भावना बढी नै छ । यसले मन्त्री बस्नेतले गैरकानूनी काम गर्न रुचाउछन् भन्ने भास्य सिर्जना भएको छ ।

डा. ज्ञवालीलाई पनि यसैगरी उनले हटाए वा हटनका लागि दवाव दिए भने पनि उनको निर्णय विवादमुक्त हुने देखिदैन । ‘उनले लगातार ठक्कर खाइरहेका छन् । अब चाहि सोचेरै निर्णय लेलान कि ? तर त्यसरी सोच्ने हो कि होइन ? उनी आफू भन्दा जान्ने अरुलाई ठान्दैनन्, त्यसैले भनेको पनि मान्दैनन् र फेल खाइरहेका छन् । जसले आफ्नै विश्वसनीयतामा ह्रास ल्याएको छ । हेरौ दुई चार दिनमा कोर्ष कसरी अघि बढ्छ ?’ मन्त्रालयका अधिकारीले भने ।

यस्तो छ सदस्य सचिव डा ज्ञवालीले जारी गरेको विज्ञप्ती:

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *