बागमती प्रदेशद्धारा १० वटा अस्पतालको स्तरोन्नती
प्राविधिक सहित १ हजार ६६९ जना कर्मचारी थप्ने स्वास्थ्यको प्रस्ताव अघि बढ्यो
काठमाडौँ, ४ पुस । बागमती प्रदेश सरकारले आफ्नो मातहतका १० वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । मंगलबार (हिजो) बसेको प्रदेशमन्त्रिपरिषद्को बैठकले १० वटा प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
सोही बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा प्राविधिक सहित १ हजार ६६९ जना कर्मचारी थप्ने नयाँ संगठन संरचना समेत स्विकृत गर्ने निर्णय गरेको हो ।
बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका अनुसार बैठकले चारवटा अस्पताललाई ५० बेडमा, थप चार वटालाई १०० बेडमा र दुईवटालाई ३०० बेडमा स्तरोन्नती गरिएको छ ।
बिरामी चापका आधारमा उनीहरुको स्तरोन्नती गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कुन कुन अस्पतालको गरियो स्तरोन्नती ?
बैठकले मेथिनकोट अस्पताल काभ्रे, पशुपति चौलागाईँ अस्पताल दोलखा, रामेछाप अस्पताल रामेछाप र चौतारा अस्पताल सिन्धुपाल्चोकलाई ५० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
यस्तै धादिङ अस्पताल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल र बकुलर अस्पताल चितवनलाई १०० बेडमा स्तरोन्नती गरिएको छ ।
बाँकी रहेका दुई अस्पतालहरु हेटौँडा अस्पताल र भक्तपुर अस्पताललाई तीन सय बेडमा स्तरोन्नती गरिएको छ ।
सम्पर्क इमेल : [email protected]