चीनमा गएको भूकम्पमा परी १११ जनाको मृत्यु, १४० बढी घाइते
काठमाडौँ, ३ पुस । चीनको उत्तर पश्चिमी प्रान्त गान्सुमा सोमबार राति गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १११ जनाको मृत्यु भएको छ । सो भूकम्पमा परी १४० बढी घाइते भएको चिनिया सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार भूकम्पले गान्सु प्रान्तमा १०० जना र छिमेकी छिङ्गहाई प्रान्तमा ११ जनाको मृत्यु भएको हो ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बिहानै अधिकारीहरुलाई निर्देशन दिदै घाइतेको उपचार, पूर्वाधार मर्मत र प्रभावित बासिन्दाहरुलाई पुनर्वास लगायतका कार्यलाई तिब्रता दिन भनेका छन् ।
राति गएको भूकम्पको केन्द्रविन्दु झण्डै २ लाख ४० हजार जनसंख्या रहेको स्वायत्त जातीय अल्पसंख्यक जिशिशन काउन्टीमा रहेको बताइएको छ ।
भूकम्पका कारण उक्त क्षेत्रहरुमा घरहरु भत्किएका छन् भने उपयोगिताका पूर्वाधारमा क्षति पुगेका छन् ।
सडक सञ्चालनको अनुगमन गर्ने यातायात मन्त्रालयले भूकम्पका कारण यलो रिभरको पुल भाँचिएको जनाएको छ ।
चीनको माथिल्लो तहको स्वास्थ्य सेवा प्राधिकरण नेशनल हेल्थ कमिसनले सहायता प्रदान गर्न केन्द्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुलाई प्रभावित क्षेत्रमा पठाएको छ ।
यस्तै गान्सु प्रान्तका शीर्ष दुई अधिकारीहरु प्रान्तीय पार्टी सचिव हु चाङसेङ र गभर्नर रेन झेन्हे पनि मंगलबार विहानै प्रकोप क्षेत्रमा गइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]