सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्ने काठमाडौँ महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

 

काठमाडौँ, २९ मंसिर । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार श्रीराम टोबाको उद्योग समेतबाट दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।

इजलासले निवेदकहरुले रितपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व समेत नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ एवं काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकहरुको बिक्री वितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुने ठहर गरेको छ ।

‘यसमा सुविधा सन्तुलन निवेदकहरुको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौँ महानगरपालिकाद्वारा मिति २०८०÷०८÷१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न नगराउनु भनि विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।

काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ४ मा भएको व्यवस्था र काठमाडौँ महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अनुसार निर्णय लिएको बताएको थियो ।

महानगरले  महानगरभित्र गत बुधबार देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्न नपाईने निर्णय गरेको थियो । सार्वजनिक स्थानमा धूमपानलाई पनि पूर्ण रुपमा प्रतिवन्ध समेत लगाइएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *