काठमाडौँ महानगरभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाईने
सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए पसल नै बन्द गरिदिने, सार्वजनिक स्थल वरपर चुरोट सेवन गर्न नपाइने
काठमाडौँ, २७ मंसिर । काठमाडौँ महानगरपालिका भित्र बिहिबार (भोलि) देखि सुर्तीजन्य पदार्थ बेच विखन गर्न नपाइने भएको छ । महानगरले भोली देखि सार्वजनिक स्थल वरपरका समेत धूमपान गर्न नपाइने जनाएको छ ।
महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै २८ मंसिर देखि काठमाडौँ महानगरभित्र सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको बिक्री बितरण पूर्ण रुपमा निषेध गरिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तिजन्य पदार्थ प्रतिवन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।
जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमी तथा वातावरणीय असर न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको मानन्धरको भनाई थियो ।
‘भोलि देखि यो नियम पूर्ण रुपमा लागू हुन्छ, हाम्रा नगर प्रहरीहरु अनुगमनका लागि साधा पोशाकमा समेत खटिेनछन् । सो क्रममा नियमको उल्लंघन भएको पाइए कार्वाही हुनेछ,’ उनले भने । मानन्धरले नियमको अटेरी गर्दै पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाइए पसल नै बन्द गरिदिने चेतावनी दिए ।
उनले अनुगमनको लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको दरले नगर प्रहरीलाई खटाउने बताए । पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिने उनको भनाइ थियो ।
उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिवन्ध लगाएको बताए ।
उनले सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए एक सय रुपैयाँसम्म जरिवाना गरिने र प्रयोगकर्तालाई त्यस ठाउँबाट निकालिदिने जानकारी दिए ।
महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ तथा सुर्तीजन्य पदार्थ ९निरूपण र नियमन० ऐन २०६८ को दफा ११ अनुसार सो पहल गरेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]