कालोसूचीमा परेका ‘सप्लायर्स’ले धम्काउन थालेपछि….
काठमाडौँ । ‘अख्तियारमा त थाहा होला नि ? जागिर जोगाउन मन छ कि छैन ? स्वास्थ्यको सचिव कसले बनायो ? पहिलाको डिजी कसले फाल्यो ? फलानो कार्यालयको हाकिम कसले बनायो ? अनि हाम्रो कम्पनीलाई छनौट नगर्ने ?’ दुई साता अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय समिक्षा बैठकमा एक अस्पतालका प्रमुखले ‘टि – ब्रेक’मा सहकर्मीहरुसंग सप्लायर्सहरुले दिएको धम्कीबारे सहकर्मीहरुसंग दुखेसो पोखेका थिए ।
त्यस्तै धम्की तथा दवाव गतवर्ष आफूलाई आएको अर्को सहकर्मीले सुनाए ।
उनले यो पनि भने, ‘डेन्टर तथा ठेक्कापट्टामा कानून अनुसार सूचीकृत भएर प्रतिस्पर्धामा आए त के बिग्रन्थ्यो । तर नमिल्ने अवस्थामा रहेछन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विश्वासिलो रहेनछ । विश्व बैंकले कालो सूचीमा राखेको छ, यता सार्वजनिक खरीद अनुगमन कार्यालयले पनि यसअघि त्यस्तै कार्वाही गरेको थियो,’ ती कर्मचारीले अगाडी थपे, ‘तर दवाव र धम्की दिएरै काम गराउन कस्सिन्छन् ।’
‘कसले हो त त्यसरी धम्काउने ?’ ‘नेशनल बायोमेडिकल सप्लायर्स अनि त्यसका सञ्चालन नवराज बस्नेत। उनीसंगै पाटनर रहेका अर्का साथी छन् नारायण कार्की । बस्नेत र उनको कम्पनीलाई विश्व बैंकले अझै पनि कालो सूचीमा राखेको छ । सार्वजनिक खरीद अनुगमन कार्यालयले गतवर्ष सम्म कालो सूचीमै राखेको थियो,’ ती कर्मचारीले अगाडी थपे, ‘स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा बोलपत्रका लागि नक्कली कागजात (फेक डकुमेन्ट) पेश गर्ने । गुणस्तरहीन सामान सप्लाइ गर्ने गरेको पाइएपछि उनीहरुमाथि कार्वाही भएको हो । तर कार्वाही परेर सुध्रेलान भनेको झन् अनावश्यक रुपमा धम्की र दवाव दिने गर्न थाले साच्चिकै आतंकित बनाएका छन् उनीहरुले ।’
यस विषयमा उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
कि अड्काउने कि धम्काउने
‘कालोसूचीमा परेको फर्म आफैमा अयोग्य भइहाल्यो । तर उनीहरु स्वास्थ्यका खरीद प्रक्रियामा अहिले पनि अवान्चित रुपमा लागि रहेकै हुन्छन् । अख्तियारमा र सतर्कता केन्द्रमा उजुरी हाल्ने, त्यहाँका प्रमुखहरु आफ्ना हुन् भनेर डर सिर्जना गर्ने, सरुवा गरिदिने चेतावनी दिने काम गरि नै रहेका हुन्छन् । यसले त हामी कर्मचारीलाई रातदिन टर्चर भइरहयो । कति दिन सहने ? कसरी काम गर्ने ?,’ बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगर्तको कार्यालयका एक कर्मचारीले भने ।
‘बस्नेत र कार्कीको काम आफ्नो कामलाई सुधार गरेर होईन कर्मचारीहरुलाई थर्काएरै र डर धम्की देखाएरै ठेक्का पार्न सकिन्छ भन्ने मनसाय देखिन्छ । हाम्रा जिल्ला तथा प्रदेशका हरेक साथीहरु त्यहि भन्नुहुन्छ,’ संगै रहेका अर्का कर्मचारीले थपे ।
कालोसूचीमा कहिले देखि ?
विश्व बैंकले बस्नेत र उनी सञ्चालक रहेको नेशनल बायोमेडिकल प्रालिलाई सन् १० अप्रिल २०१८ देखि ०९ अप्रिल २०२४ सम्म खरीद नियम अनुसार कालोसूचीमा राखेको छ । त्यस्तै नेशनल बायोमेडिकल प्रालिलाई सन् २०१९ मे १७ देखि सन् २०२२ मे १६ सम्म सार्वजनिक खरीद अनुगमन कार्यालयले कालो सूचीमा राखेको थियो ।
स्वास्थ्य व्यवसायी संघका अध्यक्ष समेत रहेका बस्नेत र उनका साझेदार नवराज श्रेष्ठको नाममा दर्ता भएको जनमुक्ती हेल्थ इन्टरप्राइजेजबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडामा आर्थिक वर्ष ०७७/०७८ को ठेक्का नम्बर HLMC/G/SC-07/077-78 मा उत्पादन नै नभएको कम्पनीको कागज आफैं बनाई ठेक्का पारेका थिए। उक्त विषय पछि विवादमा आउनुका साथै उनीहरुको किर्ते कामका विषय कार्यालयले थाहा पाएपछि भुक्तानी समेत रोकेको थियो।
यसका साथै उनीहरुले स्वास्थ्य विभागबाट खरिद हेमोडायलाइसिस मेसिनमा पनि समस्या आएको थियो। भरतपुर अस्पतालको शल्यकक्ष सञ्चालनका लागि प्रयोग हुने सामान निर्मलीकरण गर्ने मेसिन सेकेन्ड ह्यान्ड सप्लाइ गरेका थिए। उक्त विषय अख्तियरमा पुगपछि हतारमा उनीहरुले उक्त मेसिन फिर्ता लिएर अर्को ल्याएका थिए।
यसैगरी, उनीहरुले स्वास्थ्य विभागको खरिदका क्रममा किर्ते काम गरेको चाल पाएपछि तत्कालिन विभागका महानिर्देशक डा गुणराज लोहनीले उनीहरुलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस समेत गरेका थिए।
सम्पर्क इमेल : [email protected]