स्वास्थ्य बीमा बोर्डले पायो १० महिना पछि अध्यक्ष

काठमाडौँ, २४ मंसिर । स्वास्थ्य बीमा बोर्डले आज ठ्याक्कै १० महिना पछि अध्यक्ष पाएको छ । गत १४ मंसिरको मन्त्रिपरिषद् बैठकबाट अध्यक्ष बनाएका डा गुणराज लोहनीले आज स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसंग सफथ लिएर पदवहाली गरेका छन् ।

बोर्डमा यसअघि अध्यक्ष रहेका डा सेनेन्द्रराज उप्रेतीले गत २४ माघमा पदबाट राजिनामा दिएका थिए । त्यस यता बोर्ड अध्यक्ष विहीन थियो ।

अध्यक्ष मात्रै होईन स्वास्थ्य बीमा बोर्ड पछिल्लो ढेड महिना देखि त सदस्य विहीन समेत थियो । पाँच जना सदस्यहरुले गत ३० असोजमा सामुहिक राजिनामा दिएपछि बोर्ड सदस्यविहीन थियो ।

तर, मन्त्री बस्नेतले मंसिरको पहिलो साता दुई जना सदस्य नियुक्त गर्दै सून्यताबाट जोगाएका थिए । मन्त्री बस्नेतले आजै नव नियुक्त सदस्यद्धय डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठलाई पनि सपथ खुवाएर जिम्मेवारी कार्यारम्भ गर्न निर्देशन दिएका छन् ।

विसं २०७२ साल देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भएको छ । तर अहिले पनि चार वटा पालिकामा सुरु हुन सकेको छैन् । कार्यक्रम देशव्यापी हुँदै गर्दा राजनीतिक हस्तक्षेप संगै नीतिगत तथा व्यवस्थापकीय कमजोरी छताछुल्ल भयो ।

स्वास्थ्य मन्त्री बस्नेतले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेका छन् । उनको ठाउँमा मन्त्रालयका सहसचिव डा मदन उपाध्यायलाई निमित्तको काम गर्न पठाएका छन् ।

निजी अस्पताल तथा मेडिकल कलेजलाई बीमा नदिने गत वर्ष देखिको सरकारी निर्णयले सेवा खुम्चिदो क्रममा छ भने मन्त्रालयले काजमा रहेका दर्ता अधिकारीलाई तानेपछि जिल्लामा डाटा इन्ट्रि गर्न नसकेर तोकिएको समयमा सेवा दिन सकिएको छैन् । उता सेवा प्रदायक अस्पतालहरुले लामो समय देखि सोध भर्ना पाउन नसकेको गुनासो दोहोरयाई रहेका छन् ।

यसबीचमा नियुक्त भएका नयाँ पदाधिकारीहरुले तमाम समस्यालाई सल्टाउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनु पर्ने बाध्यता रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *