नसर्ने रोग विरुद्धको बृहत कार्यशाला गोष्ठी: ‘हामी विना, हाम्रो लागि केही छैन’
नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयनमा कसरी गर्ने प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्नता ?
काठमाडौँ, १४ मंसिर । नेपाल सहित विश्वभर नै नसर्ने रोगको प्रकोप बढी रहेको छ । प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने दर समेत बढ्दै गएको छ ।
विश्वको तथ्यांक हेर्ने हो भने मुटु, क्यान्सर, मधुमेह, दीर्घ श्वासप्रश्वास जस्ता नसर्ने रोगबाट प्रतिवर्ष ४ करोड १० लाख मानिसको ज्यान जाने गरेको छ । त्यो मध्ये करीव ८५ प्रतिशत बढी मृत्युभार नेपाल जस्तै निम्न तथा मध्यम आय भएका देशहरुमा हुने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनकै पछिल्लो प्रतिवेदन हेर्ने हो भने नेपालमा पनि कुल मृत्युको ७१ प्रतिशत भार नसर्ने रोगबाट हुने गरेको छ ।
त्यसो त नसर्ने रोगबाट हुने मृत्युलाई रोक्न सकिने मृत्युको रुपमा हेरिने गरेको छ । तर, यसको बढ्दो दर र यसलाई रोक्नका लागि तत्काल कदम चाल्न सकिएन भने दीगो विकास लक्ष्यहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु हासिल गर्ने सरकारको प्रयासलाई समेत खतरामा पार्ने निश्चित छ ।
यसै सन्दर्भमा नेपाल एनसीडी एलायन्सको आयोजनामा बुधबार काठमाडौँमा ‘हामी विना, हाम्रो लागि केही छैन’ भन्ने मुख्य सन्देश सहित एक दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला सम्पन्न गर्न नेपाल क्यान्सर सर्भाइभर सोसाइटी, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)कोे सहकार्य तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोग थियो ।
नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयन सम्ममा यसबाट प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्नता ः अवरोधहरु र सहयोगीहरु विषयक सो गोष्ठीमा नसर्ने रोगबाट प्रभावित व्यक्ति, उनीहरुको परिवारका सदस्य, नसर्ने रोगसबाट प्रभावित व्यक्तिहरुको संस्था, नागरिक समाज, नीतिगत तहमा काम गर्ने उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोप न्युनिकरणका लागि नेपालमा थुप्रै कानून तथा नीतिहरु बनेका छन् । तर यस्ता कानूनहरुको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । किन हुन सकेन प्रभावकारी कार्यान्व्यन ? बुधबारको कार्याशालामा एलायन्सले नसर्ने रोगबाट प्रभावित व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई समेत राखेर यसको समीक्षा गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नीति निर्माताले बनाएका कानूनहरु हेर्दा र सुन्दा राम्रा भएपनि बनेका धेरै कानूनहरु राम्ररी कार्यान्वयन हुन नसकेको बताए । उनले एलायन्सले यसपटक सोही विषयलाई प्रभावित व्यक्तिहरु संग बसेर चुरो कुरा पत्ता लगाउने कोशिष गरेको जानकारी दिए ।
‘हाम्रो नारा नै नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयन सम्ममा यसबाट प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्नता : अवरोधहरु र सहयोगीहरु’ भनेर तय गरेका थियौँ, नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा. रेग्मीले भने । उनले नसर्ने रोगबाट प्रभावित व्यक्तिलाई राखेर नीतिगत तहमा के के कुरा सुधार गर्नु पर्ने हो ? के के आवश्यक छ ? आदि वारेमा सुझाव लिइएको बताए ।
कार्याशाला गोष्ठीको अध्यक्षता गरेका नेपाल एनडीडी एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोगलाई रोक्न सकिने रोगको उपमा दिदै पव्लिक प्राइभेट पार्टनरसीपको मोडलमा अघि बढाउनु पर्ने बताए । उनले नसर्ने रोगबाट प्रभावित व्यक्तिहरुको विचार तथा आवाजलाई सम्वोधन गरेर नीतिगत रुपमा पनि सुधार गर्न सकिने बताए । उनले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थको विज्ञापनमा रोक लागे जस्तै अब जंकफुडको विज्ञापनमा समेत रोक लगाउनु पर्ने बताए ।
‘कार्यशालाले नसर्ने रोगबाट प्रभावित व्यक्तिहरु, नीति निर्माताहरू र नागरिक समाजका प्रतिनिधिहरू, स्वास्थ्य सेवाका पेशाकर्मीहरु बीचका गतिशील संवादलाई सहज बनायो । यी संवादले नसर्ने रोगविरुद्धको लडाईका चुनौती र अवसरहरू बारे गहिरो समझदारी सिर्जना गर्न समेत सफल भयो,’ उनले भने ।
एनसीडी एलायन्सका उपाध्यक्ष समेत रहेका गोष्ठी आयोजक समितिका सचिव डा अभिनव वैद्यले अब नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयन सम्ममा यसबाट प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्ना आवश्यक रहेको भन्दै यसपटकको कार्याशाला सोही अनुसार सञ्चालन गरिएको बताए । उनले विभिन्न नसर्ने रोगबाट प्रभावित व्यक्तिहरुले दिएको सुझाव र बिचारले सरकारलाई नीति निर्माणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘ यो कार्यशालाले नसर्ने रोगबाट प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य तथा अन्य सेवाहरुको पहुँचका लागि आइपर्ने चुनौतीहरुको सामाना गर्ने क्षमतालाई जोड दिदै उनीहरूका व्यक्तिगत कथाहरू साटासाट गर्ने मञ्च प्रदान गरेको छ । यसले रोगहरु तथा रोगहरुबाट पीडित व्यक्तिहरुको भाबना बुझ्न एक शक्तिशाली आधार निर्माण गरेको छ,’ उनले भने ।
कार्यक्रममा कसले के भने ?
कार्याशालामा सहभागी हुन आएका स्वास्थ्य सचिव डा रोशन पोखरेलले नसर्ने रोगको बढ्दो प्रक्रोपलाई न्युनिकरण गर्न सबै व्यक्ति र पक्ष मिलेर अघि बढ्नु पर्ने बताए । उनले नेपालीहरुमा अहिले पनि सकेसम्म औषधि नखाए स्वस्थ व्यक्ति कहलिने एक खालको मानसिकता रहेको भन्दै यसले धेरै व्यक्तिको ज्यान गएको समेत बताए ।
‘डाक्टरले औषधि खानु पर्छ भने पनि हामी आफै जान्ने भएर औषधि खान मान्दैनौँ । नियमित खाँदैनौँ यसले अनाहकमा ज्यान गइरहेको छ । त्यसैले यसका लागि जनचेतना जगाउनु आवश्यक छ । व्यक्तिहरुलाई स्वस्थ खानपान तथा जीवन शैलीबारे बुझाउनु पर्ने आवश्यकता छ,’ उनले भने । डा पोखरेलले रोगबाट प्रभावित व्यक्तिहरुका कुरा सुनेपछि कहाँ निर ‘ग्याप’ रहेछ भन्ने बारेमा समेत थाहा पाउन सजिलो हुने भन्दै आजको कार्याशाला गोष्ठी महत्वपूर्ण भएको बताए ।
उनले स्वास्थ्यको बजेट थोरै भएको कारणले पनि धेरै कामहरु प्रभावकारी ढंगले अघि बढाउन नसकेको बताए । ‘कम्तीमा १० प्रतिशत हुनु पर्ने बजेट ४ प्रतिशत छ, कसरी हुन्छ काम ?,’ प्रतिप्रश्न गर्दै उनले भने ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहले अस्वस्थकर खानपान, निस्कृय जीवनशैली, बातावरणीय प्रभावका कारण नसर्ने रोगको प्रकोप बढेको बताए । उनले कार्याशालाले राज्यले आगामी दिनमा चाल्नु पर्ने कदम, नीतिगत रुपमा गर्नु पर्ने सुधारका लागि समेत सुझावहरु आएको बताए । ‘खासगरी रोग प्रभावित व्यक्तिहरुको बिचार र भनाई जसरी समेट्नु खोजिएको छ, यो नै ‘मिनिङफूल इन्गेजमेन्ट’ हो’ उनले भने ।
यस्तै बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नसर्ने रोगबारे जनचेतना जगाउन जरुरी रहेको बताए । उनले राजनीतिक दलका नेता र प्रशासनिक संयन्त्रलाई यसबारेमा स्वास्थ्यको बारेमा बुझाउन सकेमा धेरै समस्या समाधान हुने बताए । ‘विकास भनेको स्वास्थ्य पनि हो, बाटो बनाउने मात्रै होइन भनेर कसले बुझाउने ? नेता र कर्मचारी संयन्त्रले कहिले बुझ्ने ? त्यसले आजको यो सहभागिता जो प्रभावित व्यक्तिहरु नै बसेर गरिएको छ । यो अन्यन्त महत्वपूर्ण छ । यसका निस्कर्षहरु राज्यका नीति निर्मातालाई दिएर कार्यान्वयनमा ल्याउनका लागि दवाव सिर्जना गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले नसर्ने रोगबाट प्रभावित व्यक्तिहरु सहभागी आजको कार्यक्रमको विशेष महत्व रहेको बताए ।
उनले नसर्ने रोगको प्रत्यक्ष अनुभव भएको व्यक्तिहरुको सहभागिताले नीतिहरुलाई आकार दिन, अरुलाई परिवर्तन र प्रभावलाई अग्रसर गराउन मद्धत हुने बताए ।
डा पाण्डवले यो अभियानलाई अघि बढाउन स्थानीय, प्रादेशिक र संघीय तहमा च्याम्पियनहरु निर्माण गर्नु महत्वपूर्ण हो भन्दै यसो हुनेमा आफू विश्वस्त रहेको बताए ।
यस्तै ग्लोबल एनसीडी एलायन्सका अध्यक्ष डा मोनिका अरोराले नसर्ने रोग प्रभावित व्यक्तिहरुको अर्थपूर्ण संम्लग्नता एलायन्सको विश्वव्यापी एजेण्डा रहेको भन्दै नेपाल एनसीडी एलायन्सले सोही एजेण्डालाई आत्मसाथ गर्दै कार्य अघि बढाएकोमा खुशी व्यक्त गरिन् । उनले ग्लोबल एनसीडी एलायन्सको काम, प्राथमिकता र भावि योजना समेत प्रस्तुत गरिन ।
नसर्ने रोग प्रभावित व्यक्तिहरुको भोगाई
बाथमुटुरोगबाट प्रभावित भक्तपुरकी अनु गोमान्जुले हामी विना हाम्रा लागि केही छैन् अर्थात नथिङ फर अस, विद आउट अस भन्ने कार्याशालाको मुख्य नारामा केन्द्रीत रहेर आफनो दुख र भोगाई बताएकी थिईन् । सानोमा टन्सिल भई रहने र औषधि खान अफ्टेरो मान्ने बानीले आफूलाई ठूलो हानी पुरयाएको उनको ठहर थियो । तर हिम्मत नहारी उपचारमा निरन्तर लागि रहँदा अहिले आफूले यो जीवन पाएको भन्दै आफू जस्ता रोग प्रभावित व्यक्तिहरुलाई काउन्सिलिङ्ग गर्न क्रियाशिल रहेको बताईन् ।
आफ्नो भोगाई सुनाउने अर्का सहभागी थिए, प्रणय ओझाका पिता घनराज ओझा । पहिलो छोरी पाएको १२ बर्षको अन्तरमा दोस्रो सन्तानको रुपमा छोरा जन्माएका ओझाले आफ्नो पारिवारिक खुशीमा केही महिना पछि नै बिराम लागेको बताए ।
‘सुत्केरी भएको एक महिना पछि श्रीमतीलाई सुत्केरी बस्न माइत लमजुङ पठाएँ, माइतमै बसेको बेला छोराको पेट फुल्न थाल्यो, त्यसबेला बाबु ४ महिना पुग्न लागेको थियो । जिल्ला अस्पताल देखाएँ, त्यसपछि कान्तिमा ल्याएँ, डाक्टरले तत्कालै शल्यक्रिया गर्नुपर्छ भन्नुभयो र गराएँ, बालबालिकाहरुलाई देखिने क्यान्सर (सार्कोमा) रहेछ । पछि थप उपचारका लागि भारतको राजिवगान्धी लैजानु परयो । एक वर्ष त्यहाँ बसेर उपचार गराउँदा ३० लाख बढी सकिएको छ । अहिले पनि बच्चालाई फलोअपका लागि तीन तीन महिनामा त्यहाँ लैजानु पर्छ । दुख कष्ट त कति हो कति । उपचारका लागि भारत जानै नपर्ने बातावरण बनाउन हामी सक्दैनौँ ?’ भावुक ढंगले उनले प्रश्न तेर्स्याएका थिए ।
कार्यक्रममा सहभागी अर्की थिईन स्मृति (नाम परिवर्तन) । रौतहटकी उनी बाथमुटुरोग प्रभावित हुन् । उनले रोग लागेपछि आफू परिवार तथा साथीभाईहरुबाट समेत तिरस्कृत हुँदै गएको महसुस गरेको बताईन । ‘रोग लागेको थाहा पाएपछि नजिक छन् भनेका साथी भाई समेत तर्किन थाले, डाक्टर भन्नु हुन्छ ठूलो शल्यक्रिया गर्नु पर्छ । तर घर परिवारले अब धेरै उपचार गर्ने होईन, सकिदैन भन्छ । म छोरी भएकै कारण यस्तो भनेको हो भन्ने थाहा छ तर म बाँच्न चाहन्छु । म कसैको बेष्ट फ्रेन्ड बन्न चाहन्छु,’ उनले यसो भनिरहँदा कार्याशालाको माहोल भावुक भएको थियो । त्यस लगत्तै उनलाई गंगालालमा निशुल्क शल्यक्रिया हुने भन्दै नआत्तिन चिकित्सकहरुले आग्रह गरेका थिए ।
अर्का सहभागी रोशनी श्रेष्ठ दीर्घ श्वासप्रस्वास सम्वन्धी रोग आज्माबाट प्रभावित हुन् । अहिले ३८ बर्ष पुगेकी उनले १६ बर्षमा निमोनिया भएपछि पाएका दुख र रोगलाई जित्नका लागि गरेका संघर्षका कथा सुनाएकी थिईन् । उनले घर परिवारबाट सहयोग पाए पनि बाहिर छर छिमेकबाट नकारात्मक व्यवहार पाएको सुनाईन् ।
यस्तै मधुमेह रोग प्रभावित कविन्द्र शेखर रिमालले दीर्घ रोगपछिका आफ्ना जीवनको भोगाई बताएका थिए ।
यस्तै क्यान्सर सर्भाइवर सोसाइटीका अध्यक्ष समेत रहेकी प्रमिता खनालले आफ्नो भोगाई र आफूजस्तै क्यान्सर रोग प्रभावितहरुको कथालाई प्रस्तुत गरेकी थिईन । क्यान्सर लागेका महिलाहरुलाई घर परिवार र समाजले हेर्ने दृष्टिकोण बदलिन जरुरी रहेको भन्दै यसका लागि जनचेतना आवश्यक रहेको बताएकी थिईन् । कार्यक्रमको संयोजन डा गम्भीर श्रेष्ठले गरेका थिए ।
समूहगत छलफल
कार्यक्रममा ‘नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयन सम्ममा यसबाट प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्नता : अवरोधहरु र सहयोगीहरु’ विषयमा समूहगत छलफल भएको थियो ।
सो छलफलमा त्रिवि शिक्षण अस्पतालका न्युरोलोजिष्ट प्राडा विक्रम गजुरेल, हार्ट क्लवका अध्यक्ष बिपिन राई, नेपाल थालेसेमिया सोसाइटीका उपाध्यक्ष कमलनाथ उप्रेती र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बराल सहभागि थिए । सो कार्यक्रमको संयोजन दीपेन्द्रपुरुष ढकालले गरेका थिए ।
कार्यक्रममा डब्लुएचओ नेपालका एनसीडी टीम लिडर डा ग्याम्पो दोर्जी र डब्लुएचओ नोराड एनसीडी प्रोजेक्टका डा रईस पोखरेलले ले नसर्ने रोगको व्यवस्थापन, नीति निर्माण देखि कार्यान्वयन सम्ममा यसबाट प्रभावित व्यक्तिहरुको अर्थपूर्ण सम्लग्नता बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन क्यान्सर सर्भाइभर सोसाइटीका सचिव प्रमिला केसीले गरेकी थिईन् ।
सम्पर्क इमेल : [email protected]