‘तपाईँलाई सञ्चालन गर्ने गिरोहहरु गलत छन् भनेर डा. केसीलाई भन्न किन नसक्या ?’
डा. केसीलाई लक्षीत गर्दै के भनेका थिए मन्त्री बस्नेतले ?
काठमाडौँ, ९ मंसिर । उनी आफूले यसअघि गरेका घोषणाहरुको कार्यान्वयन भएको छ कि छैन् त्यसको खासै मतलब गर्दैनन् । तर नयाँ नयाँ घोषणा गर्न भने पछि पर्दैनन् । झट्ट सुन्दा आनन्द लाग्ने यस्ता घोषणाबाट आफूलाई वर्तमान सरकारको ‘न्युजमेकर’ मन्त्रीको रुपमा स्थपित जस्तै बनाएका छन् । ती हुन् स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत ।
पछिल्लो तीन दिन यता उनी नेपालमा ‘मेडिकल हव’ बनाउने योजनामा कस्सिएका छन् । १०० देखि ३०० बेडसम्मका सबै सरकारी अस्पतालमा प्यारामेडिक्स र नर्सिङ अध्ययन गराउने, त्यसभन्दा बढी बेड भएकाहरुमा एमबीबीएस सञ्चालन गर्ने भन्दै उनले चिकित्सा शिक्षा आयोग समक्ष प्रस्ताव नै पठाएका छन् । उनको यो कदमलाई कतिपयले उचित निर्णय पनि भनेका छन् तर त्यो भन्दा बढीले चर्चाका लागि गरिएको लोकप्रिय ‘फण्डा’ हो भनेका छन् ।
शनिबार राष्ट्रिय ट्रमा सेन्टरको बार्षिकोत्सवलाई सम्वोधन गर्ने क्रममा पनि उनले त्यहि कुरा निकाले ।
‘नेपाललाई मेडिकल हव बनाउने ठूला सरकारी अस्पतालहरुमा नर्सिङ, प्यारामेडिक्स तथा एमबीबीएस को पढाई सञ्चालन गर्ने योजना बनाएको छु । यसमा तपाईहरुको साथ चाहियो । अब नेपाललाई मेडिकल हव बनाउने हो ।’ उनले त्यसो भन्दा केही सहभागीहरुले तालि समेत बजाएका थिए ।
तर, उती नै बेला उनले आफ्नो योजना सहज रुपमा कार्यान्वयनमा आउन नसक्ने अनुमान पनि लगाए । उनले आफ्नो योजनाको अवरोधकको रुपमा डा गोविन्द केसी आउन सक्ने संकेत गरे ।
नामै त लिएनन तर उनको भनाई डा केसीमै लक्षित थियो भनेर बुझ्न कठिन थिएन । उनले डा केसी अनसन बस्नासाथ सम्पूर्ण डाक्टरहरु उनको पक्षमा लाग्ने र उनको जीत हुने गरेको संकेत गरे ।
मन्त्री बस्नेतले डाक्टरहरुको साथका कारण डा केसी हावी हुँदै गएको र नेपालको मेडिकल शिक्षा ध्वस्त हुँदै गएको ठोकुवा गरे ।
सोही क्रममा उनले डा केसी गलत गिरोहबाट सञ्चालित भएको समेत आरोप लगाए । उनले डा केसी गलत गिरोहले प्रयोग गरेको छ भन्दै त्यसबारे सहि सूचना उनी समक्ष पुर्याई कन्भिन्स गर्न समेत डाक्टरहरुलाई आग्रह गरे ।
डा केसीलाई लक्षीत गर्दै के भनेका थिए मन्त्री बस्नेतले ?
अहिलेको हिसावले हो भने ५ वर्ष पछि यो देशमा डाक्टर र नर्स पाइँदैन । र, मेरो प्रश्तावलाई कार्यान्वयन गर्न धेरै गाह्रो पनि छैन । यो प्रश्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसार भर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं । सारा बर्बाद गरेका छौं । कोरा व्यक्तिलाई विदेश पठाएर । यसैकारण ठगिएका छन हाम्राहरु । बदनाम भएका छन् । आम्दानी राम्रो हुँदैन । तर, हामीले योग्य, दक्ष मानिसहरु जाँदाखेरी त्यसको सम्मान अर्कै हुन्छ ।
राष्ट्रलाई रेमिटयान्स बढाउने कुरा त्यही ढंगले हुन्छ । तर हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्ने ठाउँमा ५ वर्षपछि हामी चाहीँ भोकमरीमा पर्नेछौं मेडिकल शिक्षामा ।
नेपाललाई मेडिकल शिक्षाको हब बनाएर राख्न सक्ने हैसियत, तागत र वातावरण हामीसँग हुँदाहुँदै पनि हामीमा बुद्धिमा खिया लागेर हो वा कसैको दलाली गर्न लागेर हो वा कसैको बहकावमा लागेर हो । हामी हिँडिराखेका छौं ।
यो पनि भन्छु, ‘म, अनसन बसिदिन्छु,’ भन्नुहुन्छ एक जनाले । उहाँ बस्नु भएपछि तपाई फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नु हुन्छ । किन हिँडेको भनेर मैले सोधे । साथीहरुले काम चाहीँ गल्ती थियो । तर हामी हिँड्नैपर्यो ।
अनि किन हिँड्या भनेको ? ज्यान जोगाई दिन मान्छे मर्न लाग्यो भनेर । त्यस्तो पनि कुरा हुन्छ । कन्भिन्स गर्नुपर्यो नि ।
यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई संचालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले ।
होइन यो अभियान अगाडि बढ्दा तपाईहरु ओल्टेकोल्टे हुन थाल्यो भने तपाईहरुलाई पनि कारबाही हुन्छ ।
म भए भने त्यो हुन्छ । नभए के हुन्छ मलाई थाहा छैन । तपाईका लागि लड्ने, तपाईका लागि भिड्ने अनि तपाईले साथ नदिएर हुन्छ ? त्यसकारण यो विषयमा मैले तपाईहरुलाई अनुरोध गरेँ ।’
सम्पर्क इमेल : [email protected]