परम्परागत चिनियाँ चिकित्सा पद्दति र नेपाल सन्दर्भ
चिनियाँ चिकित्सा पद्दति हजारौं वर्षदेखि सुरु भएको देखिन्छ । यस चिकित्सा पद्दतिले समग्रमा मानिस र ब्रह्माण्डलाई समान नजरले हेर्दछ। ब्रह्माण्डमा जे जस्ता पदार्थ छन् शरीरमा पनि तिनै पदार्थहरु छन् भन्ने मान्यता यस प्रणालीको छ।
अर्थात, जसरी प्रकृति चलेको छ शरीर भित्र पनि त्यस्तै प्रकारको संरचना र क्रियाहरु हुनु जरुरी हुन्छ भन्ने मान्यता राख्दछ । बाहिरी संरचनामा केहि गडबडी भएमा धेरै कुरा भताभुङ्ग भए जस्तै शरीरभित्र पनि त्यस्तै हुनसक्छ। यसलाई “अर्गानिक होलिज्म” को रुपमा व्याख्या गरिएको छ।
चीनबाट शुरु भएको यो चिकित्सा प्रणाली हाल आएर विश्वका धेरै देशमा लोकप्रिय बन्दै गएको छ। प्रायः मंगोलियन मूल जाति भएको मुलुक जस्तै चीन, जापान, कोरिया आदि देशमा बढि प्रयोग गरिएको पाइएतापनि पश्चिमी मुलुकहरुले पनि चिनियाँ चिकित्सा प्रणालीलाई अवलम्बन गरेको देखिन्छ।
चीन सरकारले आफ्नो परम्परागत चिकित्सालाई अगाडी बढाउने हेतुले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। विभिन्न देशका नागरिकलाई छात्रवृत्तिको अध्ययन सुविधाका साथै व्यापारिक केन्द्रको रुपमा पनि आकर्षित गर्दै आएको छ।
चिनियाँ चिकित्सा पद्दति परम्परागत चिकित्सा अन्तर्गतको एक प्रचलित चिकित्सा प्रणाली हो। विश्व स्वास्थ्य संगठनले यस चिकित्सा पद्दतिलाई मान्यता दिएको धेरै भैसकेको छ। यस अन्तर्गत अकुपन्चर विधि सबै भन्दा लोकप्रिय विधि मानिन्छ।
लागतको हिसाबले ज्यादै कम खर्चमा उपचार हुने हुनाले अकुपन्चर बढि लोकप्रिय भएको पनि हुन सक्छ। अकुपन्चर पछि मोक्सिबुसन र कपिंग पनि चिनियाँ चिकित्सा प्रणालीको अर्को आकर्षण हो जसको प्रभावकारीताले गर्दा प्रयोग गर्नेहरु बढिरहेको देखिन्छ। थेरापिउटिक मसाजका रुपमा अकुप्रेसर पनि उतिकै महत्वपूर्ण छ जसलाई थुइना भनिन्छ।
चाइनिज मसाजको रुपमा थुइना विश्वभर प्रचलित छ। शरीरलाई तन्दुरुस्त राख्न, बुढोपना आउन नदिन र स्वस्थ भएर बाँच्नको लागि थाईची एउटा शारीरिक र मानसिक व्यायामको रुपमा गरिन्छ जुन शारीरिक(मानसिक अवस्था अनि रोग अनुसार फरक फरक हुन सक्छ।
त्यसैगरि यस पद्दति को अर्को सुन्दर पक्ष भनेको उपचारमा प्रयोग हुने जडिबुटीहरु हुन्। प्रायः चिसो मौसम बढी हुने हुनाले चीनमा उत्पादित जडिबुटीहरु अत्यन्तै प्रभावकारी हुन्छन् । धेरैजसो परम्परागत चिकित्सा पद्दति जडिबुटीहरुको प्रयोगमा आधारित हुन्छन् तर पद्दति अनुसार प्रयोग गर्ने तरिका र मात्रा फरक फरक हुने रहेछन् ।
चीनमा जडिबुटी प्रयोग गर्दा त्यसको मात्रा र प्रयोग गर्ने तरिकालाई विशेष ध्यान दिएको हुन्छ। प्रायः जडिबुटीहरु चुर्णरुपमा नभै ठुलो ठुलो टुक्रालाई ताजै क्वाथ बनाएर दिने हुँदा अझ बढि प्रभावकारी हुन्छ भन्ने मान्यता छ । तर चुर्ण, क्यापसुल, ट्याब्लेट आदि पनि नहुने भने होइन । औषधि क्वाथ बनाउँदा औषधिको कडापन र नरमपन हेरिकन कसलाई कति पानीमा कसरी उमाल्ने छुटाछुट्टै विधि हुन्छन्।
विगतमा हानिकारक खनिज पदार्थ पनि औषधिको रुपमा प्रयोग गरिएता पनि हाल आएर त्यसको प्रयोग घट्दै गएको देखिन्छ।
यस चिकित्सा पद्दतिका सबै उपचार विधि सबै ठाउँमा पुग्न सकेका छैनन्।
चीनमा प्रयोग हुने जडिबुटी औषधिहरु सबै ठाउँमा दर्ता हुन नसकेकाले जडिबुटीहरु सहजरुपमा उपलब्ध हुदैनन्। जनशक्तिको चरम अभाव भएको कारण प्रायः शहरी क्षेत्र केन्द्रित हुने अवस्था छ।
यो चिकित्सा विधि अन्तर्गत स्त्री प्रसुती, बालरोग, इमर्जेन्सी, ट्रमाटोलोजि, इन्टरनल मेडिसिन, रुमाटोलोजी आदि विभिन्न विधाहरु पर्दछन्।
परम्परागत चिनियाँ चिकित्सा पद्दति र आयुर्वेद
चिनियाँ चिकित्सा पद्दतिमा रहेको अकुपन्चर र अकुप्रेसर चिकित्सा आयुर्वेदको मर्म चिकित्सासंग धेरै नै मिल्दोजुल्दो देखिन्छ। प्रायः प्रयोगमा आउने शक्ति बिन्दुहरु मर्मकै वरिपरी देखिने र एउटा मर्म भएको भागमा धेरैवटा शक्ति बिन्दुहरु पर्ने गर्दछन् जसले गर्दा संख्या फरक भएपनि प्रयोग गर्ने उद्देश्य उस्तै हुन सक्दछ। चिनियाँ चिकित्सा पद्दतिमा ३६१ शक्ति बिन्दुहरु छन् भने आयुर्वेदमा १०७ मर्म छन् । अग्नि कर्मको अर्को नाम मोक्जिबुसन भन्दा धेरै फरक पर्दैन।
दुवै प्रणालीमा अग्निको माध्यमबाट उपचार गर्ने हो। चिनियाँ चिकित्सा प्रणालीले विशेषगरि तितेपातीलाई प्रशोधन गरि त्यसबाट निकालिएको बिशेष पदार्थबाट अग्निकर्म गर्ने गर्दछ। अग्निकर्म गर्न तितेपातिको पातको पछाडिको भुवालाई निकाल्नु पर्ने हुँदा प्रशोधन विधि अलि लामो हुन जान्छ। कपिंग थेरापी पनि आयुर्वेदमा वर्णन गरिएको अलाबुवृत्तसंग मिल्दोजुल्दो देखिन्छ। जनावरको सिङ, बाँस हुँदै प्लास्टिक, रबर आदिलाई कप आकार दिएर उपचार गरिन्छ।
आयुर्वेदमा योगलाई बिशेष महत्व दिएजस्तै चिनियाँ चिकित्सा प्रणालीले पनि थाईचीलाई उस्तै महत्व दिएको छ जसले शरीर र मनलाई कसरी नियन्त्रणमा राख्ने भनेर सिकाउँछ।
औषधिको कुरा गर्दा जडीबुटि, खनिज र जान्तव नै हुन् बढी प्रयोगमा आउने जसमा खनिज पदार्थबाट बन्ने औषधिको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने दुवै पद्दतिको बढ्दो माग हो।
सिद्धान्तको कुरा गर्दा आयुर्वेदको वात, पित्त, कफको त्रिदोष सिद्धान्त चिनियाँ चिकित्सा पद्दतिमा नभएता पनि उस्तै प्रकारका वात, पित्त, कफसंग तुलना गर्न मिल्ने छि, याङ र यीन छन्।
मेरिडियन सिद्धान्त पनि आयुर्वेदको श्रोतससंग मिल्ने देखिन्छ। आयुर्वेदको पंचमहाभुत सिद्धान्त र चिनियाँ चिकित्सा पद्दतिको पंचतत्वमा पनि केहि समानता देखिन्छ।
यसरी सामान्य सिद्धान्त र उपचार पद्दतिमा देखिएका केहि समानता हेर्दा दुवै चिकित्सा प्रणाली समकालीन हुनकी जस्ता देखिन्छन्।
नेपालमा अकुपन्चरको सुरुवात र हालको अवस्था
विसं २०२८ सालमा कोदारी राजमार्ग निर्माणका क्रममा चिनियाँहरुले अकुपन्चर चिकित्सा नेपाल भित्र्याएको मानिन्छ।
विसं २०३४ सालमा वीर अस्पतालमा अकुपन्चर युनिट स्थापना भएको तर हाल आएर त्यो युनिट बन्द भैसकेको अवस्था छ।
विसं २०४१ साल मंसिर १४ गते बाट आयुर्वेद चिकित्सालय नरदेवीमा अकुपन्चर सेवा सुरु भएको देखिन्छ।
हाल आएर चिकित्सालयमा अकुपन्चर सेवा लिने बिरामीको संख्या दिन प्रति दिन बढ्दै गएको छ ।निजि स्तरमा अकुपन्चरका अस्पताल तथा क्लिनिकहरु पनि सुचारु छन् ।
हाल आएर नेपालमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत संचालित तीनवर्षे डिप्लोमा कोर्षबाट सहायक स्तरका जनशक्ति उत्पादन हुँदै आएका छन्। स्नातक तहको जनशक्तिले पनि आयुर्वेदको स्नातक सरहको मान्यता पाएको धेरै भैसकेको छ ।
परम्परागत चिनियाँ चिकित्सा पद्दतिको स्नातकोत्तरलाई आयुर्वेदको स्नातकोत्तर सरह मान्यता प्राप्त भएको पनि ५ वर्ष पुगिसकेको छ । थोरै जनशक्तिले धान्दै आएको यो चिकित्सा पद्दतिमा जनशक्ति उत्पादन भने अझै चुनौतिको बिषय रहेको छ ।
स्नातक र स्नातकोत्तर तहको पढाई सुरु गर्न सके नेपालमै जनशक्ति उत्पादन गर्न सकिने देखिन्छ । तब सम्म चीन सरकारले दिने छात्रवृत्तिको संख्या बढाई सरकारी पहलमा जनशक्ति उत्पादन गर्नु आवश्यक देखिन्छ ।
#अकुपन्चर विज्ञ डा. खतिवडा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत छिन् ।
सम्पर्क इमेल : [email protected]