त्रिवि शिक्षण अस्पतालमा शिक्षा मन्त्री राईको जटिल शल्यक्रिया
'कक्लिअर इम्प्लान्ट' गर्नेका लागि सरकारले दिन्छ साढे ६ लाख रुपैयाँ अनुदान
काठमाडौँ, ४ मंसिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका बरिष्ठ इएनटी सर्जन प्राडा रविन्द्रभक्त प्रधानाङ्ग नेतृत्वको टोलीले राईको जटिल शल्यक्रिया गरेको हो ।
‘आज मन्त्री ज्यूको बायाँ तर्फको कानको ‘सबटोटल पेट्रोसेक्टोमी संगै कोक्लियर इम्प्लान्ट’ गरेका हौँ । एकैपटक सबटोटल पेट्रोसेक्टोमी र कोक्लियर इम्प्लान्ट गर्नुलाई निकै नै जटिल शल्यक्रिया मानिन्छ । र दुई काम एकै पटक भएको यस्तो शल्यक्रिया नेपालकै पहिलो केश हो,’ प्राडा प्रधानांङ्गले भने ।
६६ वर्षका मन्त्री राई शल्यक्रियाका लागि हिजो त्रिवि शिक्षण अस्पताल गएर भर्ना भएका थिए । उनले आज आफ्नो गम्भीर शल्यक्रिया हुन लागेको भन्दै विहान फेसबुकमा पोष्ट गरेका थिए ।
त्यसो त मन्त्री राईको बायाँ कान पहिले पनि शल्यक्रिया गरिएको थियो । तर, त्यसले लामो समय काम गरेन । पछिल्लो समय संक्रमणग्रस्त थियो । भित्रै देखि पाक्ने पिप आइरहने हुन्थ्यो । यसको असरले उनको बायाँ कानको श्रवणशक्ति पूर्ण रुपमा बन्द थियो ।
‘हामीले पहिले उहाँको शल्यक्रिया गर्ने कानको भित्री भागमा रहेको रोगलाई हटायौँ । त्यसपछि कक्लिअर इम्प्लान्ट गरिदियौँ, जसलाई सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट भन्छौँ । यो भनेको एकैपटक दुई ठूला शल्यक्रिया गरे जस्तै हो । एकै पटक यो काम गरिनुलाई अत्यन्तै जटिल मानिन्छ,’ प्राडा प्रधानाङ्गले थप प्रष्ट पारे ।
अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले शिक्षा मन्त्री राईको जटिल शल्यक्रिया सफल भएको बताए । हाम्रो अस्पतालको टिमले जटिल मानिने यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । मैले पनि मन्त्री ज्यूलाई भेटेर र अवस्था बुझेर आएको छु । अहिले सब ठिक छ । उनले भने ।
‘सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट’ कसरी गरियो ?
प्राडा प्रधानाङ्गका अनुसार पहिले कानको बाहिरी भागलाई बन्द गरेर कान पछाडीको हड्डी खोली कानको बीच भागलाई सफा गरियो । त्यसपछि कानको बीच भागमा रहेको जो रोग (संक्रमण) थियो त्यसलाई हटाएर कानको भित्री भागसंग कक्लिअर इम्प्लान्ट डिभाइस जडान गरियो । ‘यसैले यो दुईवटा अप्रेसन एकै पटक गरिएको हो भनेर बुझ्दा हुन्छ,’ उनले भने ।
‘कक्लिअर इम्प्लान्ट गर्नु अब त्यति ठूलो मानिदैन । तर सबटोटल प्रेट्रोसेक्टोमी वीथ कक्लिअर इम्प्लान्ट चाहि ठूलो र जटिल हो,’ उनले थप स्पष्ट पारे ।
शल्यक्रिया पछि आज मन्त्री राईलाई अव्जरभेसनका लागि एचडीयूमा राखिएको छ ।
मन्त्री राईले सोमबार विहानै फेसबुकमा स्टाटस लेख्दै आफू गम्भीर शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको उल्लेख गरेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘मित्रहरु म एउटा गम्भीर शल्यक्रियाका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा भर्ना भएको छु । अब एक हप्तासम्म सबै खाले सञ्चार र भेटघाट बन्द रहने कुरा दुखसाथ जानकारी गराएँ, धन्यवाद ।’
दायाँ कानमा पनि समस्या
बायाँ कान पूर्ण रुपमा बन्द भएको मन्त्री राईको दायाँ कानको श्रवणशक्तिमा पनि समस्या छ । त्यसैले उनले बाहिरबाट हेयरिङ डिभाइस लगाउने गर्दछन् । ‘दायाँ कानमा पनि केही समस्या छ, त्यसैले डिभाइसको सहायता लिनु भएको छ । तर अब बायाँ कानले राम्रो काम गर्छ भन्ने ठानेका छौँ । किनकी आजको शल्यक्रिया राम्रो भएको छ,’ प्राडा प्रधानांङ्गले भने ।
कक्लिअर इम्प्लान्ट गर्नेका लागि सरकारले दिन्छ साढे ६ लाख रुपैयाँ अनुदान
त्यसो त अहिले कक्लिअर इम्प्लान्ट जन्मजात कान नसुन्नेहरुका लागि गर्ने चलन छ । स्वास्थ्य मन्त्रालयले विसं २०७४ साल देखि कक्लिअर इम्प्लान्ट गराउने व्यक्तिका लागि साढे ६ लाख रुपैयाँ नगद सहयोग समेत गर्दै आएको छ ।
‘यो कक्लिअर इम्प्लान्टको लागि चाहिने डिभाइस आफैमा महंगो छ । बजारमा न्युनतम पनि १२-१३ लाख भन्दा माथि नै पर्छ त्यसैले सरकारले कम्तिमा आधा भए पनि अनुदान होस भन्नका लागि साढे ६ लाख रुपैयाँ अनुदान दिने गरेको हो । इम्प्लान्ट गरेका बिरामीलाई दिईने पैसा हो ।’ प्राडा प्रधानाङ्गले भने ।
स्वास्थ्य मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई कक्लिअर इम्प्लान्टका लागि केशका आधारमा अनुदान रकम पठाउने गरेको छ ।
सम्पर्क इमेल : [email protected]