चिकित्सा शिक्षा आयोगको प्रक्षेपण अनुसार नै जनशक्ति उत्पादन गरिनेछ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, ४ मंसिर । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन गरिने बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन् ।
हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको उनले बताए ।
“यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने ।
बैठकमा निजी कलेज सञ्चालकहरुले चिकित्सा तथा नर्सिङ विधाका जनशक्ति उत्पादनका लागि सरकार उदार हुनु पर्ने बताएका थिए ।
उनीहरुले मापदण्डका नाममा स्वदेशमा बर्षौ देखि चलि आएका कलेजहरु बन्द हुने बातावरण सिर्जना भएको भन्दै यसलाई सच्याउन समेत आग्रह गरेका थिए ।
‘नर्सिङ कलेज सञ्चालन गर्न १०० बेडको अस्पताल चाहिने, यो अलि व्यवहारिक देखिएन । अब स्वास्थ्यका प्राविधिक जनशक्ति विदेशीन क्रम तिब्र बनेका छन् । यहाँ मापदण्डका नाममा थुप्रा कलेज बन्द भए, छिमेकमा धमाधम खुल्न थाले, हामीमा नानी बाबुहरु त्यहाँ गएर पढ्न थाले । अब गुणस्तर कस्तो होला ?’ उनले भने । बैठकमा आफूले क्षमता भएका कलेजहरुलाई सिट संख्या बढाउन पनि आयोग लचिलो हुनुपर्ने बताए ।
बैठकमा निजी मेडिकल कलेजहरुले शिक्षण शुल्कको बारेमा कुरा उठाएका थिए ।
बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा सहित सदस्य तथा पदाधिकारीहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]